२ असार २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

चिकित्सकमाथि कुटपिट हुँदा ओपिडी सेवा बन्द

मोरङको उर्लाबारी नगरपालिका– ३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका स्वास्थ्यकर्मी ओपिडी बन्द गरेर आन्दोलनमा उत्रिएका छन्। अस्पतालका स्वास्थ्यकर्मीमाथि पटकपटक अभद्र व्यवहार र हातपात भएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

अस्पतालका मेडिकल अफिसर मोरङ पथरीशनिश्चरे नगरपालिका– १ का २५ वर्षीय डाक्टर ब्रोमिस बुढाथोकी र विराटनगरका डाक्टर अनिलकुमार यादवलाई स्थानीय युवाले हातपात गर्दै कुटपिट गरेपछि सुरक्षाको माग राख्दै आन्दोलनमा उत्रनुपरेको अस्पताल प्रशासनले जनाएको छ।

चिकित्सक र स्वास्थ्यकर्मीमाथि निरन्तर आक्रमण भएपछि अस्पताल प्रशासनले बुधबार एक घण्टाका लागि ओपिडी सेवा बन्द गरेको हो। स्वास्थ्यकर्मी र चिकित्सक असुरक्षित भएको र शान्तिसुरक्षाको माग गर्दै ओपिडी सेवा बन्द गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रविकुमार साहले जानकारी दिए।

चिकित्सकमाथि आक्रमण गर्नेलाई पक्राउ गरी कारबाही नगरेकाले दबाबस्वरूप ओपिडी सेवा बन्द गर्नुपरेको बताउँदै डाक्टर साहले भने, ‘आज १ घण्टा ओपिडी सेवा बन्द गर्‍यौं। त्यसपछि हातमा कालोपट्टी बाँधेर काम गर्ने छौं। जेठ ९ गतेदेखि माग पूरा नभएसम्मका लागि ओपिडी सेवा बन्द गरेर हुनेछ। प्रहरीमा शान्तिसुरक्षा र घटनामा संलग्नलाई कारबाहीको माग गर्दै उजुरी दिइसकेका छौं। उजुरी दिए पनि प्रहरी प्रशासनले उनीहरूलाई कारबाही नगरेका कारण थप असुरक्षित महसुस भएपछि आन्दोलनमा उत्रनु परेको हो।’

ओपिडीमा दैनिक पाँचदेखि सात सय जति बिरामीले सेवा लिँदै आएका छन्। जेठ ३ गते दिउँसो खाजा खाएर फर्किने क्रममा डाक्टर बुढाथोकीमाथि मंलबारेका सुमन श्रेष्ठ, शीतलराज गिरी र सानु रोक्काको समूहले आक्रमण गरेको आरोप छ।

अस्पतालमा उपचारको विवाद भएपछि डाक्टर बुढाथोकीमाथि आक्रमण भएको बताइएको छ। जेठ ७ गते आकस्मिक कक्षमा सेवा दिइरहेको अवस्थामा डाक्टर यादवलाई आक्रमण गरेको अस्पताल प्रशासनले जनाएको छ।  

डाक्टरमाथि आक्रमण गर्नेविरुद्ध उजुरी दर्ता भइसकेको बताउँदै मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले भने, ‘उजुरीमा नाम उल्लिखित व्यक्ति फरार छन्। उनीहरूको खोजी कार्य तीव्र पारेका छौं। अस्पतालमा सुरक्षा व्यवस्था मिलाइएको छ। फरार भएकै कारण उनीहरूलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउन सकेका छैनौं।’

प्रकाशित: १० जेष्ठ २०८१ ०८:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App