२३ भाद्र २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

ढाड दुख्छ? नयाँ के भयो त?

यस्ताे पनि!

फाइल तस्वीर

सारा दिन अफिसको कम्प्युटरमा बस्नु हुन्छ। यस्तोमा तपाईंले अरूसँग ढाड दुख्ने र घाँटीको समस्याको गुनासो गरिरहनु भएको छ भने एउटा कुरा बुझ्न जरुरी छ। त्यो के भने, ढाड र मुन्टोको समस्या अहिले कम्प्युटरमा बसेका कारणले मात्र नहुन सक्छ।

प्राचीन इजिप्टबासीहरूमा पनि यस्तो समस्या देखिएको अध्येताहरूले पाएका छन्। हालै चेक गणतन्त्रका वैज्ञानिकहरूले गरेको एउटा अध्ययनमा त्यो बेला कागजको काम गर्नेहरूमा पनि तपाईंकै जस्तो ढाड दुख्ने समस्याले ग्रस्त थिए।

ईशापूर्व २७०० र २१८० ताका इजिप्टको एबुसिर स्थित चिहानमा गाडिएका ६९ मानिसको कंकाल अध्ययन गरिएको थियो। तीमध्ये आधा कागजका काम गर्नेहरू (अहिलेको भाषामा भन्दा लेखक)मा डाढको समस्या देखिएको थियो।

त्यो बेला मिश्र (इजिप्ट)को जनसंख्यामध्ये लेख्न र पढ्न जान्नेको संख्या जम्मा एक प्रतिशत थियो। जो लेखपढ् गर्न जान्दथे, तिनको सामाजिक हैसियत निकै ठूलो हुन्थ्यो। स्वाभाविक रूपमा त्यस्ता मानिसले सुखसयलपूर्ण जीवन बिताउन पाउँथे।

त्यसका बाबजुद उनीहरू लेखपढ गर्न जानेकै कारणले अनौठो ढाडको समस्या झेलिरहेका थिए। जीवनको अधिकांश समय लेखपढमै बिताउनु पर्ने, लेखिरहनु पर्ने हुनाले उनीहरूको ढाड केही कुप्रिएको  पाइएको थियो। उनीहरूले पलेँटी कसेर कागजमा लेख्नुपर्ने, तिनलाई स्क्रल (दोब्य्राउने) गर्नुपर्ने र सुरक्षित राख्नुपर्ने र यसका लागि दिनभरिको लामो लामो समय दिनुपर्ने भएकाले उनीहरूको ढाड केही कुप्रिएको हुनसक्ने अध्येताहरूले बताएका छन्।

उनीहरूले कलमको निब प्रायः चबाउनुपर्ने हुनाले चिउँडो र गालाका हाडमा पनि केही समस्या देखिएको पाइएको थियो। लामो समयसम्म बसिरहनुपर्ने भएकाले उनीहरूको बैठकका हड्डी पनि केही धस्रिएको वैज्ञानिकहरूले पाएका थिए।

त्यसो त हरेक पेशा र कामका लागि केही न केही दुःख मानिसले भोग्नु पर्छ नै तर लेख्ने पनि कुनै काम र मिहिनेत हो र भन्ने सोच्नेहरूका लागि भने ती प्राचीन मिश्रबासीहरूको दुःख पनि केही दुःख हो भन्ने त यो बेला हामी कम्प्युटरमा बस्नेहरूले अवश्य नै बुझ्छौँ होला!

प्रकाशित: ३१ असार २०८१ ०७:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App