नेपाल टेलिकमले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयर धनीलाई नगद लाभांश दिने भएको छ। टेलिकमको बुधबार सम्पन्न १८ औं वार्षिक साधारणसभाले मुनाफाबाट प्रतिसेयर धनीलाई ३० रुपैयाँका दरले लाभांश दिने निर्णय गरेको हो।
टेलिकमका सञ्चालक समिति अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले आगामी दिनमा मेघा परियोजना सञ्चालन गर्नुपर्ने र थप पुँजी आबश्यक हुने अवस्थामा बोनस सेयरसमेत उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरिन्।
टेलिकमले ३८ अर्ब १९ करोड आम्दानी गरी छ अर्ब नाफा आर्जन गर्न सफल भएको छ। टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा वातावरण संरक्षण, स्वास्थ्य, शिक्षा तथा खेलकुदलगायत क्षेत्रमा सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ।
अध्यक्ष अर्यालले डाटा सेवातर्फ दिनानुदिन ग्राहक आकर्षण बढ्दै गइरहेको सन्दर्भमा डाटाको गुणस्तर सुधार गरी लागत प्रभावी बनाउँदै कुशल रणनीतिका साथ बजार हिस्सा बढाउन निर्देशन दिइन्।
प्रकाशित: १ माघ २०८२ १४:१६ बिहीबार





