१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

अध्याराे शल्यक्रिया कक्षमा शिशुकाे मत्यु

यस्ता अस्पताल जहाँ बिरामीको मृत्यु सधैँ ‘विवादास्पद’ बन्छ

सुत्केरी व्यथाले च्यापेपछि लहान नगरपालिका–१२ मा डेरा गरी बस्ने ३० बर्सिया प्रभा साहका परिवारले मंगलबार राती एम्बुलेन्स चढाएर लहान स्थित ‘लिला मदन पोलिक्लिनिक एन्ड प्रसूति गृह’मा लगे।  

सोही दिन राती चिकित्सकले उनलाई भर्ना गरिदियो। बुधवार शल्यक्रियाबाट प्रसूतिका लागि शल्यक्रिया कक्षमा लगेको केही घण्टामै शिशुको मृत्यु भयो। चिकित्सक आत्तिएर शल्यक्रिया गरेको उनको पेट सिलाएर बिरामीलाई अर्को कक्षमा लगेर राख्न लगाए।

प्रभालाई उनको श्रीमान् राजेशसहित परिवारका सदस्यले सुत्केरी गराउनका लागि पोलिक्लिनिक लगेका थिए। 
परिवारका अनुसार डा. दीलिप साहले भिडियो एक्स-रे गरेर ‘बच्चा स्वस्थ छ सामान्य प्रसूति भइहाल्छ’ भने। ती चिकित्सकले बुधवार उनको शल्यक्रिया गर्नुपर्ने भन्दै परिवारको मन्जुरी मागे।

यसपछि डा. दीलिपले हतारिँदै प्रभालाई शल्यक्रिया कक्षमा लग्नुपर्ने भनेपछि अभिभावकले मन्जुरी पनि दिए। ढिला गरे जे पनि हुन सक्छ भनेर अत्त्याएपछि ‘जे गर्दा राम्रो हुन्छ त्यो गर्नुस्’ भनेर प्रभाका श्रीमान् राजेशले डा. साहलाई मन्जुरी पनि दिए।

‘हामीले राम्रो गर्न भनेका थियौ’, राजेशले भक्कानिँदै भने, ‘बच्चाको ज्यान बचाउन पो भनेको थिए, मारिदिन त मन्जुरी दिएको थिइन नि।’

‘सुरुदेखि नै हामीले बाहिर लग्नुपर्ने छ भने भन्नुस् भनिरहेका थियौँ’,  राजेशले भने, ‘ढुक्क हुनुस् केही हुँदैन भन्दै डाक्टर साहले विश्वस्त बनाए। पेट खोलेर बच्चा निकाले केही हुन्न भनेर शल्यक्रिया कक्षमा लगे। केही बेरमै डाक्टर अत्तालिँदै निस्के।’ उनले भने, ‘हेर्दाहेर्दै श्रीमतीलाई अप्रेशन कक्षबाट बाहिर निकाले। तर, बच्चा चिच्याएको आवाज नसुनेपछि मनमा चिसो पस्यो। दौडेर अप्रेशन कक्ष पुग्दा डा. दिलिपले बच्चा मरिसकेको भन्यो।

‘बच्चाको टाउको रगतमा लतपत थियो। कक्ष अन्धकार थियो। दुर्गन्धले धेरै बेर बस्न सक्ने अवस्था थिएन। संसार देख्न नपाउँदै शिशु(छोरा) मरेको खबरले रिँगटा चल्यो, म त्यहीँ थचक्क बसे, उनले भने।’

हामी सबै चिच्याउन थाल्यौ राजेशले भने, ‘प्रहरीलाई गुहार लगायौ। प्रहरी आए तर दोषीलाई पक्राउ गरेर हामीलाई निसाफ दिलाउनलाई होइन रहेछ। उनले गुनासो पोखे, ‘प्रहरी दोषी डाक्टरको सुरक्षामा आएको रहेछ। हामी जति प्रमाण पेस गर्दा पनि कुनै सुनवाइ भएन। बरु, प्रहरीले मृत शिशुको शव हटाउन तर्फ जोड लगाए।

बिहीबार दिउँसो जाहेरी दिनुस् अनुसन्धान गर्छौ भन्दै प्रहरीले शव उठाउन लगाए तर हाम्रो जाहेरी प्रहरीले लिएनन् राजेशले भने, ‘न हाम्रो जाहेरी दर्ता भयो न दोषी कोही पनि पक्राउ परेका छन्। दोषी डाक्टरमाथि कारबाही, अवैध धन्दा चलाउने अस्पतालमाथि कारबाही, पीडित परिवारलाई क्षतिपूर्तिलगायतको माग पीडित पक्षको छ।

