पहिला–पहिला मानिसहरूको मृत्यु सरुवा रोगले हुन्थ्यो। आज यो स्थितिमा फरक आएको छ। पछिल्ला वर्षहरूमा सरुवा रोगको तुलनामा नसर्ने रोगले बढी मृत्यु हुने गरेको र उमेर नपुगी हुने मृत्युको जोखिम बढेको भन्दै सरकारले फागुन महिनाभर नसर्ने रोगको परीक्षण गर्ने भएको छ। स्थानीय तहमा उपलब्ध साधन स्रोत परिचालन गरी सबै नागरिकलाई आफ्नो स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नसर्ने तथा मानसिक रोग शाखाले सुझाएको छ।
यो महिनाभर मुलुकमा ठुलो भारका रूपमा बढ्दै गएका मुट तथा रक्तनलीजन्य रोग, उच्च रक्तचाप, मधुमेह, शरीरको तौल तथा मोटोपना, श्वास–प्रश्वास र मिर्गौला, क्यान्सरसम्बन्धी रोगको परीक्षण गरिने छ। देशभरका सात सय ५३ वटा स्थानीय तहका स्वास्थ्य संस्थामा यी नसर्ने जाँचको परीक्षण गरिने नसर्ने रोग शाखाकी प्रमुख डा. पोमावती थापाले बताइन्। यो महिनाभर आफ्नो स्वास्थ्य परीक्षणका लागि डा. थापाले सबै नागरिकलाई अनुरोध गरेकी छन्।
सरकारले नियमित रूपमा यी रोगको परीक्षण स्वास्थ्य संस्थाहरूबाट गरिरहेको भए पनि फागुन महिनामा अभियानकै रूपमा स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम रहेको उनले जानकारी दिइन्। उनका अनुसार आधारभूत स्वास्थ्य संस्थाबाट हुने यी परीक्षण सबै निःशुल्क हुनेछन्। सबै नागरिकलाई सहभागी गराउन प्रदेश र स्थानीय तहबाट प्रचार–प्रसार गरी कार्यक्रमका बारेमा जानकारी दिइने छ। समयमै पहिचान भएमा कुनै पनि रोगको उपचारका लागि विशिष्टीकृत अस्पतालमा पे्रषण प्रक्रियालाई सहज बनाई नागरिकको स्वास्थ्यको सुनिश्चतता गर्ने उद्देश्यअनुरूप र नसर्ने रोगका बारेमा जनचेतना बढाउने उद्देश्यले हरेक वर्ष फागुन महिनाभर नसर्ने रोग परीक्षण अभियान सञ्चालन गर्न योजना रहेको थापाले बताइन्।
नसर्ने रोगकै कारण ७१ प्रतिशतको मृत्यु
विश्वव्यापी रोगको भारसम्बन्धी सन् २०१९ मा गरिएको सर्वेक्षणअनुसार नेपालमा कुल मृत्युको ७१ प्रतिशत कारक नसर्ने रोगले हुन्छ भने सरुवा रोगका कारण २१ प्रतिशत मृत्यु हुन्छ। बाँकी आठ प्रतिशत दुर्घटनाका कारणले हुन्छ। बिरामी हुने र मृत्यु हुने नसर्ने रोगहरूको भारमा सबैभन्दा बढी रगत तथा मुटुजन्य रोग, श्वासप्रश्वास, क्यान्सर र मधुमेह अग्रपंक्तिमा छन्। यो भनेको कुल रोगको एकचौथाइ भाग नसर्ने रोगको भार हुनु हो।
पछिल्लो सर्वेक्षणअनुसार नेपालमा सन् १९९० सम्ममा मृत्युको मुख्य कारक सरुवा रोग रहेकोमा सन् २०१९ मा आइपुग्दा मृत्युको मुख्य कारक दशवटा नसर्ने रोगको कारण देखिएको छ। सर्वेक्षणअनुसार सन् १९९० मा क्षयरोग, आमा तथा नवजात शिशु, मलेरिया, एचआइभी जस्ता रोगले बढी मृत्यु हुन्यो भने अहिले मुटु तथा मुटुजन्य रोग, मिर्गौला, मधुमेह र क्यान्सर, सडक दुर्घटनाका कारण बढी मृत्यु हुन्छ।
तथ्यांकअनुसार मुटु तथा मुटुजन्य रोगको कारण सन् २०१० मा कुल मृत्युको १०.२९ प्रतिशत मृत्यु हुन्थ्यो भने सन् २०१९ मा यो संख्या २४.७६ प्रतिशत पुगेको छ। स्नायुजन्य रोगका कारण सन् २०१० अघि १९.३० प्रतिशत मृत्यु हुने गरेकोमा सन् २०१९ मा आइपुग्दा २५.३९ प्रतिशत मृत्यु हुने गरेको देखिन्छ। छालाजन्य संक्रमणका कारण सन् २०१० भित्र १८.२६ प्रतिशत मृत्यु हुने गरेकोमा सन् २०१९ मा आइपुग्दा २६.३२ प्रतिशत पुगेको छ। त्यसैगरी जीर्ण श्वास–प्रश्वाससम्बन्धी रोगका कारण १०.३३ प्रतिशतको मृत्यु हुने गरेकोमा सन् २०१९ मा २१.१३ प्रतिशतको मृत्यु पुगेको छ।
यी तथ्यांकले नेपालमा नसर्ने रोगको भार बढेको र यसका कारण मृत्यु हुने दर बढेको देखाएको डा. थापाले बताइन्। यी रोग बढ्नुको पछाडि अस्वस्थ जीवनशैली, अस्वस्थ खाना रासायनिक खाना, बट्टा या प्याकेटमा भण्डारण गरेर राखिएका खाना, रसायनयुक्त खाना, विषादीयुक्त खानाका कारण मुटु तथा क्यान्सरजन्य रोग वृद्धि भएको डा. थापा बताउँछिन्। त्यसैगरी बढ्दो प्रदूषण, धूमपान तथा मदिरा प्रयोगले श्वास–प्रश्वाससम्बन्धी रोग वृद्धि भएको उनले बताइन्। यस्ता नसर्ने रोगहरूको जोखिम पछिल्लो पुस्तामा बढेकाले समयमै रोगको पहिचान गरी स्वस्थ जीवनशैली अपनाउन आवश्यक रहेको उनले सुझाइन्। ‘समयमै स्वास्थ्य परीक्षण गरौं, स्वस्थ भई बाँचौं’ भन्ने यो कार्यक्रमको उद्देश्य हो’, उनले भनिन्।
प्रकाशित: २९ माघ २०८१ ०७:५१ मंगलबार