१७ फाल्गुन २०८० बिहीबार
स्वास्थ्य

क्यान्सरविरुद्ध पहिलोपटक ‘कार–टी सेल’ परीक्षण

खासगरी रक्त क्यान्सर उपचारमा प्रभावकारी देखिएको ‘काइमेरिक एन्टिजेन रिसेप्टर (कार)–टी सेल थेरापी’को नेपालमा सफल परीक्षण भएको छ। ल्युकेमिया र लिम्फोमालगायत विभिन्न प्रकारका रगतको क्यान्सरमा यो थेरापी उपयोगी हुने चिकित्सकले बताएका छन्। यो थेरापीको उत्पादन सेन्टर फर रिजेनेरेटिभ मेडिसिन नेपालले गरेको हो। यही माघ दोस्रो साता यसको परीक्षण सफल भएको सेन्टरले जनाएको छ। नेपालमा क्यान्सर उपचारमा यो परीक्षण कोसेढुंगा साबित हुने विश्वास चिकित्सकले गरेका छन्।

अमेरिकास्थित एस्ट्राजेनेका फार्मास्युटिकल्सकोअन्कोलोजी विभागका नेपाली वैज्ञानिक डा. सञ्जीवन गौतमसमेतको टोलीले नेपालमा यो थेरापीको सफल परीक्षण गरेको हो। प्रयोगशालामा थेरापी सफल भएको जानकारी सेन्टर फर रिजेनेरेटिभ मेडिसिनले सञ्चारकर्मीलाई गराएको हो। चिकित्सकका अनुसार क्यान्सर संक्रमित बिरामीबाट पहिला रगत निकालिन्छ। रगतबाट सेतो कोष छुट्याइन्छ। सेतो रक्तकोषबाट ‘टी सेल’ निकालिन्छ। त्यसपछि टी सेललाई जेनेटिक इन्जिनियरिङ गरिन्छ। यसबाट प्रयोगशालामा टी सेल वृद्धि गरिन्छ। वृद्धि गरिएको सेललाई पुनः बिरामीकै शरीरमा राखिन्छ। आफ्नै शरीरको सेल भएकाले यसले बिरामीलाई खासै असर नगर्ने चिकित्सक बताउँछन्।

सेन्टरले हालसम्म अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनबाट प्रमाणित सिडी–१९ कारको प्रयोगशालामा कार–टी सेलको सफलतापूर्वक परीक्षण गरेको हो। सेन्टरको सिडी–१९ कार–टी सेल स्विस औषधि निर्माता नोभार्टिस र गिलियाडको कार–टी सेलजत्तिकै प्रभावकारी देखिएको डा. गौतमले बताए। उच्च प्रविधिको यो प्रयोगशाला नेपालमा पहिलो पटक बनेको हो। हालै प्रयोगशालामा यसको सफल परीक्षण भइसकेको र एक वर्षभित्र बिरामीमा प्रयोग गरिने तयारीका साथ काम अघि बढिसकेको डा. गौतमले बताए।

कार–टी सेल थेरापी क्यान्सरको उपचारात्मक विधि मानिन्छ। यसअघि क्यान्सर उपचारमा शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी, इम्युनोथेरापी र टार्गेटेड थेरापी प्रयोगमा आइसके पनि विश्वमै कार–टी सेल थेरापी नयाँ उपचार पद्धति मानिन्छ। अन्तर्राष्ट्रिय बजारअनुसार हिसाब गर्दा यो थेरापीमा तीनदेखि पाँच करोड रूपैयाँ खर्च लाग्छ। तर नेपालको हकमा योभन्दा १० गुणा कम शुल्कमा कार–टी थेरापी सेवा उपलब्ध गराउने तयारी गरेको डा. गौतमले बताए।

