जुम्लाको चन्दननाथ नगरपालिका-७ की मीना महतले गत साता चार क्विन्टल फापरको पिठो बेचिन्। उनी आफूले कल्पना गरेको भन्दा राम्रो मूल्य पाएकोमा दंग परिन्। प्रतिकिलो २ सय रुपैयाँमै फापरको पिठो बेचेको उनले बताइन्। ‘जुम्लाको मार्सी चामल सबैभन्दा महंगो भन्थे। यहाँ त मार्सीभन्दा महंगो फापरको पिठो पो रहेछ,’ उनले भनिन्।
चन्दननाथ बहुउद्देश्यीय सहकारीले खोलेको अर्ग्यानिक मिनी मार्केटमा पिठो बेचेर ८० हजार रुपैयाँ बोकेर फर्किँदा उनले थाहा पाइन्, मार्सी चामलभन्दा फापरको पिठो झन्डै ८० रुपैयाँले बढी रहेछ। यहाँ मार्सी चामल प्रतिकेजी १ सय २० रुपैयाँले किनबेच भइरहेको छ।
यस्तै जुम्लाको तातोपानी-५ श्रीनगरका पदम रावत हरेक वर्ष फापरको पिठो बेचेरै घर खर्च चलाउने गर्छन्। विगतका वर्ष वार्षिक ३० देखि ४० हजार रुपैयाँ बराबरको पिठो बेचिरहेका उनले यसपाला उनले दुई क्विन्टल फापरको पिठो बेचेर दोब्बर धेरै पैसा हात पारे। उनले भने, ‘बाहिरबाट विभिन्न ब्रान्डको पिठो आउन थालेपछि फापर उत्पादनमा किसानहरू लागेका छैनन्। तर फापरको पिठोमै किसानको भविष्य देखिन्छ।’
मीना र पदम प्रतिनिधि मात्र हुन्। झन्डै एक सयभन्दा धेरै कृषकले यहाँ व्यावसायिक रूपमै फापर खेती गरेका छन्। तीमध्ये धेरैले फापरको पिठो सुर्खेत, नेपालगञ्ज पुर्याउँछन् त केहीले खलंगाका कोसेली घरहरूलाई बेच्छन्। एक किसानले न्यूनतम् ५ केजीदेखि अधिकतम ४ क्विन्टलसम्म फापरको पिठो बेच्ने गरेको तथ्यांक चन्दननाथ सहकारीसँग छ।
चन्दननाथ सहकारीले हरेक वर्ष ३ हजार क्विन्टलभन्दा बढी फापरको पिठो बेच्ने गरेको छ। किसानबाट दुई सय रुपैयाँमा किनेको पिठो सहकारीले उपभोक्तालाई २ सय ५० रुपैयाँ प्रतिकेजीमा बेच्छ। चन्दननाथ मिनी मार्केटका म्यानेजर राजु बोहोराले वार्षिक ७ लाख ५० हजार मूल्य बराबरको फापरको पिठो बेच्ने गरेको बताए। उनले भने, ‘फापरको पिठो आन्तरिक तथा बाह्य पर्यटकले समेत लैजान्छन्। एक पटक किनेका पर्यटकहरूले फेरि मगाउने गरेका छन्। काठमाडौँ, सुर्खेत, नेपालगञ्जदेखि पनि माग आइरहने गरेको छ।’
सहकारीले सुर्खेत र काठमाडौँमा मिनी मार्केट स्थापना गरेको फापरको पिठो लगायतको अर्ग्यानिक कृषि वस्तुहरू बेचिरहेको छ। खलंगाका झन्डै आधा दर्जन बढी कोसेली घरहरूबाट फापरको पिठो किनबेच भइरहेको छ। यहाँका होटलहरूमा पर्यटकको माग अनुसारको फापरको केक, रोटी समेत बनाउने गरिएको छ।
जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार फापर खेती ९७ हेक्टर क्षेत्रफलमा भइरहेको छ। बर्सेनि १ सय १० मेट फापर उत्पादन हुने गरेको सूचना अधिकारी दीपक धामीले बताए। उनले भने, ‘फापरको पिठोको माग अधिक छ। तर किसानहरूले फापर लगाउनै छाडेका छन्।’
अहिले जिल्ला कृषि विकास कार्यालयले रैथाने बाली प्रवर्द्धन कार्यक्रममा फापर खेतीलाई समेत समावेश गरेको छ। सूचना अधिकारी धामीले फापरको बिउ दिने र गोडमेलका लागि औजारहरू दिने गरेको बताए। उनले भने, ‘तालिम दिएर किसानलाई फापर खेतीमा समेत हौसाइरहेको अवस्था छ।’परिकार सेवन गर्दा मधुमेह, उच्च–रक्तचाप, कब्जियत, मोटोपन घटाउन सहयोग पुग्ने र मानिसको स्मरणशक्ति बढाउन समेत लाभदायक मानिन्छ। फापरको पिठोबाट बनेको परिकार नियमित सेवन गर्दा मोटोपन पनि कम हुने चिकित्सकको भनाइ रहेको पाइन्छ।कृषि विज्ञका अनुसार फापरमा ‘बी’ भिटामिन, प्रोटिन, खनिज एन्टी अक्सिडेन्ट पोलिफेनोल र करिब १० देखि १२.५ प्रतिशत प्रोटिन पाइन्छ।
प्रकाशित: २० चैत्र २०८१ २२:१३ बुधबार