८ मंसिर २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

‘दक्षिण एसियामा मस्तिष्कघात दर उच्च’

फाइल तस्बिर

मस्तिष्कघात विश्वभरिको जटिल समस्या भए पनि दक्षिण एसियामा यो समस्याको भार उच्च रहेको विज्ञहरूले औंल्याएका छन्।

उनीहरूका अनुसार कुल जनसंख्याको चार जनामध्येमा एक जनामा कुनै न कुनै मस्तिष्कसम्बन्धी घातको समस्या यो क्षेत्रमा छ। राजधानीमा हालै सम्पन्न स्नायु विज्ञहरूको अन्तर्राष्ट्रिय सम्मेलनका विज्ञहरूले यो क्षेत्रमा रहेको जोखिमबारे चेतावनी दिएका दिएका हुन्।

जनस्वास्थ्यको समस्याका रूपमा रहेको यो समस्याबारे विकसित देशको तुलनामा दक्षिण एसियाली मुलुकमा बढी क्षति हुने भन्दै उनीहरूले अहिलेदेखि नै सर्तक रहनुपर्ने सुझाएका छन्।

अन्तर्राष्ट्रिय तथ्यांकअनुसार दक्षिण एसियाली मुलुकमा जीवनशैली र जनचेतनाको कमी रहेकाले यो समस्याबाट हुने क्षति अरू देशको तुलानामा बढी छ। न्युरोलोजिस्टहरूको अन्तर्राष्ट्रिय सम्मेलन सोमबार सम्पन्न भएको हो।

सम्मेलनमा स्नायु विज्ञहरूले नेपालसहित यी देशहरूले मस्तिष्कघात तथा स्नायुसम्बन्धी रोगहरू नियन्त्रणका लागि अहिलेदेखि नै सेवाको गुणस्तरीय विकास र जनचेतनामा राज्यको प्रतिबद्धता आवश्यक रहेको बताए। सम्मेलनमा सहभागी उपराष्ट्रपति रामशाह यादवले नेपालमा चार जनामध्ये एक जनामा मस्तिष्कघात सम्बन्धी समस्या हुनु चिन्ताको विषय रहेको बताए।

‘हाम्रो देशमा ४५ वर्षमुनिका धेरै युवा मस्तिष्कघातबाट पीडित हुनु चिन्ताको विषय हो,’ उनले भने। यो समस्या नियन्त्रणका लागि स्वस्थ जीवनशैलीमा सुधार ल्याउन सुझाए। ‘नियमित व्यायाम, स्वस्थकर खानपान र आवधिक स्वास्थ्य परीक्षणबाट यो नियन्त्रण गर्न सकिन्छ,’ उनले भने।

तथ्यांकअनुसार नेपालमा कुल जनसंख्याको प्रति तीन जनामध्येमा एक जनामा कुनै न कुनै प्रकारको स्नायुसम्बन्धी समस्या रहेको छ। ब्रिटिस जर्नल २०२० का अनुसार मस्तिष्कघातसम्बन्धी मृत्यु ८९ प्र्रतिशत छ।

त्यसैगरी घातबाट हुने अपांगता ५० प्र्रतिशत वृद्धि भएको छ। सन् २०५० सम्ममा ९० प्रतिशत मृत्यु मस्तिष्कघातको कारण हुनेछ। विकासोन्मुख देशमा ९१ प्र्रतिशत मस्तिष्कघातसँगको अपांगता हुने जोखिम छ।

नेपालसहित दक्षिण एसियामा रहेको स्नायु रोग तथा मस्तिष्कघातको नियन्त्रणका लागि सरकारले नीतिगत रूपमै व्यवस्था गर्न उनीहरूले सुझाए। सम्मेलनले यी जोखिमबाट जनस्वास्थ्यको सुरक्षा गर्न नेपालमै गुणस्तरीय प्रयोगशाला, जेनेटिक प्रयोगशाला, स्नायु सम्बन्धी पूर्ण उपचार केन्द्रको स्थापना, नयाँ प्रविधिसहितको उपचार, सबैको पहुँचमा उपचारको व्यवस्था हुनुपर्ने सम्मेलनले सुझाएको छ।

विकसित राष्ट्रमा मस्तिष्कघातको अस्पताल पुग्नुअघिको हेरचाह र अस्पताल पुगेपछिको उपचारमा तीव्र इकाइ, मनोवैज्ञानिक केन्द्रसहितको निर्माण गर्नुपर्ने सम्मेलनले सुझाएको छ। ‘मस्तिष्कघात भएका व्यक्तिका लागि अस्पताल पुग्नुअघि औषधी र पुग्नेबित्तिकै दिने औषधीका लागि द्रूत स्ट्रोक टिमको व्यवस्था हुनुपर्छ, जुन नेपालमा छैन,’ डा. कोइरालले भने। यस्तो दु्रत उपचारले घातबाट हुने क्षति कम हुने डा. कोइरालाले बताए।

सम्मेलनमा आपसी स्नायु विज्ञहरूले आपसी साझा स्नायु रोग, समस्या, नयाँ उपचार पद्धति, यो रोगमा भइरहेका नयाँ औषधीको प्रयोगबारे प्रस्तुति गरे। नेपालबाट विकसित राष्ट्रहरूले यहाँको स्नायु संक्रामक रोगबारे थाहा पाए। हामीले उनीहरूको ज्ञानपद्धतिबारे जानकारी लिने अवसर पायौं,’ नेप्लिज एसोसिएसन अफ न्युरोलोजिस्टका सदस्य तथा वीर अस्पतालका न्युरोलोजिस्ट डा. सुनिल कोइरालाले भने।

नेपाल तथा दक्षिण एसियामा गलत जीवनशैलीको कारण बढ्दै गइरहेको स्नायु तथा मस्तिष्कघातको समस्या बढ्दो भएकाले यसकोे नियन्त्रणमा स्वस्थ जीवनशैली अपनाउन सरकारले जोड दिनुपर्ने उनीहरूले सुझाए।

स्नायु रोगका जोखिम कारकहरू प्रदूषण, मदिरासेवन, मोटोपन, धूमपान, तनाव, आरमदायी जीवनशैलीमा परिवर्तन गर्नका लागि सरकारी तहबाटै जनचेतनाको कार्यक्रम आवश्यक रहेको उनीहरूले बताए। सम्मेलनमा भारत, नदेरल्याण्ड्स, अमेरिका, मलेसिया, श्रीलंका, बंगलादेश, टर्की, नेपाललगायतका देशबाट न्युरोलोेजीका विज्ञहरूले भाग लिएका थिए।

प्रकाशित: १३ जेष्ठ २०८१ ०८:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App