लहान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जगदीश मण्डलका अनुसार यो स्वास्थ्य संस्था कानुन संवत् सञ्चालित छैन। यसको दर्ता, नवीकरण सबै सकिएको पाइएको छ। हामी स्थलगत अनुगमन गर्दा यो स्वास्थ्य संस्था कानुन विपरीत सञ्चालन भएको पायौँ मण्डलले नागरिकसँग भने, ‘अस्पताल वा पोलिक्लिनिकले पालना गर्नुपर्ने आधारभूत मापदण्ड पनि पूरा भएको पाएनौँ। अप्रेशन थिएटर भनिएको छ तर त्यहाँ बत्ती समेतको व्यवस्था छैन। जताततै फोहोर र दुर्गन्धले बसिसक्ने अवस्था छैन, उनले भने।

एउटै डाक्टरले सबै काम गरेको पाइयो उनले भने, ‘महिला, बच्चा, अप्रेशन सबै एउटै डाक्टर दिलिपले गरेको पाइयो। न रगतको व्यवस्था छ न बाल केयर युनिट छ उनले भने, ‘शल्यक्रिया त गर्नै पाउँदैन।’

नगरपालिकाका उपप्रमुख रामचलितर महतोका अनुसार यहाँ सामान्य मानिस पनि बिरामी पर्ने अवस्था देखियो। बत्तीको समेत व्यवस्था नभएको ठाउँमा शल्यक्रिया गरेर मानिसको ज्यान जोखिममा पार्नेलाई कानुनी दायरामा ल्याउँछौँ उपमेयर महतोले भने, ‘प्रहरीको समेत प्रतिवेदनको आधारमा यस स्वास्थ्य संस्थालाई सिल गर्छौँ।’ बाँकी कानुनी कारबाही प्रहरीले अघि बढाउने उनले बताए।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी भोला भट्टका अनुसार पीडित पक्षले दिएको किटानी जाहेरी तत्काल दर्ता गरेर कारबाही अघि बढाउन मिल्दैन। यो प्राविधिक अनुसन्धान भएकोले मेडिकल काउन्सिलबाटै प्राविधिक जाँच भएर आए मात्र कारबाही चलाउन मिल्छ।

पीडित राजेशका अनुसार लापरबाही मात्र होइन कानुनविपरित काम गरेर मान्छे मारे पनि डा. दिलिप बेपरवाह देखिन्थे। हामीलाई धम्काउँदै कुन अस्पतालमा मान्छे मरेको छैन भन्दै थिए, राजेशले भने, ‘प्रहरीको उपस्थितिमा डा. साहले हाँसाहाँसी हाम्रो मजाक उडाइरहेको थियो।

हामी न्यायका लागि गुहार माग्दा पनि पाएनौँ राजेशले भने, ‘यहाँ सेटिङमा कानुनलाई धज्जी उडाइरहेको प्रत्यक्ष हेर्न पायौँ। पैसा र पहुँच हुनेले जे गर्दा पनि कानुन नलाग्दो रहेछ।' उनले भक्कानिँदै भने, ‘आज म भोग्न बाध्य भएँ। छोरा मर्‍यो, श्रीमती मृत्यु शय्यामा छिन्। दोषी हाँस्दै रमाइरहेका छन्। म रुँदै न्यायका लागि भौँतारिँदै छु, उनी भन्छन्, ‘न्याय खोज्न कहाँ जाऊँ, सर।’

लिला मदन पोलिक्लिनिकको लापरबाहीले निर्दोषले ज्यान गुमाएको यो पहिलो घटना भने होइन। यस अघि पटक–पटक यस पोलिक्लिनिकमा निर्दोषले ज्यान गुमाएका छन्। तर, कहिल्यै कानुनी कारबाही भएको रेकर्ड छैन। 

निर्दोषको ज्यान लिएको आरोप यो पोलिक्लिनिकलाई पटक–पटक लाग्दै आएको छ। लहानको लिला मदन पोलिक्लिनिक प्रतिनिधि स्वास्थ्य संस्था मात्र हो। मधेस प्रदेशमा यस्ता स्वास्थ्य संस्था धेरै छन्।

गएको साउन १७ गते बुधवार सर्लाहीको कौडेना गाउँपालिका २ फुलपरासीका ४५ वर्षीय विन्देश्वर मण्डल उपचारका लागि जनकपुरधामस्थित ‘न्युरो हस्पिटल एन्ड रिसर्च सेन्टर’मा भर्ना भए। चिकित्सकले तत्कालै टाउकाको शल्यक्रिया नगरे जे पनि हुन सक्ने भनेपछि मण्डलका आफन्तजन अतालिए। अस्पताल पक्षले तत्काल एक लाख रुपैयाँ जम्मा गरेर शल्यक्रियाका लागि हस्ताक्षर गर्न भनेपछि मण्डलका आफन्त हतारिए। रकम व्यवस्था भएपछि मण्डललाई शल्यक्रिया कक्षमा लगियो।

शल्यक्रिया कक्षमा पुर्‍याएको आधा घण्टा नबित्दै चिकित्सकले बाहिर निस्किएर भनेछन्, ‘विन्देश्वरका दुवै मिर्गौला फेल छन्। शल्यक्रिया गरे निको हुन्छ।’

