३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

बसन्तपुरमा श्रीगणेश र श्रीभैरवको निवास स्थान बनाइने

वसन्तपुर डबली दक्षिणतर्फको जग्गामा साझेदार निकायबीच सहमति

फाइल तस्बिर

जीवित देवताका रूपमा पुजिने श्रीगणेश र श्रीभैरवको स्थायी निवास स्थान निर्माण गर्ने विषयमा सम्बन्धित साझेदार निकायबीच सहमति भएको छ। बसन्तपुर डबलीको दक्षिणतर्फ, यसअघि त्रिभुवन विश्वविद्यालयअन्तर्गतको भवन र नेपाल आदर्श (नवआदर्श) माध्यमिक विद्यालय रहेको स्थानमा निवास निर्माणका लागि जग्गा प्राप्ति तथा भोगचलनसम्बन्धी प्रक्रिया अघि बढाउने निर्णय गरिएको हो।

काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा आज बसेको बैठकले यो निर्णय गरेको हो। बैठकमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडा नं. २३ का अध्यक्ष तथा विधायन समितिका संयोजक मचाराजा महर्जन, त्रिभुवन विश्वविद्यालयका उपकुलपति दीपक अर्याल, गुठी संस्थानका सदस्य सचिव शैलेश कुँवर, शार्दुलजंग गुल्मका गुल्मपति सुमननरसिंह मल्ल, सम्पदा संरक्षण अभियन्ता गणपतिलाल श्रेष्ठलगायत सरोकारवाला सहभागी थिए।

‘काठमाडौंको पहिचान र गरिमा बढाउने काम’

छलफलका क्रममा कार्यवाहक प्रमुख डंगोलले यो जग्गा काठमाडौं महानगरपालिकाको मातहतमा ल्याई श्रीगणेश र श्रीभैरवको निवास स्थान निर्माण गर्दा काठमाडौंको पहिचान र सांस्कृतिक गरिमा अझ उच्च हुने बताइन ।

उनले भनिन्, ‘२०७२ सालको भूकम्पले जीर्ण र धराप अवस्थामा पुगेको भवन भत्काएर अहिले जोखिम शून्य बनाइसकेका छौँ। अब यही स्थानमा जीवित देवी कुमारीको जस्तै गरी येँःया (इन्द्रजात्रा) का बेला निकालिने श्रीगणेश र श्रीभैरवको निवास स्थान बनाऔँ ।’

उनले यो  परियोजनामा महानगरपालिका, त्रिभुवन विश्वविद्यालय, गुठी संस्थान, पुरातत्व विभाग, सुरक्षा निकाय, स्थानीय समुदाय र गुठीयार सबैको साझा स्वामित्व रहने संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिइन ।

त्रिविको निर्णय प्रक्रियामा जाने प्रतिबद्धता

बैठकमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति अर्यालले जग्गा प्रदान गर्ने विषय विश्वविद्यालयको निर्णय प्रक्रियामा लगिने बताइन । उनले भनिन्, ‘त्रिवि कार्यकारी परिषद्बाट यस विषयमा निर्णय गरिन्छ।’

सम्पदा तथा पर्यटन समितिका संयोजक संगतले यो कार्य महानगरको सांस्कृतिक पहिचान र प्रतिष्ठासँग जोडिएको महत्वपूर्ण कदम हुने विश्वास व्यक्त गरिन । वडा नं. २३ का अध्यक्ष महर्जनले यसले स्थानीयबासीको गौरवमा थप इटा जोड्ने अपेक्षा राखे ।

इन्द्रजात्राका रथ पुनर्निर्माणको तयारी

गुठी संस्थानका सदस्य सचिव कुँवरले इन्द्रजात्राका समयमा गुडाइने रथ पुनर्निर्माण गर्ने विषयमा संस्थानले यसअघि नै निर्णय गरिसकेको जानकारी दिए । सम्पदा संरक्षण अभियन्ता श्रेष्ठले श्रीगणेश र श्रीभैरवको निवास स्थान बनाउने प्रयासलाई स्थानीयबासीले सकारात्मक रूपमा लिएको प्रतिक्रिया दिए ।

जग्गा हस्तान्तरण प्रक्रिया र विगतका निर्णय

सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७९ बमोजिम जग्गा तथा भवन महानगरपालिका मातहतमा ल्याउन यसअघि डंगोल उपप्रमुख रहँदा उनकै संयोजकत्वमा समिति गठन गरी प्रक्रिया थालिएको थियो।

२०७९ फागुन ११ गते बसेको काठमाडौं महानगरपालिकाको १३औँ कार्यपालिका बैठकले डंगोलको संयोजकत्वमा वडा नं. ८ का अध्यक्ष एवं सम्पदा समितिका संयोजक आशामान संगत र वडा नं. २३ का अध्यक्ष मचाराजा महर्जन सदस्य रहेको समिति गठन गरेको थियो।

कार्यविधिअनुसार कुनै सरकारी निकायको नाममा दर्ता रहेको जग्गा अर्को सरकारी निकायलाई आवश्यक परेमा सम्बन्धित केन्द्रीय निकायहरूको सिफारिसका आधारमा मन्त्रालयले उपयोगको स्वीकृति दिन सक्ने व्यवस्था छ। यही व्यवस्था बमोजिम समितिले २०८० भदौ १२ गते त्रि.वि. उपकुलपतिको कार्यालयलाई पत्राचार गरी दर्तावालाका तर्फबाट केन्द्रीय समिति गठन र संयुक्त बैठकको वातावरण मिलाउन अनुरोध गरेको थियो। सोही आधारमा भदौ २७ गते दुवै पक्षबीच संयुक्त बैठक सम्पन्न भएको थियो।

प्रकाशित: १५ माघ २०८२ २१:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App