भारतको बिहार राज्यमा राजनीतिक सरगर्मी बढेको छ। सन् २०२४ मा हुने निर्वाचन नजिकिएसँगै भारतका विभिन्न राज्यमा पछिल्लो राजनीतिक उथलपुथल भइरहेको देख्न सकिन्छ। यसै क्रममा बिहारका मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिएका छन्।
बीबीसीका अनुसार जनता दल (यूनाइटेड) का तर्फबाट मुख्यमन्त्री बनेका कुमार र लालु यादव नेत्तृत्त्वको पार्टी राष्ट्रिय जनता दलबीच मनमुटाव सुरु भएपछि बिहारको राजनीतिक माहोल तातेको छ। लालु यादवको पार्टीको समर्थनमा मुख्यमन्त्री बनेको नितिश कुमारलाई राजीनामा लगतै भारतीय जनता पार्टी (भाजपा)ले समर्थन गर्ने आश्वासन दिएको छ।
उनले बिहारका राज्यपाल राजेंद्र अरलेकरसमक्ष राजीनामा दिएका हुन्। १७ महिना अघि बनेको सरकार ढलेसँगै अब नयाँ सरकारका लागि भाजपाले मुख्य भूमिका खेल्ने छ।
सन् २०२२ मा नीतीश कुमारले भाजपाको अगुवाईमा रहेको एनडीएसँग सम्बन्ध तोडेर लालु यादवसँग मिलेर सरकार बनाएका थिए। तर, पछिल्लो समय आगामी चुनावमा कसले कति सिट पाउने भन्ने विषयमा कुरा नमिलेपछि सार्वजनिक रुपमै राजदको तर्फबाट उप मुख्यमन्त्री बनेका तेजश्वी यादव र मुख्यमन्त्री नितिश कुमारबीचको विवाद देख्न पाइयो।
प्रकाशित: १४ माघ २०८० ०५:५४ आइतबार





