२२ पुस २०८२ मंगलबार
image/svg+xml
स्वास्थ्य

विश्व दृष्टि दिवसमा आँखाबारे सचेतना

विराटनगर स्थित रामलाल गोल्छा आँखा अस्पतालले विश्व दृष्टि दिवसका अवसरमा विराटनगर महानगरपालिकाका स्वास्थ्य स्वयंसेविकाहरूलाई आँखा सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।  

आँखामा लाग्ने रोगहरू, हालैको बाढी पछि आँखामा देखिनसक्ने संक्रमण, संक्रमण रोक्ने उपायका विषयमा जानकारी दिने उद्देश्यले सचेतना कार्यक्रम आयोजना गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका प्रबन्धक नविन राजवंशीले स्वास्थ्य स्वयं सेविकालाई अभिमुखीकरण बाहेक अस्पतालले विश्वदृष्टि दिवसका अवसरमा बिहीबार अस्पतालका उपचारका लागि आउने १६ वर्ष मुनिका बालबालिका र ६० वर्ष माथिका जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण पनि गरिएको जानकारी दिए । यस्तै विश्व दृष्टि दिवसकै अवसरमा  विद्यालयका विद्यार्थीहरूवीच आँखा सम्बन्धी सचेतनामुलक चित्रकला प्रतियोगितासमेत आयोजना गरिने राजवंशीले बताए ।

कार्यक्रममा अस्पतालकी बाल आँखा रोग विशेषज्ञ डा इशा श्रेष्ठले सामान्य सावधानी अपनाउने र समयमै अस्पतालमा उपचारका लागि ल्याउने हो भने पनि बालबालिकाको आँखा जोगाउन सकिने बताइन ।  

उनले गोल्छा अस्पतालमा उपचारका लागि आउने बालबालिकाहरूमा दृष्टि दोषको समस्या सबै भन्दा बढी देखिएको बताइन्  । डा श्रेष्ठले भनिन् ‘ बालबालिकामा मोवाइल, टीभी बढी हेर्ने कारणले दृष्टि दोष सम्बन्धी धेरै समस्या देखिन थालेको छ ।’ यस्तै कतिपय बालबालिकाको जन्मजात नै पनि आँखामा समस्या देखिने गरेको  उनले बताइन् । उनले बालबालिकाको आँखामा दृष्टि दोष सम्बन्धी कुनै समस्या भए तत्कालै अस्पतालमा उपचारलागि अस्पताल लैजान सुझाव दिइन् ।  

कार्यक्रममा आँखा रोग विशेषज्ञ डा जितेन्द्र झाले बाढी पहिरोका कारण, फोहोर पानी र सरसफाइमा कमीका कारण  आँखामा संक्रमण हुन सक्ने भएकाले  सकभर आँखा नछुन, छुनुपरे हात सफागरेर मात्रै आँखा छुन आग्रह गरे । उनका अनुसार बाढी पहिरोपछि प्रभावित क्षेत्रका मानिसहरूमा आँखा पाक्ने, आँखाको नानीमा संक्रमण हुने समस्या देखिन सक्ने बताए । त्यस्तै नजिकिंदै गरेको तिहारमा पटका र पटकाजन्य पदार्थहरू पड्काउँदा आँखालाई असर गर्ने भएकाले त्यस्ता सामाग्री नपड्काउने , पड्काउनै परे विशेष सावधानी अपनाउन आग्रह गरे ।  

 

प्रकाशित: २३ आश्विन २०८२ १५:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App