१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

बुटवल उपमहानगर पूर्ण खोप सुनिश्चित घोषणा

नगर प्रमुख खेलराज पाण्डेलाई पूर्ण खोप सुनिश्चित भएको प्रमाण पत्र प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे र जिल्ला समन्वय समिति प्रमुख उमाकान्त चापाइँ। तस्बिर: नागरिक

रुपन्देहीको बुटवल उपमहानगरपालिका पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा गरिएको छ। सोमबार बुटवलमा आयोजित एक कार्यक्रमकाबीच १२ वर्षमाथिका उमेर समूहको कोभिड-१९ विरुद्धको पूर्ण खोप सुनिश्चितता उपमहानगर तथा नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा गरिएको हो।

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवललाई पूर्ण खोप सुनिश्चित गर्नका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेको भन्दै पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा गरेको जानकारी दिए। बुटवल उपमहानगरपालिकामा खोप लगाउन बाँकी रहेका पूर्ण खोपका लागि आह्वान गर्दै खोप केन्द्र मार्फत सेवा प्रदान गरिएको नगरप्रमुख पाण्डेले जानकारी दिए। 

उनले तथ्यांक संकलकहरुलाई अभिमूखीकरण गरी खोप नलगाउने तथा छुट नागरिकहरुको तथ्यांक संकलन, जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा प्रचार प्रसार, छुट नागरिकहरुलाई खोप सेवा प्रदान, वडाबाट रेण्डम सर्वेक्षण, सबै वडाहरुको पूणर् खोप घोषणा गरी दिगोपना सुनिश्चित गरिएको बताए।  घोषणा कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेको बताए।  

उनले स्वास्थ्य र शिक्षामा स्थानीय सरकारसँग सहकार्य र समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने बताए। उनले कोभिड १९ महामारी नियन्त्रणमा स्थानीय सरकारको भूमिका प्रशंसनीय रहेको भन्दै आगामी दिनमा प्रदेश सरकारले स्वास्थ्यका अधिकांश कार्यक्रम स्थानीय सरकारसँग सहकार्यमै सञ्चालन गर्ने बताए।

मुख्यमन्त्री केसीले प्रदेश सरकारको चुलो सुधार कार्यक्रम स्थानीय सरकारसँगको सहकार्यमा महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई परिचालन गर्ने तयारी गरेको बताए। ‘गाउँ टोलसम्म पुगेका महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई नै परिचालन गर्ने गरी चुलो सुधार कार्यक्रम हामीले बुटवल उपमहानगरपालिकाबाटै सुरु गर्ने तयारी गरेका छौं’,उनले भने,' यसमा बुटवलका प्रमुखसँग छलफल गरी कुन मोडलमा सञ्चालन गर्ने टुंगो लगाउँछौं।’  

कार्यक्रममा बोल्दै स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले आगामी समयमा हुनसक्ने स्वास्थ्य चुनौतीको सामना गर्नका लागि प्रदेश सरकारले स्थानीय सरकारसँग सहकार्य गर्दै कार्यक्रमहरु सञ्चालन गर्ने बताए। उनले कोभिडकालमा स्थानीय सरकारको भूमिकाकै कारण महामारी नियन्त्रणमा प्रभावकारी काम हुन सकेको बताए।

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलले बुटवलभित्र र बुटवलबाहिरका नागरिकलाई समेत कोभिडकालमा सेवा प्रदान गरेको बताइन्। उनले बुटवलमा खोेप सुनिश्चित भएको र खोप लगाउन बाँकी रहेकाहरुलाई खोप लिन आह्वान गरिन्। 

उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले उपमहानगरपालिकालाई पूर्ण खोप घोषणा गर्नका लागि जिल्ला खोप समन्वय समितिलाई भेरिफिकेसन तथा अनुमति प्रदान गर्न पालिकाबाट सिफारिस, जिल्ला खोप समन्वय समितिबाट भेरिफिकेसन गरी पूर्ण खोप गर्न अनुमति प्रदान भएको जानकारी गराए।

उनले बुटवलमा रहेका १ लाख ९५ हजार ५६५ मध्य १२ वर्ष माथि पूणर् खोप लगाएका १ लाख ५७ हजार ३९३ जनालाई खोप लगाईएको जानकारी दिए। उनले ९ हजार ८६५ जनालाई खोजेर र नगर बाहिरका २२ हजार ६६३ जनालाई खोप लगाईएको जानकारी दिए।

कार्यक्रममा कोभिड १९ नियन्त्रणका लागि बुटवल उपमहानगरपालिकासँग सहकार्य गर्ने प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय, सामाजिक तथा गैरसरकारी संघ संस्थाहरु, स्वास्थ्यकर्मीहरु, स्वास्थ्य स्वयमसेविकाहरु, उपमहानगरपालिकाका कर्मचारीहरुलाई सम्मान गरिएको थियो।

प्रकाशित: २७ असार २०७९ १२:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App