२७ माघ २०८२ मंगलबार
image/svg+xml
राजनीति

मतदाता १ करोड ८९ लाख

फाुगन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६ सय ८९ जनाले मताधिकार प्रयोग गर्न पाउने भएका छन्। निर्वाचन आयोगले शनिबार अन्तिम मतदाता सूची सार्वजनिक गरेको हाे। सूचीअनुसार ९६ लाख ६३ हजार तीन सय ५८ पुरुष, ९२ लाख ४० हजार एक सय ३१ महिला र दुई सय अन्य मतदाता छन्।

सम्बन्धित मतदाताले मतदाता नामावलीमा आफ्नो नाम हेर्न सक्ने गरी अन्तिम मतदाता नामावली वेबसाइटमा राखिएको आयोगले जनाएको छ। प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम आयोगबाट अन्तिम मतदाता नामावली प्रकाशन गरिएको हो।

आयोगका अनुसार मतदाता नामावली ऐन, २०७३ र मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ मा भएको व्यवस्थाबमोजिमको प्रक्रिया पूरा गरी २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकहरूको विवरण अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको हो।

आयोगका अनुसार २०७९ सालमा भएको प्रतिनिधिसभा था प्रदेशसभा सदस्य निर्वाचनमा पुरुष ९१ लाख ४० हजार आठ सय ६, महिला ८८ लाख ४७ हजार पाँच सय ७९ र अन्य एक सय ८५ गरी एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० थिए।

२०७९ सालको निर्वाचनको तुलनामा २०८२ मा नौ लाख १५ हजार एक सय १९ मतदाता बढेका छन्। पुरुषतर्फ ५ लाख २२ हजार पाँच सय ५२, महिलातर्फ तीन लाख ९२ हजार पाँच सय ५२ र अन्यतर्फ १५ जना मतदाता थपिएका छन्।

आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन, २०८२ का लागि देशभर १० हजार नौ सय ६७ मतदान स्थल र २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ। यसपटक ७५ वटा मतदान स्थल र आठ सय ८५ मतदान केन्द्र थप गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराइले जनाएका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि एक सय १४ वटा दल आयोगमा दर्ता भएका छन्। आयोगका अनुसार १३ वटा दलको निवेदन दर्ता खारेज भएको छ। विभिन्न कारणले ती दलको दर्ता खारेज गरिएको हो।

हालसम्म आयोगमा दर्ता कायम भएका दलहरूको संख्या एक सय ४३ छ। तीमध्ये एक सय १४ वटा दलले प्रतिनिधिसभा निर्वाचनमा भाग लिने छन्। आयोगका अनुसार निर्वाचनमा एक सय सात वटा चुनाव चिन्ह प्रयोग हुने छन्। एक सय दुईवटा दलले छुट्टाछुट्टै निर्वाचन चिन्ह लिएर चुनावमा प्रतिस्पर्धा गर्ने छन्।

आयोगले दलहरूलाई दर्ताका लागि निवेदन दिने बेलामै चुनाव चिन्ह रोज्ने सुविधा दिएको थियो। सकेसम्म दलहरूलाई उनीहरूले रोजेकै चिन्ह दिइएको छ। दोहोरो दाबी भएको अवस्थामा मात्र विकल्प छान्न लगाइएको छ। पुराना पार्टीले नै प्रयोग गरेका चिन्ह पाएका छन्।

प्रकाशित: १३ पुस २०८२ ०९:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App