२१ चैत्र २०८१ बिहीबार
image/svg+xml २:२९ पूर्वाह्न
अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा भीषण डढेलो : १८ जनाको मृत्यु, २७ हजार विस्थापित

दक्षिण कोरियामा तीव्र हावासँगै फैलिएको भीषण डढेलोले दक्षिणी क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। यसलाई देशकै सबैभन्दा खराब डढेलोमध्ये एक मानिएको छ। 

आगलागीले १८ जनाको ज्यान लिएको छ। दुई सयभन्दा बढी संरचना नष्ट भएका छन् भने २७ हजार मानिस घर छोड्न बाध्य भएका छन्। अधिकारीका अनुसार दक्षिणपूर्वी उइसेङ जंगलमा आगो निभाउने क्रममा एउटा हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। कोरिया वन सेवाको अनुमान छ कि हेलिकप्टरमा एक जना पाइलट मात्र थिए र उद्धार कार्य जारी छ।

आगलागीले एउटा पुरानो बौद्ध मन्दिर, घर, कारखाना र सवारीसाधन जस्ता संरचना भष्म गरेको छ। सरकारको आपत्कालीन प्रतिक्रिया केन्द्रका अनुसार ४३ हजार ३३० एकड जमिन जलेको छ र १९ जना घाइते भएका छन्।

टेलिभिजन सम्बोधनमा कार्यवाहक राष्ट्रपति हान डक–सुले गत शुक्रबार सुरु भएको यो डढेलोले अरू धेरै डढेलोको तुलनामा बढी क्षति गरेको बताए। ‘क्षति दिनदिनै बढिरहेको छ,’ उनको भनाइ छ, ‘हामीले यस्तो अनुभव कहिल्यै नगरेका डढेलोको सामना गर्नुपरेको छ। त्यसैले यो हप्ताभरि सबै आगो निभाउन हाम्रा सबै स्रोत प्रयोग गर्नुपर्छ।’

उनले रातभर चलेको तीव्र हावाले आगो नियन्त्रण गर्न कर्मचारीलाई समस्या भएको बताए। उनका अनुसार करिब ४६५० अग्नि नियन्त्रक, सैनिक र अन्य कर्मचारीले १३० हेलिकप्टरको सहयोगमा आगो निभाइरहेका छन्। बिहीबार ५–१० मिलिमिटर पानी पर्ने सम्भावना रहेको उनको बुझाइ छ।  

पर्यवेक्षकका अनुसार यो डढेलो जमिन जलेको हिसाबले दक्षिण कोरियाको तेस्रो ठूलो हो। सुक्खा हावा र कठिन परिस्थितिका कारण आगो नियन्त्रण गर्न संघर्ष भइरहेको छ। मंगलबार दक्षिणपूर्वी सहरका अधिकारीले बासिन्दालाई सुरक्षित स्थानमा जान भनेका थिए। गृह मन्त्रालयका अनुसार सबैभन्दा ठूलो आगलागी अन्डोङ, उइसेङ, सान्चेओङ र उल्सानमा भएको छ।  

मंगलबार अधिकारीले ठूलो आगलागी धेरै हदसम्म नियन्त्रणमा ल्याएको बताएका थिए। तर हावा बढेपछि राति आगो निभाउने काम आंशिक रूपमा रोकिएको छ। उइसेङको गाउन्सा मन्दिरमा आगलागीले ३० मध्ये आधा संरचना नष्ट गरेको छ। यो मन्दिर सातौं शताब्दीमा बनेको थियो। नष्ट भएका संरचनामा सन् १६६८ मा बनेको मण्डप–आकारको संरचना र सन् १९०४ मा जोसेओन राजवंशले राजाको दीर्घायुका लागि बनाएको संरचना पनि छन्। यी दुवैलाई राज्यले ‘खजाना’ घोषणा गरेको थियो।  

सरकारी र बौद्ध अधिकारीका अनुसार मन्दिरको अर्को ‘खजाना’– आठौं शताब्दीको ढुंगाको बुद्ध मूर्ति– सुरक्षित ठाउँमा सारिएको छ। कोरिया वन सेवाले मंगलबार डढेलोको चेतावनीलाई ‘गम्भीर’ स्तरमा पुर्‍याएको छ। यसले स्थानीय सरकारलाई थप कामदार नियुक्त गर्न, वन र पार्कमा प्रवेश निषेध गर्न र सैन्य अभ्यास रोक्न सुझाव दिएको छ।  

मृतक १८ मध्ये चार जना अग्नि नियन्त्रक र सरकारी कर्मचारी थिए। उनीहरू शनिबार सान्चेओङमा तीव्र हावाले आगोको ज्वालामा फसेर मरेका थिए। अधिकारीको आशंका छ कि पारिवारिक चिहानको घाँस सफा गर्ने क्रममा आगोको प्रयोग वा वेल्डिङबाट निस्केको स्पार्कले धेरै ठाउँमा आगलागी भएको हुन सक्छ। एपी

प्रकाशित: १३ चैत्र २०८१ १२:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App