सेती प्रादेशिक अस्पतालमा कम्मरको हड्डीको शल्यक्रिया गराउन आएकी हरिनादेवी ऐरले स्वास्थ्य बिमाको रकमले उपचारमा राहत हुने सोचेकी थिइन्। शल्यक्रिया गर्न अस्पतालमा उनी भर्ना भइन्। शल्यक्रिया गरेको मात्र ७० हजार रुपैयाँको बिल आयो। स्वास्थ्य बिमामा सुविधावापत पाउने एक लाखमध्ये ६४ हजार रुपैयाँ मात्र उनको नाममा बाँकी थियो। ७० हजार रुपैयाँभन्दा कम भएकाले उपलब्ध गराउन नमिल्ने भन्दै उनलाई बिमावापतको सुविधा दिइएनन्।
‘बिमामा बाँकी ६४ हजार रुपैयाँवापतको उपचार सुविधा त मैले पाउनुपथ्र्यो तर दिएनन्। ६ हजार जम्मा गरेर ७० हजार पुर्याउँछु, उपचारका लागी बिमाको पैसा दिनु भनेर कति अनुरोध गर्दा पनि पाइएन’, उनले भनिन्, ‘स्वास्थ्य बिमाको रकम नपाएपछि छुट्टै पैसा खोज्नुपर्यो।’
औषधि पनि नगद तिरेर किन्नुपर्दा स्वास्थ्य बिमा गरेर पनि उपचारमा धेरै पैसा खर्च भएको उनको दुःखेसो थियो।
त्यस्तै महाकाली नगरपालिका–९ बाट मृगौलासम्बन्धी उपचारका लागि सेती प्रादेशिक अस्पतालमा आएका टेकबहादुर थापा चिकित्सकले लेखेको औषधि लिन अस्पतालको फार्मेसीमा गए।
स्वास्थ्य बिमा भएकाले औषधिका लागि पैसा तिर्नुु नपर्ला भन्ने उनले सोचेका थिए। अस्पतालको फार्मेसीमा उनलाई चाहिनेमा आधाजति मात्रै औषथि थिए। उनले बाँकी औषधि निजी मेडिकलबाट किने। ‘स्वास्थ्य बिमा भएर पनि के गर्नु, आधाजति औषधि नगद तिरेर निजी मेडिकलबाट किन्नुपरेको छ’, उनले भने, ‘स्वास्थ्य बिमाअन्तर्गत दिने भनेका औषधिहरू त अस्पतालको फार्मेसीमा राख्नुपर्यो नि।’
यी प्रतिनिधिमूलक उदाहरण मात्र हुन्। आर्थिक अवस्था कमजोर भएका सर्वसधारणले स्वास्थ्य बिमाअन्तर्गत उपचारका लागि तोकिएका अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा स्वास्थ्य बिमाको रुकमले सहज र सुलभ उपचार पाउन सकेका छैनन्। स्वास्थ्य बिमा बोर्ड कैलाली जिल्ला शाखाका संयोजक दिपक विष्ट अस्पतालमा भर्ना भएका बिरामीलाई एक एक लाख र ओपिडीमा उपचार गराउने बिरामीलाई २५ हजार रुपैयाँबराबरको स्वास्थ्य बिमावापतको उपचार सुविधा उपलब्ध गराउने गरेको बताउँछन्।
स्वास्थ्य बिमाको रकमबाट पाउनुपर्ने उपचार सुविधा बिरामीले पाउनुपर्ने उनी बताउँछन्। स्वास्थ्य बिमा गराएका बिरामीबाट उपचारका लागि नगद पैसा तिर्नुपरेको गुनासो सुनिने गरेको उनी स्वीकार्छन्। ‘स्वास्थ्य बिमा गरेका बिरामीलाई सर्तबमोजिम सेवा दिन्छु भनेर अस्पतालले बिमा बोर्डसँग सम्झौता गरेका हुन्छन्, त्यसैअनुसारको सेवा उपलब्ध गराउने कर्तव्य अस्पतालको हो’, उनले भने।
स्वास्थ्य बिमा सुविधाअन्तर्गत उपलब्ध गराउन ११ सय बढी औषधि सूचीकृत रहेको उनी बताउँछन्। तर बिमितले तोकिएका केही अस्पताल र सेवा प्रदायक संस्थामा सिटामोलसमेत नपाएको गुनासो गरेका छन्।
सुदूरपश्चिम प्रदेशमा सेती प्रादेशिक अस्पतालसहित सेवा प्रदायक अन्य अस्पताल, स्वास्थ्य संस्थाका फार्मेसीमा बिमित सेवाग्राहीलाई उपलब्ध गराउन सूचीकृत औषधिमध्ये धेरैजसो पाइँदैनन्। बिमित बिरामीले अस्पतालका फार्मेसीमा स्वास्थ्य बिमाअन्तर्गत पाउनुपर्ने औषधि नपाएर निजी मेडिकलमा किन्नुपरेको छ।
परिवारमा पाँच जना सदस्य भएकाले स्वास्थ्य बिमावातत वार्षिक तीन हजार पाँच सय रुपैयाँ तिर्नुपर्छ। यसबापत परिवारका सदस्यले तोकिएका अस्पतलामा एक लाख रुपैयाँ बराबरको उपचार निःशुल्क पाउँछन्।
बिमा बोर्डसँग सम्झौता भएबमोजिमको दररेटमा बिरामीलाई औषधि र अन्य सेवा उपलब्ध गराएर बोर्डबाट अस्पतालले त्यसबापतको रकमको भुक्तानी लिने गरेको संयोजक बिष्टले बताए। निजी अस्पतालमा भने आकस्मिक उपचार गर्नुपर्ने बिरामीलाई मात्र स्वास्थ्य बिमा सुविधा दिने गरिएको उनले बताए।
प्रकाशित: २० असार २०८३ १०:१७ शनिबार





