२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सिङ्गापुरमा घट्दै जन्मदर

सिङ्गापुरमा जन्मदर घट्दै गएको छ। ढिलो विवाह गर्ने र सन्तान नजन्माउने निर्णयका कारण सिङ्गापुरमा जन्मदर घट्दै गएको हो।

सोमवार सिङ्गापुरको सामाजिक परिवार विकास मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सिङ्गापुरको बासिन्दाको कूल प्रजनन दर सन् २०१३ मा १ दशमलव ९ प्रतिशतबाट सन् २०२३ मा शून्य दशमलव ९७ मा झरेको छ।

चालीस वर्षको उमेरमा विवाहित बासिन्दा महिलाहरूमध्ये सन्तान नभएकाहरू सन् २०१३ मा १० प्रतिशतबाट बढेर सन् २०२३ मा १३ दशमलव नौ प्रतिशतमा पुगेका छन्।

सिङ्गापुरका दम्पतीहरूले आमाबाबु बन्न ढिलाइ गर्ने गरेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। पहिलो पटक बुबा र आमाको औसत उमेर गत वर्ष क्रमशः ३३ दशमलव तीन वर्ष र ३१ दशमलव छ वर्ष थियो। यो सन् २०१३ को ३२ दशमलव सात वर्ष र ३० दशमलव तीन वर्षभन्दा बढी हो।

सरकारले बालबालिका हुर्काउने परिवारहरूलाई मद्दत गर्नका लागि उपायहरू जारी गरेको छ। बुबाहरूलाई सरकारी–भुक्तानी पितृत्व बिदा दिने, थप पूर्ण–दिन शिशु हेरचाह गर्ने ठाउँहरू निर्माण गर्ने र पूर्व–विद्यालय शिक्षाका लागि अनुदान उपलब्ध गराउने रिपोर्टमा जनाएको छ।

यस्तै, परिवारमा एक्लै बस्ने वृद्ध सिङ्गापुरका बासिन्दाहरूको सङ्ख्या सन् २०१३ मा ३५ हजार एक सय ६० बाट दोब्बर बढेर सन् २०२३ मा ७८ हजार एक सय ३५ पुगेको पारिवारिक प्रतिवेदनले देखाएको छ।

आवासीय घरमा बस्ने ६५ वर्ष वा सोभन्दा माथिका बासिन्दाको सङ्ख्या सन् २०१३ मा चार लाख १३ हजार एक सय १७ बाट बढेर सात लाख आठ हजार छ सय ५६ पुगेको छ। यसमा ८० प्रतिशतभन्दा बढी वृद्धवृद्धा आफ्नो परिवारसँग बस्ने गरेका छन्।

गत जुनसम्ममा सिङ्गापुरका कूल नागरिकको १९ दशमलव एक प्रतिशत ६५ वर्ष र सोभन्दा माथिका थिए। रासस

प्रकाशित: १ श्रावण २०८१ ०८:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App