शल्यक्रियापछि मण्डलको अवस्था सुधारको साटो झन् खराब हुँदै गएपछि अस्पतालले उपचार नहुने भन्दै घर लैजान भन्यो। उपचार खर्चबापत २ लाख ४० हजार रुपैयाँ लिएर बिरामीलाई जबरजस्ती घर जान लगाएको आफन्त रामजीवनले बताए। अस्पतालले घर पठाएको भोलिपल्टै साउन २० गते बिहान विन्देश्वरको मृत्यु भयो। पीडित पक्षले न्यायका लागि गुहार लगाए पनि कतै सुनवाइ भएन।

गत जेठ ३ गते साँझ हावाहुरी चल्न थालेपछि धनुषाको बटेश्वर गाउँपालिका २ धुमासनका बयालिस वर्षीय सञ्जयकुमार महतो घरतर्फ दौडिए। दौडने क्रममा उनी घरनजिकै ट्याक्टरमा ठोक्किन पुगे। त्यहीँ बेहोस भएर लडे। उनको परिवारले हतार हतार एम्बुलेन्स चढाएर बिरामीलाई जनकपुरधामको न्युरो हस्पिटल पुर्‍याए।

चिकित्सकले महतोलाई हेरेर यहीं निको हुन्छ भन्दै भर्ना गर्न लगाए। टाउकोमा गम्भीर चोट लागेको उनको सिटी स्क्यान गर्नुपर्ने भयो, तर अस्पतालमा सिटी स्क्यान मेसिन थिएन। गम्भीर अवस्थामै सञ्जयलाई एम्बुलेन्समा राखेर दुई किलोमिटर टाढाको सिटी स्क्यान सेन्टर लगियो । २/३ घण्टा चेकजाँचमै बित्यो।

घाइते सञ्जयका साला सत्रोहन महतोका अनुसार राति २ बजेतिर टाउकोको शल्यक्रिया गरियो। भेन्टिलेटरमा राखेर उपचार हुँदै थियो। भेन्टिलेटरबाट निकालेर सिटी स्क्यान गराउन तीन दिनसम्म लैजाने–ल्याउने गरियो। यसरी ओहोरदोहोर गराउँदा बिरामीको स्वास्थ्य अवस्था झनै बिग्रियो। जेठ ११ गते हस्पिटलले उपचार खर्चबापत ६ लाख सतासी हजार रुपैयाँ बुझाउन लगाएर बाहिर लैजान भन्यो। आफन्तले त्यति बेलासम्म सिटी स्क्यान, औषधि र उपचार बापतको अन्य खर्चसमेत गरेर दुई लाख ९० हजार बुझाइसकेका थिए। अस्पतालमा जेठ १३ गते सञ्जयको मृत्यु भयो।

यी घटनापछि यो अस्पताल विना दर्ता सञ्चालनमा रहेको रहस्य खुल्यो। यो अस्पताल डेढ वर्षदेखि मधेस प्रदेशको राजधानी जनकपुरधामको विषहारा चोकमा रहेको छ।

उपचार गराएर सुरक्षित घर फर्कने विश्वाससहित गत साउन ३ गते जनकपुरधामको सुरक्षा हस्पिटलमा भर्ना भएकी जनकपुरधाम पन्ध्र कपिलेश्वरकी २८ बर्सिया सोनिया साह सुरक्षित घर फर्किनन्। पाठेघरको शल्यक्रिया गराएको दुई दिनपछि उनको मृत शरीर लिएर आफन्त घर फर्किए। मृत्युपश्चात् मृतकका आफन्तजनले कारबाहीको माग गर्दै अस्पतालमा प्रदर्शन गरे। अस्पताल पक्षले मृतक पक्षसँग लेनदेन गरी कारबाही प्रक्रिया रोके।

मानिसको सबैभन्दा महत्त्वपूर्ण सम्पत्ति भनेकै स्वास्थ्य हो। तर, मधेस प्रदेशमा सञ्चालित निजी अस्पतालमा पटक पटक बिरामीको ज्यानसँग खेलबाड हुँदा पनि सरकार निरीह देखिन्छ। सरकारले कुनै कारबाही नगरेपछि यहाँ गलत गर्नेहरूको मनोबल बढ्दै गएको छ।

मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. राजीव झाले मधेस प्रदेशमा दर्ता भएका र नभएका स्वास्थ्य संस्थाहरूको यकिन गर्ने काम भइरहेको बताए। ‘त्यसपछि हामी दर्ता नभएका संस्थाहरू माथिको कारबाही अघि बढाउनेछौ’, उनले नागरिकन्यूजसँग भने।

पोलिक्लिनिक, क्लिनिक र मेडिकेयर सेन्टरले बिरामीलाई पहिलो चरणको सामान्य उपचारभन्दा भर्नासहित २४ घण्टा राखेर उपचार गर्न नपाउने कानुनी व्यवस्था छ। तर मधेस प्रदेशका जिल्लाहरूमा सञ्चालित पोलिक्लिनिक र मेडिकेयर सेन्टरले बिरामी भर्ना गरेर उपचार, शल्यक्रिया, गर्भपतन लगायत सबै काम खुलेआम गरिरहेका छन्। 

प्रकाशित: १९ माघ २०८० १०:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App