बाह्रौँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको तयारीका सम्बन्धमा गैरआवासीय नेपाली संघले परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेटघाट गरेको छ।
मन्त्रालयमा गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शर्मालाई भेटेर १२औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको तयारीका सम्बन्धमा हालसम्म भएका प्रगति विवरण जानकारी गराएको हो।
एनआरएनएका प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शर्मालाई संघको १२औँ महाधिवेशनका लागि मूल आयोजक कमिटी गठनको प्रगतिबारे जिज्ञासा राखेको थियो। सो सम्बन्धमा मन्त्रालयको डायस्पोरा डिभिजनले काम गरिरहेको बताइएको छ। एनआरएनएको महाधिवेशनका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा नेपाल सरकार उच्चस्तरीय आयोजक समिति गठन गर्ने व्यवस्था छ।
भेटका अवसरमा उपाध्यक्ष डा हेमराज शर्माले संघको १२औँ महाधिवेशन विशेषतः बृहत् एकतापछि आयोजना गर्न लागिएको महाधिवेशन सम्पन्न गर्न लागेको जानकारी गराए।
परराष्ट्र मन्त्रालयले तयार गरेको गैरआवासीय नेपालीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा मन्त्रालय र संघले मिलेर थप परिमार्जन गर्नुपर्ने आवश्यकता उनले औँल्याए। यस सम्बन्धमा आवश्यक परिमार्जन गर्न मन्त्रालय र संघले सहकार्य गर्न सकिने बताइएको छ।
भेटमा कोषाध्यक्ष सुजन थापा, संघका सिइओ राजेन्द्रकुमार राउतको पनि उपस्थिति रहेको थियो।
प्रकाशित: १२ माघ २०८२ १२:४९ सोमबार





