६ माघ २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गाजामा युद्धविराम सुरु नगर्न इजरायली प्रधानमन्त्रीको निर्देशन

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमासले रिहा गर्नुपर्ने बन्धकहरूको नाम उपलब्ध नगराएसम्म गाजामा युद्धविराम सुरु नहुने बताएका छन्। 

उनको कार्यालयले एक विज्ञप्ति जारी गर्दै इजरायल रक्षा बललाई युद्धविराम सुरु नगर्न आग्रह गरेको जानकारी दिएको छ। युद्धविराम स्थानीय समय अनुसार बिहान ८ः३० बजे सुरु हुने भनिएको थियो, तर त्यो समयमा युद्धविराम सुरु हुन सकेन।

हमासले यो ढिलाइ प्राविधिक कारणले भइरहेको बताएको छ। यस्तो प्राविधिक समस्याले गर्दा बन्धकहरूको नाम सूची उपलब्ध गराउन ढिलाइ भएको हमासको दाबी छ। 

इजरायली प्रधानमन्त्री नेतान्याहूले शनिबार राति गाजा युद्धविराम सम्झौताको पहिलो चरणलाई ‘अस्थायी युद्धविराम’ भएको र यदि सम्झौता भङ्ग भयो भने, इजरायललाई युद्ध जारी राख्ने अधिकार भएको धम्कीसहितको सन्देश जारी गरेका थिए। त्यसमा अमेरिकामा आउँने डोनाल्ड ट्रम्प प्रशासनको पनि समर्थन रहने उनको दाबी थियो। उनको चेतावनीले इजरायल–हमासबीच तनाव थप बढाउन सक्ने अनुमान गरिएको छ।

युद्धविराम सुरु हुन अब थोरै समय मात्र बाँकी छ, तर अहिलेसम्म पनि हमासले बन्धकहरूको नाम सार्वजनिक गरिसकेको छैन। यसअघि, प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयका अनुसार, इजरायल अझै पनि तीन बन्धकहरूको नाम रिहा हुन पर्खिरहेको छ। 

युद्धविराम सम्झौता अनुसार, आदानप्रदान हुनुभन्दा कम्तिमा २४ घण्टा अगाडि नामहरू खुलासा गर्नुपर्ने थियो। यदि यो समय सीमा पूरा हुन सकेन भने, युद्धविरामको कार्यान्वयनमा थप ढिलाइ हुने सम्भावना छ, जसले गर्दा दुवै पक्षबीच सङ्घर्ष पुनः बढ्न सक्छ।

सम्झौताको मूल आधारमा युद्धविरामको पहिलो चरणमा ३३ बन्धकहरू फर्किने र सयौं प्यालेस्टिनी कैदी र बन्दीहरूलाई रिहा गरिनुपर्ने छ। त्यसपछि, इजरायली सेना गाजाको बफर जोनमा फर्कनु पर्नेछ, र धेरै विस्थापित प्यालेस्टिनीहरू आफ्नो घर फर्कन पाउनेछन्। तेस्रो चरणमा मानवीय सहायता वृद्धि गरी गाजाको पुनः-निर्माण मा जोड दिइनेछ।

प्रकाशित: ६ माघ २०८१ १२:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App