अमेरिकी राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुन अमेरिकामै जन्मेको, ३५ वर्ष नाघेको र अमेरिकामा कम्तीमा १४ वर्ष लगातार बसेको हुनुपर्छ। यी तीन कुरा पूरा भएको व्यक्ति अमेरिकी राष्ट्रपतिको उम्मेदवारका रूपमा प्रस्तुत हुन पाउँछ।
अमेरिकामा राष्ट्रपति–उपराष्ट्रपतिका उम्मेदवार धेरै हुन्छन् तर राष्ट्रिय रूपमा रिपब्लिकन पार्टी (सोसलिस्ट कन्जरभेटिज्म) र डेमोक्र्याटिक पार्टी सोसलिस्ट लिब्रलिज्म मात्रै प्रतिस्पर्धामा देखिन्छन्। अरू राजनीतिक दलले थ्रेस होल्ड कटाएर राष्ट्रिय स्तरमा उम्मेदवार भएर उनीहरूसँग बहस गरेको देखिँदैन। १९९२/९३ को बिल क्लिन्टन र बुस (सिनियर) को प्रतिस्पर्धामा रिफर्म पार्टीका रोजपेरोटले कोसिस गरे पनि पछिल्ला दिनमा रिपब्लिकन र डेमोक्रेटिक पार्टीसँग प्रतिस्पर्धा गर्ने हैसियतमा कोही पनि पुगेनन्।
अमेरिकामा खासगरी दुई प्रकारका निर्वाचन हुने गर्छन्– जनरल इलेक्सन र मिडटर्म इलेक्सन। जनरल इलेक्सनमा राष्ट्रपति–उपराष्ट्रपति र एक तिहाइ सिनेटर तथा चार सय ३८ जना तल्लो सभा कंग्रेसको निर्वाचन हुन्छ। यो तल्लो सभामा कंग्रेस सदस्यको पदावधि दुई वर्षको हुने भएकाले हरेक दुई वर्षमा ५० राज्यका सबै कंग्रेसम्यान र एक सय जना सिनेटरमध्ये एक तिहाइ सिनेटर सदस्य संख्या (३३ देखि ३५ जना) ६ वर्षका लागि चुनिएर आउँछन्।
जनरल इलेक्सनअगाडि जनगणना गरी सो बमोजिम तल्लो सभाको चार सय ३५ सिट ५० राज्यलाई भाग लगाइन्छ भने तीन जना कंग्रेसम्यानहरू भने डिस्ट्रिक्ट अफ कोलम्बिया (डिसी) बाट निर्वाचित हुने र ती कंग्रेस सदस्यहरूले राष्ट्रपतिको महाअभियोगजस्ता मतदानमा भाग लिन पाउँदैनन्।
तल्लो सभा कंग्रेसमा डिसीका निर्वाचित तीन जनासमेत गरी ५० राज्यबाट निर्वाचित भएर आएका चार सय ३५ जोड्दा जम्मा चार सय ३८ जनाको अमेरिकन कंग्रेसबाट तल्लोसभाको निर्माण गरिएको छ भने ५० राज्यबाट सानाठुला र धेरै जनसंख्या वा थोरै जनसंख्याको प्रवाह नगरी प्रत्येक राज्यबाट दुई जना सिनेटरहरू ६ वर्षे पदावधिका लागि एक सय जना प्रतिनिधिको उपल्लो सदन सिनेटको स्थापना गरिएको छ। यो सबै जोड्दा अमेरिकाको क्यापिटल हिलमा केन्द्रीय प्रतिनिधित्व जम्मा पाँच सय ३८ जनाको भएको पाइन्छ।
त्यो पाँच सय ३८ जनप्रतिनिधिलाई इलक्ट्रोरल कलेज (निर्वाचक मण्डल) नामकरण गरिएको छ। राष्ट्रपतिका उम्मेदवारले पाँच सय ३८ इलक्ट्रोरल कलेजमध्ये कम्तीमा दुई सय ७० भन्दा बढी इलक्ट्रोरल कलेज प्राप्त गर्नेले राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरिन्छ। जस्तै २०२२ को जनगणनाअनुसार क्यालिफोर्निया राज्यको जनसंख्या घटेर ३९.१४ मिलियनबाट ३९.११ मिलियन भएका कारण यस अगाडिको निर्वाचनमा ५५ सिट इलेक्ट्रोरल कलेज पाएको थियो भने अहिले भने दुई जना माथिल्लो सदन सिनेट र ५२ जना तल्लो सभाको कंग्रेसम्यान गरी जम्मा ५४ सिट संख्या निर्वाचित प्रतिनिधि क्यालिफोर्नियाले पठाउने छ।
