निर्वासन उडानहरू स्वीकार नगरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियामाथि आयात शुल्क र यात्रा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। यसको जवाफमा कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले अमेरिकी सामानमा २५ प्रतिशत आयात शुल्क बढाउने आदेश दिए।
ट्रम्पले आफ्नो ट्रुथ सोशल पोस्टमा लेखेका छन्, ‘मलाई जानकारी दिइएको छ कि संयुक्त राज्य अमेरिकाबाट दुई उडानहरू, जसमा ठूलो संख्यामा अवैध प्रवासीहरू थिए, कोलम्बियामा अवतरण गर्न अस्वीकार गरिएको छ। यो कदम कोलम्बियाका समाजवादी राष्ट्रपति गुस्ताभो पेट्रोले चालेका हुन्, जो आफ्ना जनताबीच अलोकप्रिय छन्।’ उनले कोलम्बियाको यो कदमले अमेरिकाको राष्ट्रिय सुरक्षा र सार्वजनिक सुरक्षालाई खतरामा पारेको तर्क गरे।
जवाफमा, पेट्रोले आफ्नो एक्स पोस्टमा भने, ‘अमेरिकाले कोलम्बियाका आप्रवासीहरूलाई अपराधीको रूपमा व्यवहार गर्न सक्दैन। म कोलम्बियाली आप्रवासीहरूलाई हाम्रो क्षेत्रमा ल्याउने अमेरिकी विमानहरूको प्रवेशलाई अस्वीकार गर्दछु।’ उनले अमेरिकाको आर्थिक प्रतिबन्धको जवाफमा अमेरिकी सामानमा २५ प्रतिशत आयात शुल्क बढाउन आदेश दिएको जानकारी समेत दिएका छन्।
राष्ट्रपति ट्रम्पले कोलम्बियालाई दण्डित गर्न २५ प्रतिशत आयात शुल्क लगाए, जवाफमा कोलम्बियाले पनि अमेरिकी सामानमा २५ प्रतिशत कर लगायो। तर यसको असर दुई देशका सर्वसाधारणलाई पर्ने देखिन्छ। यसबाट हरेक सामानको मूल्यमा बढौती देख्न सकिनेछ। कोलम्बिया र अमेरिकाबीचको विवादले दुई देशबीचको सम्बन्धमा नयाँ तनाव सिर्जना गरेको छ, जहाँ दुबै पक्षले आफ्नो अडानमा कडा रूपमा उभिएका छन्।
प्रकाशित: १४ माघ २०८१ ०७:०७ सोमबार