ताप्लेजुङमा उत्पादित चिराइतोले बजार मूल्य नपाउँदा किसान चिन्तित बनेका छन्। गत वर्ष प्रतिमन रु ६५ हजारसम्ममा खरिद बिक्री भएको चिराइतो यस वर्ष कारोबार ठप्प छ।
मिक्वाखोला गाउँपालिका–५ पापुङका तेन्जिङ शेर्पाले गत वर्ष रु ४० हजारमा २० मन चिराइतो बिक्री गरे। व्यापारी घरमै आएर चिराइतो खरिद गरे। तर यस वर्ष भने चिराइतो संकलन गरे पनि अहिलेसम्म खरिदका लागि व्यापारीहरू सम्पर्कमा नआएको शेर्पाले बताए। उनले भने, ‘चिराइतो संकलन गरेर राखिएको छ। खै कति छ दाम थाहा छैन। बिक्री हुने कि नहुने थाहा छैन।’
फक्ताङलु गाउँपालिका–६ आहाले गाउँका रामबहादुर ताम्मादेन विगत १५ वर्षदेखि चिराइतोखेती गर्दै आएका छन्। उनले बिचमा चिराइतोखेती गर्न छाडेर वैदेशिक रोजगारीमा समेत गए। आफ्नै गाउँघरका पाखोबारीमा प्रशस्त मात्रमा खेती गर्न सकिने चिराइतो राम्रो सम्भावना देखेर वैदेशिक रोजगारीदेखि पुनः आफ्नै गाउँमा चिराइतोखेती गर्न फर्के। गाउँमा आएर चिराइतोखेतीसँगै चिराइतो खरिद बिक्रीसमेत गर्न थाले।
ताम्मादेनले गत वर्षमात्र १२५ मन चिराइतो खरिद गरेर चीनको तिब्बत निर्यात गरे। उनले तिब्बतमा रु ४० देखि ६५ हजारमा चिराइतो बिक्री गरेको बताए। तर यस वर्ष भने चिराइतोको कारोबार शून्यजस्तै रहेको ताम्मादेनले बताए। उनले भने, ‘गत वर्षको तुलनामा यस वर्ष चिराइतो उत्पादनसमेत कम छ। गत वर्ष एउटा गाउँबाट २०० केजी संकलन हुनेमा अहिले १०० केजी पनि चिराइतो संकलन भएको छैन।’ गाउँघरमा प्रतिमन ९४० केजी०को रु १७ देखि १८ हजारमा खरिद बिक्री हुँदै आएको चिराइतो व्यापारी राम ताम्मादेनले बताए।
गत सातामात्र चीनको तिब्बतका र भारत निर्यात गर्ने व्यापारीसँग सम्पर्क गरेको ताम्मादेनले बताए। भारतीय व्यापारीले भन्दा चीनका व्यापारीले राम्रो मूल्य दिने भएकाले धेरै चिराइतो तिब्बत हुँदै चीन निर्यात हुँदै आएको छ।
विगतमा गाउँकै धेरै चिराइतो उत्पादन गर्ने फक्ताङलुङ गाउँपालिका–६ किसोङवा गाउँका केरसिं लिम्बू अहिले चिराइतोखेती गर्न छाडेका छन्। लिम्बूले विगतमा ७५ मनसम्म चिराइतो उत्पादन गर्थे। चिराइतोको बजार मूल्य निश्चित नहुने प्रत्येक वर्ष बजार मूल्य उतारचढाव भइरहने भएकाले किसानले चिराइतोखेती गर्न छाड्दै गएको उनी बताउँछन्। विगतमा राम्रो चिराइतो संकलन हुने किसोङवा, लुङथुङ, लावाजेनजस्ता गाउँमा अहिले न्यून मात्रामा मात्र चिराइतो उत्पादन हुँदै आएको लिम्बूले जानकारी दिए।
नेपालको पूर्वी क्षेत्रमा उत्पादन हुने चिराइतो ताप्लेजुङको तिप्ताला नाका हुँदै चीनको तिब्बत निर्यात हुँदै आएको छ। चिराइतो व्यापारीले विगत छ वर्ष अगाडि सङ्खुवासभा, भोजपुर, तेह्रथुम, इलामका चिराइतो हेलिकप्टरमार्फत ओलाचुङगोलासम्म ढुवानी गरेका थिए।
कोभिड–१९ का कारणले टिप्तालानाका बन्द हुँदा प्रत्यक्ष असर चिराइतो किसानलाई परेको थियो। नाका बन्द हुँदा किसानले उत्पादन गरेका चिराइतो तिब्बत हुँदै चीन निर्यात हुन सकेन। चिराइतोको बजार नपाएसँगै धेरै किसानले चिराइतोखेती गर्नसमेत छाडेर अन्य पेसा अपनाउन थालेका छन्। तर गत वर्षदेखि भने तिप्तालानाका खुलेसँगै चिराइतो चीन निर्यात हुन थालेको व्यापारीको भनाइ छ।
