४ कार्तिक २०८३ बुधबार
image/svg+xml
राजनीति

राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्ति र शोकका बिच मनाइँदै गरेको बडादसैँले नेपाली समाजमा एकता थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

विजयादशमी, २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै लामिछानेले विपत्तिमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहेका परिवारमा समवेदना व्यक्त गरेका छन्।

यस वर्षको दसैँ विपत्ति र शोकको घडीमा मनाउनुपरेको उल्लेख गर्दै उनले धेरै नागरिकले ज्यान गुमाउनुपरेको र हजारौँ परिवार घरबारविहीन तथा विस्थापित भएको बताएका छन्।

‘असत्यमाथि सत्यको र अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश बोकेको बडादसैँको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु,’ उनले सन्देशमा भनेका छन्।

विपत्तिको यस संवेदनशील अवस्थामा विजयादशमीले नेपाली समाजलाई विगतभन्दा अझ सुदृढ एकताको सूत्रमा बाँध्ने विश्वास पनि उनले व्यक्त गरेका छन्।

नवदुर्गा भवानीले सबैलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको हितमा समर्पित हुने शक्ति, सद्बुद्धि र जस्तोसुकै संकटसँग जुध्ने साहस प्रदान गरून् भन्ने कामना गर्दै लामिछानेले दसैँले निराशाबाट आशातर्फ र विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न नयाँ ऊर्जा दिने विश्वास व्यक्त गरेका छन्।

उनले सकारात्मक ऊर्जा र नयाँ आशासहित सबै नेपालीलाई बडादसैँको शुभकामना दिएका छन्।

May be an image of text

प्रकाशित: ४ कार्तिक २०८३ ०९:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App