६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

मागकर्ताले नै विशेष महाधिवेशन बोलाए, गगन–विश्वले समर्थन जनाए

नेपाली कांग्रेसमा लामो विवादका बिच विशेष महाधिवेशन मागकर्ताहरूले नै यही पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशन आह्वान गरेका छन्। बुधवार दिउँसो पत्रकार सम्मेलन गरेर विशेष महाधिवेशन मागकर्ताका तर्फबाट केही केन्द्रीय सदस्यसमेतको उपस्थितिमा विशेष महाधिवेशनको आह्वान गरिएको छ। 

पत्रकार सम्मेलनअघि महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मा आफै उपस्थित भएर विशेष महाधिवेशन आह्वान गर्ने भनिएको थियो। तर, पत्रकार सम्मेलनमा दुवै जना उपस्थित भएनन्। 

यद्यपि केन्द्रीय सदस्यहरू अजयबाबु सिवाकोटी, प्रकाश स्नेही, प्रतिमा गौतम, नेताहरू सुवास पोख्रेल, जगदीश नरसिंह केसीलगायतले पत्रकार सम्मेलनमा पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने घोषणा गरे। सँगै तयारीका लागि १८ विभिन्न समितिहरूको पनि घोषणा गरेका थिए। 

भदौ २३ को जेन–जी आन्दोलन र २४ गतेको विध्वंसपछि कांग्रेसभित्र विशेष महाधिवेशनको माग उठेको थियो। महामन्त्री द्वय गगन र विश्वकै सल्लाह बमोजिम जिल्ला–जिल्लामा हस्ताक्षर संकलन भयो। सोही क्रममा दुई हजार ४८८ जना अर्थात् ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन भएको दाबी गरिएको छ। उक्त हस्ताक्षर असोज २८ गते कांग्रेसको केन्द्रीय कार्यालयमा बुझाइएको थियो। 

सोही बेला कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पनि सुरु भएको थियो। जहाँ नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्ने विषयमा लामै विवाद चलिरह्यो। संस्थापन र इतर पक्षका नेता डा. शेखर कोइराला समेतले विशेष महाधिवेशनले पार्टी विभाजन हुने भन्दै नियमितमै जोड दिए। 

नियमित महाधिवेशन पनि फागुन २१ को निर्वाचन अघि कि पछि भन्ने विवादले लामै समय खाएको थियो। संस्थापन पक्षमै पनि २५ जना भन्दा बढी केन्द्रीय सदस्य निर्वाचन अघि नै महाधिवेशन हुनुपर्नेमा मत राखिरहेका थिए। 

अन्तमा सभापति शेरबहादुर देउवाकै समन्वयमा मंसिर १५ गते केन्द्रीय समिति बैठकले पुस २६ देखि २९ गतेसम्मको १५ औँ महाधिवेशनको कार्य तालिका ल्याएको थियो। तर, क्रियाशील सदस्यता समयमै नटुङ्गिँदा त्यो सम्भव हुन सकेन। 

यसबिचमा पुस १८ गतेको कार्य सम्पादन समितिको बैठकले वैशाख अन्तिम साता हुने गरी १५ औँ महाधिवेशनको संशोधित कार्य तालिका ल्याएको थियो। त्यसमा महामन्त्री द्वय गगन–विश्व, सहमहामन्त्री फरमुल्लाह मन्सुर, नेता अर्जुनरसिंह केसी र उमा रेग्मीको मात्रै फरक मत रह्यो। पाँचै जनाले पुस मसान्तभित्रै विशेष महाधिवेशन हुनै पर्ने अडान राखेका थिए। तर, कार्यसम्पादन समितिले नियमित महाधिवेशनमा प्रवेश गरिसकेको अवस्था देखाउँदै विशेष महाधिवेशनको औचित्य समाप्त भएको निर्णय गरेको छ। 

यता महामन्त्री द्वय गगन–विश्वले लगातार केन्द्रीय कार्य समितिबाटै विशेष महाधिवेशन हुनुपर्ने भन्दै दबाब दिइरहेका थिए। केन्द्रीय समितिले त्यसको औचित्य नै सकिएको भन्दै टारिदियो। 

त्यसपछि महामन्त्री गगनले सार्वजनिक सञ्चारमाध्यममा केन्द्रीय समितिले नगरे केन्द्रीय कार्यालयका तर्फबाट दुवै जना महामन्त्रीहरूले नै विशेष महाधिवेशन बोलाउने पनि चेतावनी दिएका थिए। पत्रकारसँग कुराकानी गर्दै ‘पार्टी केन्द्र भनेको केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यालय हो, केन्द्रीय कार्यालय भनेको महामन्त्री हो। त्यसैले केन्द्रीय कार्यालयका तर्फबाट महामन्त्रीहरू नै विशेष महाधिवेशन बोलाउँछौँ’ भनेर बोलेका थिए। 