‘कार–टी सेल थेरापीलाई नेपालमा १० गुणा कम लागतमा उपलब्ध गराउने उद्देश्य लिएका छौं,’ उनले 
भने। विभिन्न प्रकारका रगतको क्यान्सरमा सफलतापूर्वक परीक्षण भएको यो उपचार पद्धति नेपालमा प्रयोगमा आउँदा प्रतिवर्ष एक सय जनाभन्दा बढी बिरामीले लाभ लिन सक्ने बताइएको छ।

‘यसबाट प्रतिवर्ष एक सयभन्दा बढी क्यान्सरका बिरामीले लाभ लिन सक्ने प्रक्षेपण गरिएको छ,’ वीर अस्पतालकी मेडिसिन अन्कोलोजिस्ट डा. रमिला शिल्पकारले भनिन्, ‘बिस्तारै अरू उपचारमा पनि उपयोगी हुनेछ।’ वीर अस्पतालका कलेजो रोग विशेषज्ञ डा. सुधांशु केसीका अनुसार कार–टी सेल थेरापी क्यान्सरमा मात्र नभई कलेजो, मुटु, मधुमेह, अटोइम्युन (स्वः प्रतिरक्षा) रोगको उपचारमा समेत प्रभावकारी हुने बताए।

कार–टी सेल थेरापी अन्य क्यान्सर उपचारमा पनि प्रभावकारी बनाउन सकिने र यो सुविधा नेपालमा उपलब्ध गराउन सम्भव रहेको डा. गौतमले बताए। अमेरिकाको नेसनल क्यान्सर इन्स्टिच्युट र पेन्सिलभेनिया विश्वविद्यालयमा गरिएको अध्ययनमा कार टी सेल थेरापीबाट ९० प्रतिशतभन्दा बढी ‘बी सेल’ क्यान्सर पूर्ण रूपमा निको भएको पाइएको छ। डा. गौतमका अनुसार यो क्यान्सरका बिरामी कति छन् भन्ने आधारमा थेरापीको मात्रा उत्पादन गरिन्छ। पहिलो चरणमा करिब दुई सय मात्रा उत्पादन गरिने उनले बताए।

कार–टी सेल थेरापीले अबको केही वर्षमा क्यान्सर उपचार पद्धतिमा महत्त्वपूर्ण हिस्सा ओगट्ने बेलायतको कभेन्ट्री विश्वविद्यालयका डा. ओम कुर्मीले बताए। नेपालमा यो उपचारबारे चिकित्सक र बिरामी दुवैलाई पर्याप्त जानकारी नहुनु चुनौती रहेको डा. गौतम बताउँछन्। गौतमका अनुसार यो थेरापी उत्पादन र क्लिनिकल प्रयोगका लागि औषधि व्यवस्था विभाग, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लगायत निकायसँग अनुमति लिइसकेको छ र सेन्टरले टोखामा प्रयोगशाला भवन निर्माण गरिसकेको छ। आनुवांशिक वैज्ञानिक बलराम गौतमका अनुसार कार–टी सेल प्रविधिका लागि आवश्यक सामान पश्चिमा मुलुकबाट ‘फ्रिजिङ कन्डिसन’मा आयात गर्नुपर्ने हुँदा महँगो पर्ने र ढुवानीमा जटिलता आउन सक्ने भएकाले सरकारले सहजीकरण गर्नुपर्छ।

हालसम्म अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले ६ वटा कार–टी सेललाई मान्यता दिएको छ। अमेरिका, जर्मनी र ब्राजिलका संस्थामार्फत नेपालमा कार–टी सेललाई १० गुणा कम शुल्कमा उपलब्ध गराउन सम्भव देखिएको सेन्टरले जनाएको छ। पछिल्लो प्रविधि भित्रिएपछि अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि कायम हुने र क्यान्सरका बिरामीले पनि राहत पाउने वरिष्ठ अन्कोलोजिस्ट डा. विष्णुदत्त पौडेलले बताए।

प्रकाशित: २१ माघ २०८० ०६:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App