उदयपुरको कटारी नगरपालिका २ खोक्सास्थित त्रिबेणीमा बिहीबारदेखि ‘मैनी मेला’ सुरु भएको छ। पूर्वी भेगकै पुरानो र चर्चित मैनी मेला उदयपुरका तावा, कमला र सिन्धुली सीमानाको ककुर खोला मिसिने संगमस्थल त्रिबेणीमा मकर नुहाएर सुरु हुने गरेको छ।
हरेक वर्ष माघ १ गतेका दिन मकर नुहाएर पूजा आराधनासहित लाग्ने मेला २ देखि ३ सातासम्म चल्ने गरेको छ। यो वर्ष भने २० दिन लाग्ने गरी नगरपालिकाले ठेक्कामार्फत सञ्चालनको जिम्मा दिएको जनाएको छ। यहाँ लाग्ने मेला धार्मिक तथा व्यापारिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ।
माघ १ गते भक्तजनहरू नदीमा मकर नुहाउँदै पाठा, परेवा र हाँसको बली दिएर पूजा आराधना गर्ने गर्छन्। त्यसो गर्दा मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ। हाके ताकेको पुग्ने जनविश्वासकै कारण टाढा-टाढाबाट भक्तजनहरू पूजा र भाकल (वाचा) बुझाउन आउने गरेका छन्।
मेला अवधिभर पूजा आराधना गर्ने भक्तजनहरूको भीड लाग्ने गरेको छ भने दैनिक कम्तीमा १ सय ५० देखि १ हजार वटासम्म पशुपंक्षीको बली चढाउने गरिन्छ। नेपाल र भारतका विभिन्न सहर बजारबाट आउने भक्तजनहरू धर्मिक आस्थासँगै व्यापारिक प्रयोजनका लागि पनि आउने गरेका छन्। पहिलो सातासम्म धेरे पूजापाठ र बली दिने काम भए पनि त्यसपछि बली दिने क्रम घट्दै जाने गरेको छ।
कटारी नगर कर्मचारी हिरालाल अधिकारी दनुवारका अनुसार यस वर्षको मेला व्यवस्थापन गर्ने जिम्मा कटारीकै स्थानीय प्रमोद गिरी नेतृत्वको युवा समूहले पाएको छ। नगरपालिकाले २० लाख ५ हजारमा मेला व्यवस्थापनको ठेक्का गिरीलाई दिएको दनुवारले बताए। गत वर्ष १० लाखमा ठेक्का लागेको मेला यस वर्ष दोब्बरभन्दा बढीमा लगाइएको दनुवारले बताए।
पहिलो दिनको मेला भव्य रूपमा सुरु भएको स्थानीयले बताएका छन्। विहान सबैरैदेखि भेला भएका भक्तजनहरू मकर नुहाएर पूजा आराधनामा व्यस्त भएका छन्। कमला नदीको दायाँ बायाँ किनारमा सबै भक्तजन पर्यटकको भीड लागेको छ भने बजार क्षेत्र व्यापारिक स्टलहरूले भरिएको छ। बजारभन्दा पूर्वतर्फको ठूलो बगरमा मनोरञ्जन र खेलकुद, सर्कसहितको रमाईलो मेला लगाइएको छ।
यस वर्ष नगरप्रमुख राजेशचन्द्र श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत राजन थापा विदामा रहेकाले उपप्रमुख गीता खड्काले एक कार्यक्रमका बीच मेला उद्घाटन गरिन्। नगर प्रवक्ता तथा २ नं. वडाध्यक्ष प्रेमबहादुर थापाका अनुसार उपमेयर खड्का बिहानै मकर नुहाएर पूजा मेलाको उद्घाटन गरेकी हुन्। उद्घाटन गर्दै उपमेयर खड्काले त्रिबेणीमा लाग्ने मैनी मेला ऐतिहासिक, परम्परागत र कटारीको चिनारी भएकाले मेला सभ्य, भव्य र सुरक्षित तरिकाले सम्पन्न गर्न सबै पक्षलाई आग्रह गरिन्।
स्थानीय वृद्धवृद्धाका अनुसार त्रिबेणीमा परापूर्वकालदेखि नै लाग्दै आएको मेला १ महिनासम्म चल्थ्यो। सडक यातायातको सुविधा नभएको बेला पहाड र मधेसबीच जमघट र व्यापारिक कारोबारको मुख्य माध्यमको रूपमा सो मेलालाई लिइन्थ्यो। ‘त्यो बेला उच्च पहाड र हिमाली भेगबाट भेडाको राडीपाखी र भोटे कुकुरको छाउरो, आलु र सुन्तलालगायत फलफूल बेच्न ल्याइन्थ्यो,’ स्थानीय वृद्ध पेशल पोखरेलले स्मरण गरे, ‘तराईबाट भने नुन, चामल, मसला, चिनी, लत्ताकपडा र घोडा बेच्न ल्याइन्थ्यो। पैसा त्यत्ति हुदैनथ्यो, त्यसैले सामान सामानको विनिमय (साटासाट)बाटै कारोबार हुन्थ्यो।’
अहिले भने आधुनिकताले गर्दा सडक यातायात, सञ्चार र विद्युत सुविधा पुगिसकेकाले स्थानीय उत्पादनदेखि बहुराष्ट्रिय कम्पनीका सामग्री तथा मेसिन उपकरणसमेत बिक्रीवितरणका लागि स्टल राख्ने गरिएको छ। खासगरी तराई भेग र भारतको सिक्कीम, दार्जिलिङदेखि विहारसम्मका धेरै व्यापारी व्यवसायी धर्मकर्म र व्यापारिक उद्देश्यले मेला भर्न आउने गरेको नगर प्रवक्ता थापा बताउँछन्।
परम्परागत व्यापार अहिले पनि उत्तिकै चल्ने गरेको थापाले बताए। पहिलाजस्तै चामल, लत्ताकपडा, चिनी, मसला र घोडा तराईबाट बेच्न ल्याउने तथा हिमाली भेगबाट भोटे कुकुर, भेडा, च्याङ्ग्रा, चौँरीको घ्यु र राडीपाखीको व्यापार अहिले पनि कायम रहेको उनी बताउँछन्।
धार्मिक, पौराणिक र साँस्कृतिक इतिहास बोकेको मैनी मेलामा एक दशकअघिसम्म खुलेआम जुवातास र जाँड रक्सी (मदिरा)को व्यापार हुने गरेकोमा अहिले बन्द छ। तर, सहभागीलाई आकर्षण दिनका लागि बाल उद्यान, रोटे पिङ, मौतका कुवा, सर्कस र विभिन्न खेलकुद तथा नाचगानजस्ता मनोरञ्जनात्मक गतिविधि गर्ने रमाइलो मेला आयोजना गर्ने गरिएको छ।
प्रकाशित: १ माघ २०८२ १४:२४ बिहीबार





