विद्यालय भवन निर्माणको भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा बर्दियाको बारबर्दिया नगरपालिकाका इन्जिनियर पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नगरपालिकाको भवन तथा बस्ती विकास शाखामा कार्यरत इन्जिनियर मोहन देव मल्ललाई बिहीबार १ लाख ५० हजार रुपैयाँ घुससहित रंगेहात नियन्त्रणमा लिएको हो।
आयोगका अनुसार इन्जिनियर मल्लले बारबर्दिया नगरपालिका-७ स्थित जनता माध्यमिक विद्यालय रम्भापुरको ४ कोठे भवन निर्माण कार्यको अन्तिम बिल भुक्तानीका लागि सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग घुस माग गरेका थिए।
घुस माग गरेको सूचना र उजुरीका आधारमा आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ लिइसकेको अवस्थामा नगरपालिकाको भवन तथा बस्ती विकास शाखाबाटै नियन्त्रणमा लिएको हो।
पक्राउ परेका मल्लमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
प्रकाशित: १५ माघ २०८२ २१:२६ बिहीबार





