बेलायती राजधानी लन्डनमा रहेको हिथ्रो विमानस्थल शुक्रबार बन्द रहने छ। विमानस्थल नजिकैको विद्युतीय सबस्टेशनमा आगलागी भएका कारण यस्तो गरिएको हो। आगलागीका कारण विमानस्थलमा बिजुली आपूर्ति हुन सकेको छैन।
आगो पश्चिम लन्डनको हेसमा लागेको छ। यसका कारण १६ हजारभन्दा बढी घरहरू बिजुलीविहीन भएका छन्। यहाँबाट करिब १५० जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको छ। लन्डन फायर ब्रिगेडले आगो नियन्त्रणमा लिने काम भइरहेको बताएको छ। यसका लागि ७० जना अग्निनियन्त्रकहरू खटाइएका छन्। आगलागीको कारण भने पत्ता लागेको छैन।
हिथ्रो विमानस्थलले यात्रुहरूलाई विमानस्थलमा नआउन अपील गर्दै एक विज्ञप्ति जारी गरेको छ।
हिथ्रो बेलायतको सबैभन्दा ठूलो विमानस्थल हो। हरेक दिन लगभग १३ सय वटा अवतरण र उडान हुन्छन्। गत वर्ष यहाँबाट ८ करोड ३० लाख यात्रुले उडान भरेका थिए। एजेन्सी
प्रकाशित: ८ चैत्र २०८१ ११:२२ शुक्रबार