अलराउन्डर माइकल लिस्कको विस्फोटक ब्याटिङ र चार विकेटको उत्कृष्ट प्रदर्शन मद्दतमा स्कटल्यान्डले आइसिसी टी ट्वान्टी विश्वकपमा पहिलो जित निकालेको छ।
नेपाल रहेको समूह ‘सी’ को खेलमा स्कटल्यान्डले विश्वकपमा डेब्युटेन्ट राष्ट्र इटालीलाई ७३ रनले हराउँदै पहिलो जित निकाल्यो। बंगलादेशको बहिर्गमनपछि स्कटल्यान्डले उसको स्थानमा विश्वकप खेल्ने अवसर पाएको हो।
गत जुलाईमा युरोपियन छनोटमा इटालीसँग पराजित भएपछि विश्वकप छनोट गुमाएको स्कटल्यान्डले सोमबार बदला लियो। बंगलादेशले सुरक्षाको कारण देखाउँदै भारतसँग खेल्न अस्वीकार गरेपछि स्कटल्यान्डलाई अन्तिम समयमा विश्वकपमा स्थान मिलेको थियो। स्कटल्यान्डले सानदार प्रदर्शनमार्फत यो अवसरलाई सार्थक बनायो।
पहिलो खेलमा वेस्ट इन्डिजसँग पराजित भएको स्कटल्यान्डले दोस्रो खेलमा भने सहज जित आत्मसात् गर्यो। इडेन गार्डेन्समा सोमबार भएको खेलमा स्कटल्यान्डको जितमा ओपनर जर्ज मुन्सीले आक्रामक अर्धशतकीय इनिङ महत्त्वपूर्ण रह्यो।
बायाँहाते ब्याट्सम्यान मुन्सीले ५४ बलमा ८४ रनको सानदार प्रदर्शन गरे। उनको इनिङमा १४ चौका र २ छक्का रह्यो। उनले १ रनमा जीवनदान पाएका थिए। त्यसपछि मुन्सीले इटालीका बलरहरूमाथि पूरै प्रभुत्व जमाए। इनिङको अन्त्यमा माइकल लिस्कले मात्र पाँच बलमा नटआउट २२ रन जोड्दै स्कटल्यान्डलाई राम्रो योगफलतर्फ अग्रसर गराए।
लिस्कले थोमस ड्राकाको अन्तिम ओभरमा दुई छक्का र दुई चौका प्रहार गरेका थिए। लिस्कले बलिङमा पनि प्रभावशाली प्रदर्शन गरे। यस क्रममा उनले पहिलो बलमै विकेट लिए। कुल ४ ओभरमा लिस्कले १७ रन खर्चेर ४ विकेट निकाले। उनको उत्कृष्ट बलिङपछि इटाली १६.४ ओभरमा ९ विकेट गुमाउँदै एक सय ३४ रनमै समेटियो। कप्तान वेन म्याडसेन खेलको सुरुआतमै काँधमा चोट लागेपछि ब्याटिङ गर्न आएनन् र इटाली थप कमजोर बन्यो।
समूह ‘सी’ मा नेपालसँगै वेस्ट इन्डिज, इटाली, स्कटल्यान्ड र इङ्ल्यान्ड छन्। त्यसमध्ये नेपाल र इटालीबाहेक तीनै टोलीले जित निकालेका छन्। स्कटल्यान्डले दुई खेल खेलिसकेको छ। वेस्ट इन्डिजले स्कटल्यान्डलाई नै हराएको हो। नेपालले भने पहिलो खेलमा आइतबार इङ्ल्यान्डसँग चार रनको साँघुरो हार सामना गरेको थियो।
इटालीको लक्ष्य पछ्याउने क्रममा सुरुआत निकै खराब रह्यो। लिस्कले पहिलो बलमै जस्टिन मोस्कालाई आउट गर्दै दबाब सिर्जना गरे। उनी फिल्डमा पनि निकै सक्रिय देखिए र महत्त्वपूर्ण साझेदारीहरू तोड्दै गए। जेजे स्मट्सले ब्राड ह्विलको एक ओभरमा दुई छक्का र एक चौका प्रहार गरी २३ रन जोड्दै केही समय इटालीलाई आशा जगाए। एन्थोनी मोस्काले पनि एक ठुलो प्रहार गरे।
इटालीले पहिलो २८ बलभित्रै तीन विकेट गुमायो। तर, बेन मानेन्टीले ३१ बलमा ५२ रनको उत्कृष्ट इनिङ खेल्दै इटालीका लागि विश्वकप इतिहासकै पहिलो अर्धशतक पूरा गरे। उनले २९ बलमै अर्धशतक पूरा गर्दै ओलिभर डेभिडसनलाई मिडविकेटमाथि छक्का प्रहार गरेका थिए।
बेन र उनका भाइ ह्यारी मानेन्टीबीच ४६ बलमा ७३ रनको साझेदारी हुँदा इटालीको आशा पलाएको थियो। ह्यारीले ३७ रन जोडे। तर, लिस्कले ह्यारीलाई आउट गर्दै साझेदारी तोडे। त्यसपछि अर्को ओभरमै बेन पनि पभेलियन फर्किए। लिस्कले त्यसपछि ग्रान्ट स्टुअर्ट र जियान पिएरो मिडेलाई चार बलको अन्तरालमा आउट गर्दै आफ्नो स्पेल उत्कृष्ट रूपमा समाप्त गरे।
टस जित्नुबाहेक इटालीका लागि खेलमा खासै केही सकारात्मक रहेन। कप्तान म्याडसेन चौथो ओभरमा असहज डाइभका क्रममा बायाँ काँधमा चोट लागेपछि मैदान छोड्न बाध्य भए र खेलबाट बाहिरिए।
स्कटल्यान्डका लागि मुन्सीले सुरुदेखि नै आक्रामक शैली अपनाए। अली हसनको पहिलो ओभरमा उनले लगातार दुई चौका प्रहार गरे। इटालीका बलरहरूले छोटो र वाइड बलिङ रणनीति अपनाए पनि मुन्सीले त्यसको भरपूर फाइदा उठाए। ४१ रनमा एन्थोनी मोस्काले कभरमा सजिलो क्याच छोड्दा इटाली महँगोमा बन्यो। त्यसपछि मुन्सीले बेन मानेन्टीविरुद्ध छक्का प्रहार गर्दै ३० बलमै आफ्नो १४औं टी ट्वान्टी अर्धशतक पूरा गरे।
सुरुआतमा सतर्क देखिएका जोन्स पनि पछि आक्रमणमा सामेल भए । १० ओभरपछि स्कटल्यान्डले बिनाविकेट ९१ रन बनायो। मुन्सी १४औं ओभरमा ग्रान्ट स्टुअर्टको बलमा लङ अनमा क्याच आउट भए। जुन इटालीको विश्वकप इतिहासकै पहिलो विकेट बन्यो। जोन्स पनि चाँडै आउट भए। तर म्याकमुलन र लेस्कले अन्त्यतिर तीव्र गतिमा रन जोड्दै स्कटल्यान्डलाई बलियो स्कोरमा पुर्याए।
प्रकाशित: २७ माघ २०८२ ०७:०१ मंगलबार





