नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अत्यधिक उत्तेजनाको राजनीतिमा नलाग्न आग्रह गर्दै सामाजिक सञ्जालमा सीमित नहुन पार्टीका नेता–कार्यकर्तालाई आह्वान गरेका छन्।
शुक्रबार बुटवलमा आयोजित निर्वाचन कार्यक्रममा बोल्दै उनले लोकतन्त्रमा कुनै एक व्यक्तिले चमत्कार गर्न नसक्ने बताए। ‘डेमोक्रेसी चमत्कार गर्ने व्यक्तिको पद्धति होइन। देश बनाउने काम सामूहिक प्रयासबाट मात्रै सम्भव हुन्छ,’ उनले भने।
थापाले टिम नेपालको अवधारणा अघि सार्दै संघ, प्रदेश, पालिका र वडा तहसम्मको सहकार्यबाट मात्र विकास सम्भव हुने बताए। प्रधानमन्त्री एक्लैले विकास गर्न नसक्ने उल्लेख गर्दै उनले सबै राजनीतिक शक्ति र तहबीच सहकार्य आवश्यक रहेको धारणा राखे।
उनले नेपाली कांग्रेसले पाँच वर्षभित्र परिणाम दिने प्रतिबद्धता गरेको उल्लेख गर्दै देशलाई गति दिने तर दुर्घटनामा नपार्ने जिम्मेवारी लिने बताए। ‘गति पनि चाहिन्छ, तर स्थिरता र सुरक्षित अवतरणको सुनिश्चितता पनि उत्तिकै आवश्यक छ। गतिमा कुनै दुर्घटना हुनु हुँदैन,’ उनले भने।
पछिल्लो समय सामाजिक सञ्जालमा फैलिने भ्रम र दुष्प्रचारप्रति सचेत रहन आग्रह गर्दै उनले कार्यकर्तालाई घर–घर पुगेर संवाद गर्न निर्देशन दिए। ‘संगठन नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो। प्रत्येक कार्यकर्ता आफैं उम्मेदवार बनेर मतदाताको घरदैलोमा जानुपर्छ,’ उनले भने।
थापाले विगतका द्वन्द्व र आन्दोलनको अनुभव स्मरण गर्दै सबै जाति, भाषा, क्षेत्र र पुस्तालाई समेटेर देशलाई अघि बढाउनुपर्नेमा जोड दिए। ‘पाँच वर्षको समय अर्को प्रयोगमा खेर नफालौं। स्थिरता र विकासका लागि कांग्रेसलाई अवसर दिनुपर्छ,’ उनले आग्रह गरेका छन्।
प्रकाशित: १५ फाल्गुन २०८२ १३:४९ शुक्रबार





