तनहुँको आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको सेवा विस्तार भएको छ। गाउँपालिकाले सञ्चालन गरेको यो अस्पतालमा पालिकाको आन्तरिक स्रोतबाट विशेषज्ञ चिकित्सकको व्यवस्था गरिएपछि यो सेवा सुरु भएको हो।
गाउँपालिकाले आन्तरिक स्रोतबाट हाडजोर्नी विशेषज्ञ डा. राजकुमार शाहलाई नियुक्त गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। अस्पतालमा सेवा विस्तार गर्ने क्रममा हाडजोर्नीका बिरामीलाई सहज रूपमा पालिकामै सेवा दिने उद्देश्यसहित हाडजोर्नी चिकित्सकको व्यवस्थापन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका चुमानले बताए।
चुमानले भने, ‘पालिकास्तरीय अस्पतालमा नयाँ सेवा विस्तार गर्ने अभियानअन्तर्गत हाडजोर्नी र नशारोग विशेषज्ञलाई पालिकाको आन्तरिक आम्दानीबाट तलब दिएर अनुबन्ध गरेका छौं। यसले आँबुखैरेनीका बासिन्दाले अब सहज रूपमा यस्तो सेवा पाउनेछन्।’
हाडजोर्नी र नशारोगको उपचारका लागि चितवन, पोखरा, काठमाडौं जानुपर्ने बाध्यताको अब अन्त्य हुने उनको भनाइ छ। उनले भने, ‘विशेषज्ञ सेवा गाउँमै उपलब्ध गराउँदा जनताको समय, पैसा र श्रमको बचत हुने विश्वास लिएका छौं। यसले गुणस्तरीय स्वास्थ्य सेवा गाउँमै सुनिश्चित गर्ने अभियानलाई थप बल मिलेको छ।’
अस्पतालका प्रमुख डा. डिबी क्षेत्रीले गाउँपालिकाले पूर्णकालीन रूपमा अनुबन्ध गरी हाडजोर्नी सेवा सुरु गरेको आँबुखैरेनी गण्डकी प्रदेशमै पहिलो अस्पताल रहेको दाबी गरे। यो सेवाले आँबुखैरेनीमात्र नभई छिमेकी पालिकाका बासिन्दासमेत लाभान्वित हुने उनको भनाइ छ।
अस्पतालले विभिन्न स्वास्थ्य सेवा विस्तार गर्दै गएको छ। पछिल्लो पटक अस्पतालमा फिजियोथेरापी सेवा सुरु भएको छ। फिजियोथेरापी सेवा सुरु भएसँगै यो क्षेत्रका जनतालाई सहज भएको छ।
अस्पतालमा हाल दैनिक तीन सयभन्दा बढी बिरामीले सेवा लिइरहेको बताउँदै क्षेत्रीले इमर्जेन्सीमा ४०, ल्याबमा ५० भन्दा बढी बिरामी दैनिक रूपमा रहने जानकारी दिए।
गाउँपालिकाले विसं २०७९ मंसिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल सञ्चालन गरेको हो। अस्पतालले तनहुँको आँबुखैरेनीका साथै जिल्लाकै बन्दीपुर, गोरखाको पालुङटार, सहिद लखन र चितवनको इच्छाकामनाका जनतालाई सेवा दिइरहेको छ।
अस्पतालबाट चौबिसै घण्टा आकस्मिक सेवा, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसीलगायतका सेवा प्रदान गरिएको छ। अस्पतालमा एक जना एमडिजीपी, तीन जना मेडिकल अधिकृत र १३ नर्स कार्यरत छन्। रासस
प्रकाशित: १६ असार २०८२ ०६:४२ सोमबार





