६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

कोभिड खोपमा लापरबाहीः प्रतिवेदन

नेपालमा जारी कोभिड १९ विरुद्धको खोपमा लापरवाही भएको अध्ययन समितिले औंल्याएको छ।

२४ लाख डोज खोप हिनामिना भएको कुरा समाचारमा आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ १६ गते कोभिड १९ विरुद्धको खोप अध्ययन समिति गठन गरेको थियो। मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा बनेको पाँच सदस्यीय समितिले खोप अभियानमा लापरवाही भएको प्रतिवेदन मंगलबार मन्त्री विरोध खतिवडालाई बुझाएको छ।

माघ २१ गतेभित्र प्राप्त रिपोर्टअनुसार ७७ वटै जिल्लाका सबै स्थानीय निकायबाट एकैदिन डिएचआइसमार्फत तथ्याँक प्रविष्ट गर्ने भनिएकोमा ७ प्रदेशका ७ जिल्ला र ७ सय ४४ वटा निकायबाट मात्र तथ्यांक प्राप्त हुन सकेको र १० वटा नगरपालिकाबाट तथ्यांक प्राप्त हुन नसकेको प्रतिवेदनमा उल्लेख छ।

नेपाललाई प्राप्त खोपभन्दा बढी डोज लगाइएको तथ्याँक फेला परेको तर ५६ हजार ९ सय ८ डोज खोप समयमै प्रयोग गर्न नसक्दा खेर गएको, ४ लाख ५५ हजार ३ सय ५५ डोज खोेप बढी देखिएको, केही जिल्लामा स्थानीय तहमा हस्तान्तरण फारम, मौज्दात र खोप विवरणको अभिलेख नियमित र पूर्ण रूपमा अद्यावधिक हुन नसकेको, खोप मौज्दात पूर्ण रूपमा एलएमआइएसमा प्रविष्ट हुन नसकेको प्रतिवेदनले आंैल्याएको छ।

खोप दिने स्वास्थ्य संस्थाले खोप कभरेजको अभिलेख रजिष्टर पूर्ण प्रयोग गर्न नसकेको, निःशुल्क रूपमा दिइरहेको कोभिड १९ विरुद्धको खोपलाई कतिपयले पैसा तिरेर लगाएको गुनासो आएको र यस सम्बन्धमा उजुरीका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा मुद्दा दायर भएको प्रतिवेदनमा उल्लेख छ।

लक्षित वर्गबाहेकका व्यक्तिले खोप लगाएको, प्राथमिकतामा नपरेका उमेर समूहले समेत पहिलो डोज भन्दै बुस्टर डोजसम्म लिएको, खोप अभियान पूर्ण व्यवस्थित गर्न नसकिएको पाइएको प्रतिवेदनमा उल्लेख छ। 

तोकिएको भन्दा ४ लाख ५५ हजार ३ सय ५५ डोज बढी हुनुमा फाइजर, मोर्डना र अस्ट्रजेनिकाको खोपमा हुने भाइल पनि कारण भएको खोप शाखाका पूर्वप्रमुख डा. झलक शर्माले बताए। उनले नेपालमा मात्र नभई भारतमासमेत एक भाइलमा भनिएको भन्दा बढी डोज खोप प्रयोगमा आएको पाइएको बताए। ‘नेपालमा मात्र नभई भारतमा पनि भाइलबाट खोप दिँदा बढी देखिएको जानकारी पाएको छु,’ गौतमले भने।  

नेपालले हालसम्म विभिन्न माध्यमबाट ४ करोड ५७ लाख ८ हजार ६ सय ४० डोज खोप प्राप्त गरेको छ। तीमध्ये माघ २१ सम्म ३ करोड ३८ लाख २६ हजार ३ सय ३० डोज खोप लगाइसकिएको छ। भण्डारणमा भने १ करोड २३ लाख ३७ हजार ६ सय ६५ डोज खोप रहेको प्रतिवेदनमा उल्लेख छ। यो हिसाबले मौज्दात खोप र प्रयोग भएको खोप हेर्दा ४ लाख ५५ हजार ३ सय ५५ डोज बढी प्रयोग भएको देखिएको हो।  

खोप अभियानमा व्यापक लापरवाही भेटिएपछि गठन गरिएको अध्ययन समितिले उपलब्ध तथ्याँक र स्रोतका आधारमा तयार पारेको प्रतिवेदन तीन तहको सरकारबीच प्रभावकारी समन्वय गर्नुपर्ने, स्थानीय तहमा खोप कार्यक्रम अभिलेख तथा मौज्दात अनुगमनसहितकोजिम्मेवारी जिल्ला स्वास्थ्य कार्यालयलाई दिनुपर्ने, सबै खोप भण्डारणमा खोपको नाम उल्लेख गर्नुपर्ने सुझाव दिइएको छ।

त्यसैगरी खोप व्यवस्थापन महाशाखा, प्रदेश स्वास्थ्य आपूर्ति महाशाखा र स्वास्थ्य कार्यालयहरूले खोपको प्राप्ति र निकासीको अभिलेख राख्ने, स्थानीय स्वास्थ्य संस्थाले खोप कार्यक्रमको विवरण अनिवार्य रूपमा तोकिएको रजिष्टरमा भर्ने व्यवस्था गर्न पनि सुझाइएको छ। 

प्रकाशित: ५ फाल्गुन २०७८ ००:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App