१७ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

जनशक्ति अभावले भेन्टिलेटर प्रयोगबिहिन

इलाम अस्पतालमा ३ महिनादेखि प्रयोगविहीन बनेको भेन्टिलेटर। तस्बिर: नागरिक

इलाम अस्पतालमा रहेको भेन्टिलेटर जनशक्ति अभावमा थन्किएपछि स्वासप्रश्वासका गम्भीर बिरामीलाई समस्या हुने देखिएको छ। दोस्रो लहरको कोरोना संक्रमण बढेर देशमा कतै उपकरण र कतै जनशक्ति अभाव भइरहेका बेला इलाममा लामो प्रतीक्षापछि आएको भेन्टिलेटर चाहिँ ‘सिसाको बाकसमा सजाइएको उपहार’मात्रै भएको छ।

संघीय सरकारको करिब ४० लाख रुपैयाँ खर्चेर ल्याएको भेन्टिलेटर स्वासप्रश्वासका गम्भीर बिरामीका लागि प्रयोग हुनुपर्ने हो। तर, सञ्चालन गर्ने जनशक्ति नै नहुँदा बिरामीले आफ्नै जिल्लाको सरकारी अस्पतालमा रहेको भेन्टिलेटरको सुविधा लिन नसक्ने भएका छन्। कोरोना संक्रमितलाई स्वासप्रश्वास समस्याले भेन्टिलेटर चाहिने अवस्था आए जिल्लाबाहिरका अस्पताल धाउनुपर्ने बाध्यता आइलाग्दैछ ।  

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक तथा सिडिओ ध्रुवबहादुर खड्काले अस्पतालमा रहेको भेन्टिलेटर जनशक्ति अभावले थन्किएको बताए। ‘धन्य अहिलेसम्म यहाँको अस्पतालमा गम्भीर प्रकृतिका संक्रमित आएका छैनन्,’ उनले भने, ‘भेन्टिलेटर छ तर बिरामीलाई आवश्यक परेका बेला प्रयोग गर्नसक्ने अवस्था छैन।’ उनले भेन्टिलेटर सञ्चालन गर्दा अन्य रोगका विशेषज्ञसमेत आवश्यक पर्ने भएकाले भएको सुविधासमेत प्रयोग हुन नसक्ने अवस्था रहेको जनाए।  

जिल्लामा बुधबार साँझसम्म ९९ जनालाई कोरोना पुष्टि भइसकेको छ। तर, तीमध्ये २ जनामात्रै इलाम अस्पतालमा उपचाररत छन्। अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले अहिलेसम्म भेन्टिलेटर प्रयोग हुन नसकेको बताए। ‘हुन त अहिलेसम्म भेन्टिलेटर चाहिने बिरामी अस्पतालमा आएका पनि छैनन,’ उनले भने, ‘भेन्टिलेटर सञ्चालन गर्ने एनेस्थेसियोलोजिस्ट चाहिँ अस्पतालमा छन् तर भेन्टिलेटरसँगै आवश्यक पर्ने अन्य विशेषज्ञ नहुँदा सुविधा लिनसक्ने अवस्था छैन ।’  

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रभु शाहले तालुकदार मन्त्रालयबाट पटक–पटक अस्पतालमा जनशक्तिको अवस्था/अभाव कस्तो छ भनेर सोधिरहेको तर दरबन्दी पदपूर्ति चाहिँ नभएको बताए। उनले आफूले पटक–पटक जनशक्ति थप्न पत्राचार गरेको जनाए। ‘माथिबाट २/३ दिनको फरकमा अस्पतालमा दरबन्दी कस्तो छ, केही अभाव छ कि भनेर चिठी आइरहन्छ,’ डा.शाहले भने, ‘हामी जवाफ र अस्पतालको माग पठाउँछौं। तर, केही दिनमा फेरि पहिलेकै जस्तो पत्र चाउँछ, जनशक्ति आउँदैन।’ उनले जनशक्ति अभावकै कारण ३ महिनादेखि भेन्टिलेटर र प्रयोगविहीन भएको बताए।

