२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

दसैँको खाना के कसरी खाने सोचिरहनु भएको छ? यी कुरामा ध्यान दिनुस्

नेपालीहरूको महान् चाड दसैँ यतिबोल हाम्रो घर–आँगनमा छ। बिहीवार दसैँ घरमा फुलपाति भित्र्याइँदैछ। विषेगरी अष्टमीका दिन बलि दिने भनिएपनि दसैँमा मिठो खाने क्रम दसैँ सुरु भएदेखि नै चलि रहेको छ। यो चाडमा कस्ता परिकार खाने, कस्ता पेयपदार्थ खाने र कसरी पर्वलाई रमाइलो बनाउने भनेर सबैले योजना बनाउन थालिसकेका छन्।

नेपालीमध्ये पनि हिन्दू धर्मावलम्बीले दसैँलाई निकै महत्त्वका साथ लिने गर्छन्। दसैँका अवसरमा हिन्दू धर्मावलम्बीहरूले घरको पूजाकोठामा राखेको जमरामा खसी, बोका, हाँस, कुखुरा, राँगा आदिको बलि दिने गर्छन्। उक्त बलिलाई प्रसादको रुपमा उनीहरूले ग्रहण गर्ने गर्छन्।

दसैँमा जस्तोसुकै आर्थिक हैसियत भएका मानिसले पनि क्षमताअनुसार मीठो–मसिनो खानेकुरा र मासुको जोहो गर्छन्। त्यही भएर पनि यो चाडलाई ‘मीठो खाने र रमाइलो गर्ने’ पर्वको रुपमा पनि लिइन्छ। दसैँको अर्को रमाइलो पक्ष भनेको राम्रो र नयाँ लुगा लगाउने पनि हो। साथै कतिपयले दसैँमा लामो समय बिदा हुने हुँदा आफन्तसँग भेटघाट गर्ने, मनोरञ्जन गर्ने, आराम गर्ने सूची पनि बनाएका हुन्छन्।

चाडपर्व भन्नासाथ खानपानकै कुरा बढी आउँछ। दसैँमा मात्रै नभई अन्य चाडमा पनि हामी अव्यवस्थित तरिकाले खानपान गर्छौं। जुन गलत हो। सन्तुलित आहार नभए चाडबाडमा दुःख पाउने अवस्था पनि आउन सक्छ। स्वस्थ र निरोगी हुनको लागि सन्तुलित आहार अनिवार्य छ।  आवश्यकताअनुसार खानेकुरा खाए मात्रै शरीर स्वस्थ र तौल यथोचित रहन सक्छ। सन्तुलित आहारमा पाँच समूहका खानालाई मिलाएर खानुपर्छ।

खाद्यान्न समूह  

तरकारी र गेडागुडी समूह  

माछा, मासु, अण्डा अथवा गेडागुडी समूह  

दूध अथवा दूधबाट बनेका परिकारका समूह  

फलफूलका समूह  

कसले कति खाने ?

एउटा वयष्क मानिसले खाना कति मात्रामा खाने भनेर उसको उमेर, लिङ्ग, उचाइँ, जीवनशैली, शारीरिक परिश्रमअनुसार फरक हुन्छ। मासुमा प्रोटिन र बोसोको मात्रा धेरै हुन्छ। हाम्रो शरीरको लागि एक दिनमा ५० देखि ६५ ग्राम प्रोटिन आवश्यक पर्छ। प्रोटिनले शरीरको वृद्धि र विकास गर्छ।

दसैँमा हामीले धेरै मासु सेवन गर्छौ। यसले गर्दा हाम्रो शरीरमा अवश्यकताभन्दा बढी प्रोटिन जम्मा हुन्छ। प्रोटिनको मात्रा बढी हुँदा कलेजो र मृगौलालाई अनावश्यक दबाब पर्छ र तिनीहरूमा हानि पुग्न सक्छ। दसैँमा प्रत्येकको घरमा प्रशस्त मासु हुने हुँदा त्यसलाई स्वास्थ्यमा असर नगर्ने गरी बनाउनुपर्छ। चलनचल्तीअनुसार हामीले कवाफ लगाएर मासु बनाउँछौं। कवाफ लगाउँदा धेरै तेल राखेर अझ मीठो पार्ने कोशिश गर्छौ। यसो गर्नु गलत हुन्छ।

