१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

कोरोनाको नयाँ भेरियन्ट ‘जिएन वान’ फैलिन सक्छ, भीडमा नजानु !

उसै त चिसो मौसम धेरै मौसमी फ्लुजन्य रोगहरु सर्ने जोखिम हुन्छ। त्यसमा पनि अहिले छिमेकी राष्ट्र भारत र अरु देशमा फैलिरहेको नयाँ कोरोना भाइरसको नयाँ भेरियन्ट ‘जिएन वान’ फैलिन सक्छ। सकेसम्म भीडमा नजान र जानै परेमा जनस्वास्थ्यको मापदण्ड पालना गर्न चिकित्सकहरूले सुझाएका छन्।

नेपालको भारतसँगका सीमा क्षेत्रमा समेत यो जिएन वान भेरियन्ट संक्रमण फैलिएको र त्यो नेपालमा पनि फैलिने जोखिम भएकोले सकेसम्म भीडमा नजान र जानै परेमा मास्कको प्रयोग गर्न उनीहरुले सुझाएका हुन्। ‘ सकेसम्म भीडमा नगएकै  राम्रो,जानै परेमा मास्कको प्रयोग गर्नु’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय उपचारात्मक महाशाखाका प्रमुख डा। अनुपराज बास्तोलाले भने।

चिकित्सकका अनुसार यो नयाँभेरियन्ट छिटो सर्ने भएकोले समुदायमा पुगेमा वृद्धा,दीर्घ रोगीहरूमा संक्रमण भई उनीहरूको स्वास्थ्यमा जटिलता आउन सक्छ। स्वस्थ व्यक्तिको तुलनामा वृद्ध–वृद्धा र दीर्घरोगीको प्रतिरक्षा प्रणाली कमजोर हुने भएकोले उनीहरूमा जटिलता आउने सम्भावना हुन्छ। ‘जोखिम समूह धेरैमा संक्रमण भएमा अस्पताल भर्ना दर पनि बढी हुन्छ’ डा। बास्तोलाले भने। यो समूहलाई सुरक्षित गर्नको लागि पनि भिडभाडजन्य कार्यक्रममा सहभागी नहुनु उचित भएको उनले बताए।

छिमेकी राष्ट्र भारतको सीमा क्षेत्रमा  ‘जेएन वान’ सबभेरियन्ट फैलिसकेको र सीमाबाट आवत–जावत खुल्ला भएकोले नेपालमा जुनसुकै समयमा फैलिने जोखिम रहेको शुक्रराज ट्रपिकल तथा  सरुवा रोग अस्पतालका अनुसन्धान शाखाका संयोजक डा। अनुपराज बास्तोलाले बताए। ‘खुल्ला सीमाना छ, निर्वाद रुपमा आवत जावत छ, फैलिने जोखिम छ’ उनले भने। फैलिने जोखिम बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैलाई सतर्क हुन सूचना जारी गरेको राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखा कीटजन्य रोग शाखाका प्रमुख डा। हेमन्त ओझाले बताए। नेपालमा यो भेरियन्ट आएको अहिलेसम्म पुष्टि नभएको र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले निरन्तर नमुना लिई जिन सिक्वेन्सिङ गरिरहेको डा। ओझाले बताए।

स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयले मङ्गलवार सूचना जारी गर्दै भिडभाड हुने स्थानहरू मेला,पाटी,भोज जस्ता ठाउँहरूमा जनस्वास्थ्यको मापदण्ड पालना गर्न सुझाएको छ। मास्कको प्रयोग, भौतिक दुरी कायम राख्ने र हातको सफाइ राख्न मन्त्रालयले अपिल गरेको छ।

डा.बास्तोलाले जोखिम समूहले कोभिड १९ विरुद्धको खोप लगाउन सुझाए। यो मौसममा कोभिड १९ मात्र नभएर मौसमी फ्लुहरू समेत संक्रमण हुने भएकोले जनस्वास्थ्यको मापदण्ड पालना गर्नु उचित उपाय भएको डा। पुन सुझाउँछन्। उनले भने, ‘कोरोनाको जेएन वान भाइरस संक्रमण नभए पनि अरु सरुवा रोगको जोखिम हुन्छ, मास्क लगाएकै राम्रो’ उनले भने। चिसोको कारण मानिसहरू नजिक गुजुमुजु परेर बस्ने भएकोले पनि अन्य मौसमी रोगहरूको सङ्क्रमणको जोखिम हुने चिकित्सक बताउँछन्।

चिकित्सकका अनुसार जेएन भेरियन्ट अहिलेसम्म फैलिएका देशहरूमा बढी घातक नदेखिएकोले सामान्य व्यक्तिहरू भने जोखिममा नरहेको बताएका छन्। यो भेरियन्ट ओमिक्रोनकै प्रजाति भएकोले केही समयपछि आफै परिवर्तन भएर जाने डा। बास्तोलाले बताए। यो भेरियन्ट हालसम्म पोर्चुगल,युके, नेदरल्याण्ड,स्पेन लगायतका देशहरूमा फैलिसकेको छ।

प्रकाशित: १८ पुस २०८० १४:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App