कोरोना संक्रमितका लागि इलाम अस्पतालले २० जनाको आइसोलेसन तयार गरेको छ। आइसोलेसनमा एउटा बाइप्याप मेसिनसमेत तयारी अवस्थामा छ । व्यवस्थापक खतिवडाका अनुसार आवश्यक परे आइसोलेसनमा अझ केही शय्या थप्न सकिन्छ। ‘त्यतिले पनि नपुगे ५० शय्याको इलाम अस्पताललाई नै कोभिड अस्पतालमा रूपान्तरण गर्न सकिन्छ,’ उनले भने, ‘अहिले चाहिँ छिटफुट रूपमा मात्रै संक्रमित अस्पताल आइरहेका छन्।’ १४ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा स्थायी डाक्टर एकजना (स्त्री रोग विशेषज्ञ) मात्रै छन्। २ मेडिकल अधिकृत, ३ कन्सल्ट्यान्ट र ३ डेन्टल सर्जन अस्पतालमा कार्यरत रहेको उनले बताए। ५९ स्वास्थ्यकर्मीको दरबन्दी रहेको अस्पतालमा २७ दरबन्दी पदपूर्ति भएको अस्पतालले जनाएको छ।  

स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका कोरोना संक्रमितमध्ये धेरै बिरामी अहिले घर–घरमै आइसोलेसनमा छन्। केहीले झापा, विराटनगर र अन्य स्थानका अस्पतालमा उपचार गराइरहेको कार्यालयले जनाएको छ। कार्यालयका कोभिड फोकल पर्सन विमल बरालले इलाम अस्पतालबाहेक जिल्लाका केही स्थानीय तहमा कोभिड अस्पताल तयारी अवस्थामा रहेको बताए। ‘जिल्लामा महामारीको अवस्था कस्तो हुन्छ भनेर अनुमान गर्न सकिँदैन तर केही स्थानीय तहमा अस्पताल तयार छन्, केहीमा तयार गरिँदैछ,’ उनले भने, ‘जिल्लाका प्राथमिक स्वास्थ्य केन्द्रमा जनशक्ति पनि धेरै अभाव छैन।’  

जिल्लाको मंगलबारे, फिक्कल, पशुपतिनगर र प्याङमा प्राथमिक स्वास्थ्य केन्द्र छन्। ती केन्द्रमा जनशक्ति पनि भएकाले उपचारमा खास समस्या छैन । माई नगरपालिका र रोङ गाउँपालिकालगायत स्थानीय तहमा ५ देखि १५ शय्यासम्मका कोभिड अस्पताल रहेको कार्यालयले जनाएको छ।  

भारतीय सीमासँग जोडिएको सूर्याेदय नगरपालिकाले पशुपतिनगरमा २५ शय्याको आइसोलेसन व्यवस्थापन गर्दैछ। मेयर रणबहादुर राईले पशुपतिनगर नाकामा संक्रमितलाई अलग्गै बस्ने व्यवस्था मिलाउन लागिएको बताए। ‘यहाँका होटलमा आइसोलेसन तयार गर्दैछौं,’ उनले भने, ‘केही समयपछि आइसोलेसन तयार हुन्छ।’  

सूर्याेदयले नाकाबाट भित्रिने नेपालीलाई घर पुग्ने छुट्टै सवारी साधन व्यवस्था नहुञ्जेल यहाँको सूचना केन्द्रमा राख्ने व्यवस्था (होल्डिङ) मिलाएको छ। ‘नाकाबाट भारतीयलाई आउन दिइएको छैन, नाकाबाट हेल्प डेस्कमा आएका नेपालीलाई चाहिँ मापदण्ड पुगेको रहेछ भने एन्टिजिनसम्म जाँच गरिन्छ,’ उनले भने, ‘उसले आफ्नै खर्चमा स्थानीय होटलमा सुरक्षित र अलग्गै बस्नसक्ने व्यवस्था पनि छ।’ मेयर राईले भारतसँग सीमा जोडिएका सूर्याेदय नगर, रोङ र माइजोगमाई गाउँपालिकासहित जिल्लाका सुरक्षा निकाय सम्मिलित बैठक बसेर सीमामा कोरोना नियन्त्रणको बेग्लै योजना बनाउने बताए। 

प्रकाशित: २३ वैशाख २०७८ ०५:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App