सात करोडभन्दा बढी गैरकानुनीरुपमा अकुत सम्पत्ति कमाएको अभियोग लागेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पुर्वउपकूलपति प्रा.डा.वीपी दाससँग बिशेष अदालतले १ करोड धरौटी मागेको छ।
सोमबार बिशेष अदालतका न्यायधिशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको संयुक्त इजलासले दाससँग १ करोड धरौटी माग गर्ने आदेश दिएको थियो। दासकी श्रीमति पुनमको हकमा भने साधारण तारेखको आदेश दिएको बिशेष अदालतका उपरजिष्ट्रार तथा प्रवक्ता दिपेन्द्रनाथ योगीले जानकारी दिए।
उनका अनुसार डा.दासले धरौटी माग भए वमोजिमको १ करोडको बैंक ग्यारेन्टी ल्याएपछि बाहिरै बसेर पुर्पक्ष गर्न पाउने भएका छन्। ‘श्रीमति र उहाँको बयान थियो, बयान सकेपछि श्रमितिलाई साधारण तारेखको आदेश भयो। दासलाई भने १ करोड धरौटी माग गर्ने आदेश थियो,’ प्रवक्ता योगीले भने, ‘उहाँले सनराइज बैंकबाट ग्यारेन्टी ल्याएकोले पुर्पक्षमा थुनामा जान नपर्ने भयो, बाहिरै बसेर पुर्पक्ष गर्न पाउने भएको छ। मुद्दा सकिएको होइन।’
वीपी प्रतिष्ठानबाट भ्रष्टचार गरी अकुत सम्पत्ति कमाएको भन्दै डा.दास र उनकी श्रीमति पुनमलाई अख्तियारले २०७७ भदौ ३० गते बिशेष अदालतमा मुद्दा दायर गरेको थियो। डा.दासले ७ करोड ७१ लाख ९२ हजार ८६० रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारको अभियोग थियो। डा. दास २०५० सालमा जुनियर रजिष्ट्रारबाट प्रतिष्ठानमा सेवा प्रवेश गरेका थिए। उनी अस्पताल निर्देशक एक कार्यकाल भए भने २०६८ सालमा उपकूलपति भएका थिए। त्यसपछि पनि उनी प्रतिष्ठानमा प्राध्यापकको रुपमा कार्यरत थिए।
२०५० सालदेखि २०७६ सालसम्मको अवधिमा उनले १५ करोड ३२ लाख ३ हजार ३५० रुपैयाँ खर्च तथा लगानी गरेको पाइएको अख्तियारले जनाएको थियो। तर, उनको बैध आय भने ७ करोड ७० लाख १० हजार ४ सय ९८ रुपैयाँ मात्र देखिएको अख्तियारको अभियोग पत्रमा उल्लेख थियो।
योभन्दा अघि पनि डा. दासलाई अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरिसकेको थियो। उनीसहित प्रतिष्ठानका पुर्व रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, अस्पताल निर्देशक डा.अरविन्द सिन्हा, रजिष्ट्रार नन्दबहादुर थापा, डेपुटी रजिष्ट्रार अमित श्रीवास्तवलगायतलाई अख्तियार दुरुपयोग आयोगले भ्रष्टचार मुद्दा दायर गरेको थियो।
प्रकाशित: २२ भाद्र २०७८ १४:०४ मंगलबार