१० असार २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिणी गाजामा ‘रणनीतिक विराम’ गर्ने इजरायको घोषणा

इजरायली सेनाले दक्षिणी गाजापट्टीको भागमा दिनको समयमा दैनिक सैन्य गतिविधिको ‘रणनीतिक विराम’ लागू गर्ने घोषणा गरेको छ।

'आइतवारदेखि लागू हुने उक्त रणनीतिक विरामको क्रममा केरम सालोम सीमा पार गर्ने सालाह अल–दिन रोड र त्यसपछि उत्तरतर्फ जाने सडकमा अर्को सुचना नआएसम्मका लागि मानवीय सहायता पुर्याउने उद्देश्यका लागि हरेक दिन बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म सैन्य गतिविधिको रणनीतिक विराम हुनेछ,' सेनाले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ।

संयुक्त राष्ट्र सङ्घ र अन्य संस्थाहरूसँगको छलफलपछि गाजापट्टीमा प्रवेश गर्ने मानवीय सहायताको मात्रा बढाउने प्रयासको एक हिस्साको रूपमा यो निर्णय गरिएको हो।

इजरायलले लामो समयदेखि केरेम शालोम सीमामार्फत सहायता वितरण सहज बनाउने प्रयासमा हस्तक्षेप गर्दै आएको छ। तर मानव अधिकार समूहहरूले महिनौँसम्म घेराबन्दी गरिएको प्यालेस्टिनी क्षेत्रमा खाना र अन्य आवश्यक वस्तुहरूको अभावबारेमा चेतावनी दिएका हुन्।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार गाजामा पाँच वर्ष मुनिका आठ हजारभन्दा बढी बालबालिकाको तीव्र कुपोषणको उपचार गरिएको छ।

अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूले इजरायल र हमासलाई अमेरिकी राष्ट्रपति जो बाइडेनको बन्धक–कैदी आदानप्रदान र सहायता वितरण युद्धविराम सम्झौताको प्रस्तावमा सहमत हुन दबाब दिइरहेका छन्।

'गाजापट्टीभित्र अराजकता सक्रिय द्वन्द्वका कारण मानिसहरूको बढ्दो मागहरू पूरा गर्ने स्तरको सहायता प्रदान गर्न असम्भव हुँदै गइरहेको छ,' विश्व खाद्य कार्यक्रमका उपकार्यकारी निर्देशक कार्ल स्काउले भने। रासस

प्रकाशित: २ असार २०८१ १३:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App