हाम्रो शरीरलाई दैनिक १० देखि २० ग्राम बोसो भए पुग्छ। छाला र बोसोमा चिल्लो पदार्थको मात्रा धेरै हुन्छ। मासु पकाउनुअघि नै छाला र बोसो हटाएमा सो मासु खान स्वास्थ्यका लागि राम्रो मानिन्छ। तेलको मात्रा कम प्रयोग गर्ने र सकेसम्म घिउ नराख्दा नै स्वास्थ्यको लागि फाइदाजनक हुन्छ। तेल पनि सकेसम्म तोरीको प्रयोग गर्नु उचित हुन्छ। चिल्लोले उच्च रक्तचाप, कोलेस्ट्रोल, ट्राइग्लिसेराइड बढाउँछ।

गुलियो कति खाने ?

दसैँको अवसरमा धेरै दिन बिदा हुने हुँदा अधिकांश मानिस घरमै रमाइलो गर्ने गर्छन्। यसका लागि उनीहरूले पेयपदार्थ र मदिराको साथ पनि लिन्छन्। पेयपदार्थ (कोल्ड ड्रिंक्स) मा चिनीको मात्रा धेरै हुन्छ। १ गिलास (२५० एमएल) कोकमा २७ ग्राम चिनी हुन्छ। एक दिनमा चिनीको मात्रा जसमा क्यालोरिको १० प्रतिशत अथवा २० ग्राम चाहिन्छ। चिनीको मात्रा धेरै प्रयोग गर्नाले मधुमेह हुन सक्ने सम्भावना हुन्छ। मदिराको सेवनबाट उच्च रक्तचाप, कलेजोमा खराबी तथा क्यान्सरजस्ता रोग लाग्न सक्छ।

फलफूल धेरै, नून कम खाने 

यस्तो बेलामा फलफूल र तरकारी दिनमा ५ सय ग्रामभन्दा बढी खानुपर्छ। दसैँमा थोरै मासु तर सागपात, मुला, काँक्रो, गाजरजस्ता तरकारी र फलफूल बढी प्रयोग गरेमा विभिन्न रोगबाट बच्न सकिन्छ। तरकारी र फलफूलले उच्च रक्तचाप घटाउने, मुटुरोग कम गर्ने, केही क्यान्सरलाई कम गर्ने र पाचन प्रणाली बलियो बनाउने हुन्छ।

यस्तै नूनको प्रयोग सकेसम्म कम गर्दा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। मासु र अचारमा नूनको मात्रा बढी हुने गर्छ। एक दिनमा ५ देखि ८ ग्राम (एक चिया चम्चा) नून सेवन गर्नुपर्छ। नूनले उच्च रक्तचापका बिरामीलाई असर गर्छ।

युरिक एसिडका बिरामीले रातो मासु नखाँदा स्वास्थ्यको लागि राम्रो हुन्छ। कोलेस्ट्रोल र ट्राइग्लिसेराइड बढी भएका बिरामीले सेतो मासु जस्तै–छाला हटाएको कुखुराको मासु, छाला हटाएको माछा खानुपर्छ। यसले शरीरलाई आवश्यक मात्रामा प्रोटिन प्रदान गर्छ।

व्यायाम गर्न नभुलौं  

दसैँमा धेरै दिन बिदा हुने भएकाले मानिसहरू घरैमा बसेर खाने, तास खेल्ने, टिभी हेर्ने, चङ्गा उडाउने गर्छन्। कतै जानु परे पनि सवारीसाधनको प्रयोग गर्छन्। सकेसम्म हिँडडुल गर्दैनन्। शारीरिक व्यायाम पनि गर्दैनन्। बिहानै उठेर १० हजार पाइला पसिना निकालेर हिँडेमा खाएको खाना पचाउन मद्दत पुग्छ। धेरै खाएर आराम गर्दा मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोलको मात्रा बढ्न सक्छ। यसकारण चाडबाड भए पनि व्यायाम गर्न नभुलौँ।  

 

(आहार विशेषज्ञ अञ्जु पन्थीसँगको कुराकानीमा आधारित)

प्रकाशित: २४ आश्विन २०८१ १३:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App