१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

गृहजिल्ला पुगेर आँखा जाँच्दै डा. रुइत

वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले तिलगंगा आँखा अस्पतालका चिकित्सक टोलीले लिएर ताप्लेजुङको फुङलिङ पुगी १ सय २ जना मोतियाविन्दुका बिरामीको आँखाको शल्यक्रिया गरेका छन्। रुइत विश्वविख्यात आँखा विशेषज्ञ हुन्।

शुक्रबार थप ४० जनाको आँखाको शल्यक्रिया गर्ने तयारी रहेको आयोजक नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सभापति राजकुमार गुरुङले जानकारी दिए। नेपाल नेत्रज्योति संघ ताप्लेजुङले फुङलिङ नगरपालिका र सेवा फाउन्डेसनसँगको सहकार्यमा तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोग लिएर शल्यक्रियासहितको आँखा शिविर सञ्चालन गरेको हो।

शिविरमा विगत दुई वर्षदेखि दुवै आँखा बन्द भएका पाँचथरको हिलिहाङ गाउँपालिका ५ का बमप्रसाद योङहाङका दुवै आँखाको शल्यक्रिया गरिएको छ। टोलीले फ्याको सर्जरी विधिद्वारा पनि आँखाको शल्यक्रिया गरेको थियो। मोतियाविन्दुको आँखाको शल्यक्रिया गर्दा नयाँ र कम्युटराइज प्रविधिद्वारा गरिने शल्यक्रियालाई फ्याको सर्जरी भनिन्छ।

बुधबारबाट सुरु भएको शिविरको पहिलो दिन ६ सय ८३ जना र दोस्रो दिन बिहीबार ४ सय ३४ जना गरी कुल १ हजार १ सय १७ जनाले फुङलिङमै आँखाको परीक्षण तथा उपचार गरेको क्लिनिक इन्चार्ज गुरुङले बताए।

यसअघि फागुन १३ गते मैवाखोला गाउँपालिकाको ढुङ्गेसाँघुको परीक्षणका क्रममा २० तथा १४ गते मिक्वाखालाको खोक्लिङमा गरिएको आँखा परीक्षणका क्रममा ३७ जना मोतियाविन्दुका बिरामी भेटिएका थिए।

उनीहरूको पनि फुङलिङकै शिविरमार्फत आँखाको शल्यक्रिया गरिएको नेपाल नेत्रज्योति संघले जनाएको छ। डाक्टर रुइत ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका ७ ओलाङचुङगोलामा जन्मिएका हुन्।

प्रकाशित: १८ फाल्गुन २०८० १५:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App