विगत तीन वर्ष अगाडि फुङलिङ नगरपालिका–१० टेकमान भट्टराईले प्रतिकेजी रु एक हजार १२५ का दरले सात क्विन्टल चिराइतो घरबाटै बिक्री गरेका थिए। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ का चिराइतो खरिद बिक्री गर्दै आएका व्यापारी टासी शेर्पाले प्रतिमन रु ४५ हजारमा ५० मन चिराइतो संकलन गरेर झापाको बिर्तामोडमा लगेर बिक्री गरेका थिए। गाउँमा उत्पादित चिराइतो बजारसम्म लैजान डिभिजन वन कार्यालयमा प्रतिकिलो रु १५ राजस्व बुझाउनुपर्छ।
गत आव ताप्लेजुङबाट पाँच हजार ८२० केजी चिराइतो निकासी भएको डिभिजन वन कार्यालयले जनाएको छ। आव २०७९/८० मा पाँच हजार ८०० केजी ताप्लेजुङमा चिराइतो उत्पादन भएको थियो भने चिराइतोबाट रु ८७ हजार राजस्व संकलन भएको डिभिजन वन कार्यालयको तथ्यांक छ।
वन कार्यालयको तथ्यांकअनुसार ताप्लेजुङमा आव २०७७/७८ मा १६ हजार ३०० केजी चिराइतो संकलन भएकामा यसबाट रु दुई लाख ४४ हजार ५०० राजस्व जम्मा भएको थियो। विगतका तुलनामा चिराइतो उत्पादन क्रमिक घट्दै गएको देखिन्छ। चिराइतो संकलन गरेर जिल्ला बाहिर लैजान अनेक प्रक्रियागत झन्झट रहेको व्यापारी बताउँछन्। झार वर्गको यो वनस्पति संकलनका लागि २८ महिनामा मात्रै योग्य हुने गरेको छ। तर एकपटक लगाएपछि बर्सेनि लगाउनु पर्दैन।
पाकेको फूल आफैँ झर्छ र त्यहीँ उम्रन्छ। पहिलो वर्ष काण्ड वृद्धि नभई त्यसबाट पात पलाएर मूलाजस्तो हुने, दोस्रो वर्ष जमिनमाथि काण्ड विकास भई हरेक आँख्लामा हाँगा र पात पलाएर आउने र यसमा फूल फुल्ने र बीउ लाग्ने किसान बताउँछन्। दुई वर्षमा सप्रेको बोट १.५ मिटरसम्म अग्लो हुने किसान बताउँछन्।
नेपालमा कुल उत्पादनको ९० प्रतिशत चिराइतो विदेश निर्यात हुन्छ। यसमध्ये ८० प्रतिशत भारतमा मात्र निर्यात हुने बताइएको छ। बाँकी २० प्रतिशत चीन, स्वीडेन, मलेसिया, सिंगापुर, जर्मनी, इटाली, फ्रान्स, स्वीटजरल्यान्ड, श्रीलंका, बंगलादेश, पाकिस्तान, अमेरिकालगायत देशमा निर्यात हुने वनस्पति विभागले जनाएको छ। यो जडीबुटी विभिन्न प्रकारका रोग निको पार्न प्रयोग गरिन्छ। परम्परागत चिकित्सा पद्धतिजस्तै आयुर्वेद, युनानी, होमियोप्याथी, सिद्धा, सोवारिग्पामा घरेलु औषधिका रूपमा चिराइतोको प्रयोग हुने गर्छ।
मुख्यगरी यसको प्रयोग बलवर्द्धक, ज्वरोनाशक र कब्जियत खुलाउनका लागि प्रयोग हुने वनस्पति विभागले जनाएको छ। तिब्बती चिकित्सा पद्धतिमा चिराइतोको प्रयोग पित्त र ज्वरोको प्रयोग हुने उल्लेख गरिएको छ। महिलामा हुने महिनावारी गडबडी, कब्जियत, पित्तनाशक, शरीर सुन्निएको ठाउँमा, श्वेत प्रदर, छालारोग, दाद निको पार्न/गर्न प्रयोग गर्न सकिन्छ भने चिराइतोबाट ब्याक्टेरिया, ढुसी आदि पनि निर्मूल गर्न सकिन्छ।
वनस्पति विभागका अनुसार नेपालको पूर्वी भेग ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, सङ्खुवासभा, धनकुटा, भोजपुरदेखि मकवानपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, गोरखा, सल्यान, रोल्पा, डोल्पा, अछाम, डोटी, डडेलधुरा, बाजुरालगायत जिल्लामा प्राकृतिक रूपमै चिराइतो हुने गर्दछ। दिलकुमार लिम्बू/रासस
प्रकाशित: १३ पुस २०८२ ०९:४७ आइतबार





