बुधबार दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रमा आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटना भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
योन्हाप न्युज एजेन्सीका अनुसार आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटनाग्रस्त भएको र यसका चालकको मृत्यु भएको छ।
राजधानी सियोलबाट करिब १८० किलोमिटर दक्षिणपूर्वको उइसोङको पहाडमा जङ्गलमा लागेको डढेलो निभाउने क्रममा स्थानीय समय अनुसार दिउसो करिव १२ः५४ मा हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो।
दक्षिण कोरियाको जङ्गलमा लागेको डढेलोका बुधबार मध्यान्हसम्ममा कम्तीमा १८ जनाको मृत्यु भएको एक जना बेपत्ता भएको वन सेवा अधिकारीहरूलाई उद्धृत गर्दै योन्हापले जनाएको छ।
यो पनि पढ्नुहोस्
दक्षिण कोरियामा भीषण डढेलो : १८ जनाको मृत्यु, २७ हजार विस्थापित
एजेन्सीका अनुसार गत शुक्रबार दक्षिण ग्योङगसाङ प्रान्तको सान्चेओङ काउन्टीबाट सुरु भएको आगो उइसोङसम्म फैलिएको छ। तीव्र हावाका कारण डढेलो अन्डोङ, चेओङसोङ, येओङयाङ र येओङडुयोकतर्फ अघि बढिरहेको र जङ्गलको छेउछाउका वस्ती जोखिममा परिरहेका छन्।
गत शुक्रबारदेखि यस क्षेत्रमा आगलागी नियन्त्रणका लागि दर्जनौँ हेलिकप्टर तथा हजारौँ अग्नि नियन्त्रकहरू तैनाथ गरिएको छ भने करिब पाँच हजार सैनिक र १४६ हेलिकप्टर पठाइएको छ। क्यूएनए
प्रकाशित: १३ चैत्र २०८१ १४:२३ बुधबार