तर, बुधवार भने विशेष महाधिवेशन नै आह्वान गर्दा दुवै जना अगाडि नआएर विशेष महाधिवेशन मागकर्तालाई नै अगाडि सारेका छन्। विशेष महाधिवेशन मागकर्ता पक्षले यता पत्रकार सम्मेलन गरिरहँदा महामन्त्री गगन थापा उता नक्सालको एक होटेलमा बुद्धिजीवी र केही नेताहरूसँग छलफल गरिरहेका थिए। तर त्यो कार्यक्रममा अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने देखिएका थिएनन्। युवा नेता प्रदीप पौडेल भने सहभागी थिए। 

ऐक्यबद्धताको रणनीति 

महामन्त्री द्वय गगन–विश्व विशेष महाधिवेशन आह्वान गर्न आफै अग्रसर नभए पनि ‘ऐक्यबद्धता’को रणनीतिमा भने प्रस्तुत भएका छन्। मागकर्ताले दिउँसो पत्रकार सम्मेलन गरेर विशेष महाधिवेशन आह्वान गरेपछि दुवै जनाले साँझ संयुक्त वक्तव्य जारी गर्दै ‘विशेष महाधिवेशनमा सहभागी हुन आह्वान’ भने गरेका छन्। 

वक्तव्यमा ‘कांग्रेसको विधान पालना गर्दै पार्टीलाई जीवन्त बनाऔँ’ भनेर नारा पनि दिएका छन्। पार्टीको विधानको धारा १७ (२) मा रहेको व्यवस्थाअनुसार नै माग गरिएको विशेष महाधिवेशन तीन महिनाभित्र सम्पन्न गर्नु केन्द्रको जिम्मेवारीको विषय रहेको ठहर गर्दै ‘केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन बोलाउनु उपयुक्त हुन्छ भनेर’ आफूहरूले अधिकतम प्रयास गर्दा पनि सम्भव नभएको उल्लेख छ। 

‘महाधिवेशन प्रतिनिधिहरूद्वारा गरिएको विशेष महाधिवेशनको मागप्रति हाम्रो ऐक्यबद्धता रहेको छ,’ महामन्त्री द्वयको वक्तव्यमा भनिएको छ, ‘पुस २८ भित्र विशेष महाधिवेशन गर्नको लागि हस्ताक्षरकर्ता महाधिवेशन प्रतिनिधिको तर्फबाट भएको प्रयास महाधिवेशन प्रतिनिधिको वैधानिक अधिकार हो।’ तय भएको विशेष महाधिवेशन कानुनी र राजनीतिक रूपमा समेत अपरिहार्य र बाध्यकारी बनेको दुवै महामन्त्रीको दाबी छ।

‘विधानबमोजिम बाध्यकारी रहेको विशेष महाधिवेशन नबोलाउनु, विधानको पालना नगर्नु, जिम्मेवारी बमोजिम काम नगर्नु विधान र राजनीतिक दल सम्बन्धी कानुनको समेत विपरीत हो,’ वक्तव्यमा भनिएको छ। 

यस्तै विशेष महाधिवेशनमा सहभागी भई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई महामन्त्री द्वयले आह्वान गरेका छन्। 

केन्द्रीय कार्यालय भन्यो–विधान विपरीत गतिविधिमा सहभागी नहुनु

उता विशेष महाधिवेशन मागकर्ता पक्षले विशेष महाधिवेशन बोलाएपछि कांग्रेसको केन्द्रीय कार्यालयले भने कुनै महाधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्यसमितिसँग मात्रै रहेको बताउँदै अवैध गतिविधि नगर्न चेतावनी दिएको छ। 

पार्टी केन्द्रीय कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार साँझ एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्।

विज्ञप्तिमा केन्द्रीय कार्यसमितिले सर्वसम्मत निर्णयबाट कार्य तालिका तयार गरी महाधिवेशनको प्रक्रिया र कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा माग गरिएको विशेष महाधिवेशनको औचित्य समाप्त भएको यथार्थलाई बेवास्ता गरी विशेष महाधिवेशन आह्वान गरिएको भन्ने विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।

‘यस सन्दर्भमा स्पष्ट पारिन्छ कि पार्टीको विधानमा व्यवस्था भए बमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केवल पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको छ,’ विज्ञप्तिमा भनिएको छ। 

यस्तै ‘पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधान विपरीत हुने’ विज्ञप्तिमा भनिएको छ। ‘त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यहरू, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, भ्रातृ एवं शुभेच्छुक संस्था तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्यहरूलाई नेपाली कांग्रेस हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: २३ पुस २०८२ १९:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App