२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जब भारतका एक मजदुरले ८० लाखको हीरा पाए

भारतको मध्य प्रदेशमा हालसालै एक मजदुर रातारात धनी बनेका छन्। पन्ना जिल्लाको भाडामा लिएको खानीबाट राजु गोन्डले ठूलो हीरा पाएका छन्। गोण्डले विगत दश वर्षदेखि पन्नामा खानी भाडामा लिएको बताए। यो १९.२२ क्यारेटको हीरा सरकारी लिलामीमा करिब ८० लाख रुपैयाँमा बिक्री भएको बताइएको छ। जुन रकम नेपालीमा तुलना गर्दा १ करोड २८ लाख नेपाली रुपैयाँभन्दा बढी हुन्छ। पन्ना हीराका लागि प्रसिद्ध छ। यहाँ धेरैले सरकारबाट खानी भाडामा लिएर हिरा खोज्ने गर्छन्। केन्द्रीय सरकारले राष्ट्रिय खनिज विकास निगम (NMDC) मार्फत पन्नामा एक यान्त्रिक हीरा खानी परियोजना सञ्चालन गर्दछन्।

राष्ट्रिय खनिज विकास निगमले खानीहरू व्यक्ति,परिवार र सहकारी समूहहरूलाई भाडामा दिन्छ। यहाँ मानिसहरू साना औजारहरू प्रयोग गरेर हीरा खोज्ने प्रयास गर्छन्। यी मानिसहरूले जे पाउँछन्। त्यो सरकारी हीरा कार्यालयमा बुझाउँनुपर्छ। यो कार्यालयले हीराको मूल्याङ्कन गर्छ। राजुले फेला पारेको यो हीराको मूल्य ८० लाख रुपैयाँ रहेको बताइएको छ। मध्य प्रदेश सरकारका अधिकारी अनुपम सिंहले भने,‘यी खानीहरू दुई सयदेखि २५० रुपैयाँमा निश्चित अवधिका लागि भाडामा दिइन्छ। धेरैले दिनहुँ साना साना हीरा प्राप्त गरिरहन्छन्। तर गोन्डले फेला पारेको हीरा सबैभन्दा ठुलो भएको र यो निकै चासोको विषय बनेको छ।’

राजुले बताए अनुसार उनका बुबाले दुई महिनाअघि पन्ना नजिकैको कृष्ण कल्याणपुर पट्टी गाउँमा खानी भाडामा लिएका थिए। वर्षायाममा खेतमा काम नहुने भएकाले आफ्नो परिवारले पन्नामा खानी भाडामा लिएर हिरा खोज्ने काम गरिरहेको बताए। उनले भने, ‘हामी गरिब हौँ, आम्दानीको अर्को कुनै स्रोत छैन त्यसैले केही कमाउने आशा गर्छौँ।’ राजु अनमोल हीरा खोज्ने धेरै प्रयास गरेको बताउँछन्।

राजु गोन्डले कसरी पाए हीरा?

मानिसहरू पन्नामा साना खानीहरूमा यस्तै साना औजारहरूले खन्ने गर्छन्। बुधबार बिहान राजु सदाझैँ काम गर्न भाडा खानीमा पुगेका थिए।आफ्नो कामको बारेमा राजु भन्छन्, ‘हामीले खाडल खने, माटो र ढुङ्गा निकाल्ने, छलनीमा धुने र साना ढुङ्गाहरूमा ध्यान दिएर हिरा खोज्ने काम हो। म ढुङ्गा धोइरहेकी थिएँ र अचानक काँचजस्तो देखिने एउटा टुक्रा देखेँ। मैले त्यसलाई उठाएँ र आफ्नो आँखा अगाडि राखेँ। मन्द उज्यालो देखेँ। त्यसपछि मैले हिरा फेला पारेको महसुस गरें।’

जुन उनको त्यो कडा मेहनत बुधबार दिउँसो सफल भयो। त्यसपछि राजुले फेला परेको हीरा सरकारी हीराको कार्यालयमा लगें। त्यहाँ हीराको तौल र मूल्याङ्कन गरिएको थियो। सरकारी अधिकारी सिंहले आगामी सरकारी लिलामीमा उक्त हीराको बोली लाग्ने बताए। उनले हिराको सरकारी रोयल्टी र कर काटेर बाँकी रकम राजुलाई दिने बताए।

राजु हिरा बेचेर कमाएको पैसा आफ्नो परिवारको लागि राम्रो घर र छोराछोरीलाई राम्रो शिक्षा दिने बताउँछन्। तर सबैभन्दा पहिले ऋण लिएको पाँच लाख रुपैयाँ फिर्ता गर्ने उनको भनाइ छ।-एजेन्सी 

प्रकाशित: १२ श्रावण २०८१ ०७:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App