महŒवपूर्ण कुरा के छ भने राष्ट्रपतिका उम्मेदवारले क्यालिफोर्नियाका आफ्ना प्रतिद्वन्द्वीले भन्दा धेरै मत प्राप्त गर्न सक्नेले त्यो ५४ सिट अर्थात् इलक्ट्रोरल कलेज प्वाइन्ट आफ्नो पक्षमा ल्याउने छ। यसरी हरेक राज्यबाट प्राप्त हुने सिट संख्यालाई आफ्नो पक्षमा ल्याउन ती राज्यमा आफ्नै प्रतिद्वन्द्वी (अपोनेन्ट)को भन्दा धेरै लोकप्रिय मत (मतपत्र) प्राप्त गर्नुपर्छ।
नोभेम्बरको पहिलो मंगलबारका दिन मतदान केन्द्रमा गएर मतदाता सूचीको नामअनुसार मतदाता परिचयपत्र देखाएर मतपत्र प्राप्त गर्ने र मतदान गर्नेहरूको ताजा मतपत्रलाई सर्वप्रथम गिन्ती गरिन्छ। विगतमा एवसेन्टी, प्रोभिजनल ब्यालेट नगन्दा पनि मतदान केन्द्रमा गएर मतदान गरेका मतपत्र मात्रै गनेर पनि हारजितको परिणाम घोषणा गर्न सकिन्थ्यो तर अब मेलिङ एबसेन्टी, प्रोभिजनल सबै मतपत्रहरू बिनाविवाद गर्नुपर्ने भएको बुझिन्छ। अर्थात् पारदर्शी ढंगले स्वतन्त्र र निस्पक्ष निर्वाचन र लोकतन्त्रमा सबैको मतको कदर गरी गिन्ती हुनैपर्छ भन्ने अडान प्रायः धेरै राजनीतिक नेता कार्यकर्ता र अगुवाहरूको भएकाले सबै प्रकारका मत पत्रको सम्मानसाथ गणना गर्नुपर्ने भएको बुझिन्छ।
अमेरिकी राष्ट्रपति निर्वाचनमा डिसेम्बर १२ सम्ममा को राष्ट्रपति भयो भनेर घोषणा गर्नुपर्ने कुरा सन् २००० को जर्ज डब्लु बुस र अलगोरको निर्वाचनमा अमेरिकी सर्वोच्च अदालतले दिएको व्याख्या र आदेशानुसार डिसेम्बर १२ मा मुलुकले राष्ट्रपति को पायो भन्ने जानकारी पाउनैपर्छ भन्ने नजिर बसेको थियो।
त्यसैगरी डिसेम्बर १४ मा स्टेट सेक्रेटरी र डिस्ट्रिक्टका न्यायाधीशले हस्ताक्षर गरेको रिपोर्ट सिलबन्दी पत्र सिनेट अध्यक्ष तथा उपराष्ट्रपतिसमक्ष आफ्नो राज्यमा कसको कति मत प्राप्त भयो र कसले आफ्नो राज्यको इलेक्ट्रोरल कलेज प्राप्त गर्यो भन्ने रिपोर्टिङ पठाउनुपर्ने भएकाले उक्त रिपोर्ट डिसेम्बर १४ मा सिनेट कांग्रेसमा जनवरी ६ को प्रक्रियाका लागि गइसकेको हुन्छ।
यसरी सुरु भएको निर्वाचन नोभेम्बरको पहिलो हप्ता मंगलबारदेखि डिसेम्बर १२, १४, जनवरी ६ र जनवरी २० सम्म पुगेर सपथ ग्रहण नगरेसम्म राष्ट्रपति निर्वाचन प्रक्रिया पूरा हुँदैन। त्यसकारण पनि अलिकति मात्रै तलमाथि नगरी निर्वाचन परिणाम घोषणा गर्नु उपयुक्त हुन्छ।
पछिल्ला दिनमा मिडियाले ट्रम्प र कमला दुवैले दुई सय ७० इलेक्ट्रोरल कलेज ल्याउन नसक्ने र दुवै उम्मेदवारले बराबरी अर्थात् दुई सय ६९/दुई सय ६९ मात्र इलेक्ट्रोरल कलेज प्राप्त गर्ने भन्न थालेका छन्। त्यसै भयो भने डोनाल्ड ट्रम्पलाई नै फाइदा हुने देखिन्छ। किनकि ट्रम्पको पक्षमा साना स्टेटहरू धेरै रेडस्टेट र रिपब्लिकन पार्टीको पकेट मत क्षेत्र भएकाले ट्रम्पले धेरै राज्यमा जित्ने निश्चित अनुमान गरिन्छ। त्यसैले ५० राज्यमा २६ राज्य मात्रै जिते पनि एउटा राज्यको एकजना डेलिगेटले मतदान गर्दा २६ भोट पुग्यो भने पनि ट्रम्पको जित हुने निश्चित छ।
जनताले दिएको लोकप्रिय मत र इलेक्ट्रोरल कलेजको प्रवाह नराखी अन्तमा राष्ट्रपति तल्लो सभा कांग्रेसले र उपल्लो सभा सिनेटले उपराष्ट्रपतिको घोषणा गर्नुपर्ने अवस्था पनि आउन सक्छ। यसअघि पनि १८२४ मा यही प्रक्रियाबाट कांग्रेसले राष्ट्रपति र सिनेटले उपराष्ट्रपति निर्वाचित गरेको थियो।
प्रकाशित: १० कार्तिक २०८१ ०७:३५ शनिबार





