८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

बाँकेमा रगतको अभाव हट्यो

बाँके जिल्लामा केही समयअघि भएको रगतको अभाव अहिले टरेको छ। जिल्ला रेडक्रसको आह्वानमा रक्तदाता स्वयंसेवकको संख्या दिन-प्रतिदिन बढ्दै गएपछि रगतको अभाव टरेको हो।

'हामीले जिल्लाका विभिन्न सामाजिक तथा पेशागत संस्थालाई आग्रह गरेपछि रक्तदाताको संख्या बढेको र अहिले अभाव पनि टरेको छ,' जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत नरेश श्रेष्ठले भने।

उनका अनुसार केन्द्रले सङ्कलन गर्ने रगतमध्ये ८८ प्रतिशत संस्थागत तथा बाँकी व्यक्तिगत स्वयंसेवकको रहेको छ। रेडक्रसको नेपालगञ्ज र कोहलपुरस्थित रक्तसञ्चार केन्द्रले आवश्यक पर्ने बिरामीका लागि दैनिक सरदर ८० पिन्ट रगत उपलब्ध गराउँदै आएको छ। अस्पतालहरूमा बिरामीको चाप कम भएका कारण रगतको माग पनि घटेको अधिकृत श्रेष्ठले बताए।

यसैगरी रगतको अभावमा कुनै पनि बिरामीको ज्यान नजाओस् भन्ने उद्देश्यले स्वयंसेवकको सङ्ख्या अझ वृद्धि गर्न जिल्ला रेडक्रसले प्रचारमुखी अभियान पनि सञ्चालन गर्दै आएको छ। जिल्लामा रक्त सङ्कलनमा बढोत्तरी भएपछि रगतको अभावमा बिरामीका आफन्त भौतारिनुपर्ने र बिरामीको अकालमा ज्यान जाने अवस्थासमेत अन्त्य भएको जनाइएको छ।

स्वयंसेवक रक्तदाताका अलावा जिल्लाका राजनीतिक दलका कार्यकर्ता, विभिन्न सामाजिक तथा पेशागत सङ्घ, सङ्गठनले समय–समयमा गर्ने रक्तदानले रगतको अभाव हुन नदिन ठूलो सहयोग पुर्‍याए पनि रक्तदानका लागि महिलाको सहभागिता पुरुषको तुलनामा कम भएकाले उनीहरूको सहभागिता बढाउने प्रयास पनि केन्द्रले थालनी गरेको छ।

जिल्ला रेडक्रसका अध्यक्ष गोवर्धनसिंह सम्झनाका अनुसार केन्द्रद्वारा सङ्कलित रगतमध्ये सबैभन्दा बढी रगत गर्भवती, सिकलसेल र रजस्वलाका कारण रक्तअल्पता हुने महिलाहरूमा प्रयोग हुने गरेको छ। 

प्रकाशित: ७ असार २०७९ ०६:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App