१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

कोरोना नयाँ प्रजाति बिए २.८६ः विश्वभरि चासो र सतर्कता

अत्यधिक उत्परिवर्तनसहितको कोभिड–१९ को नयाँ भेरियन्ट बिए २.८६ विश्वभरि फैलिन सक्नेमा चिन्ता र चासो बढेको छ। तीन महादेशमा देखिएको यो भेरियन्टले सन् २०२१ को सुरुमा दक्षिण अफ्रिकामा देखिएको तथा केही समयमै विश्वभर फैलिएको ओमिक्रोन भेरियन्टको संस्मरण गराएको छ। वैज्ञानिक जर्नल ‘नेचर’का अनुसार केही सीमित संक्रमितमा यो भेरियन्ट इजरायल, डेनमार्क, बेलायत र अमेरिकामा देखिएको छ। विश्व स्वास्थ्य संगठनले यो भेरियन्टलाई नजिकबाट ‘निगरानी’ गरिरहेको जनाएको छ। वैज्ञानिकले यो भेरियन्टका सम्बन्धमा अनुसन्धान थालिसकेका छन्।  

गत साता मात्र विश्वका विभिन्न प्रयोगशालाले बिए २.८६ भेरियन्ट (प्रजाति) पत्ता लगाएका हुन। यो हालसम्म देखिएका अन्य भेरियन्टभन्दा फरक छ। यो प्रजातिको भाइरसको स्पाइक प्रोटिनमा कैयन परिवर्तन देखिएको छ। स्पाइक प्रोटिनले शरीरका स्वस्थ कोषिकामा भाइरस प्रवेश गर्न सहजीकरण गर्छ र यो संक्रमणको पहिलो चरण हो। यही कारणले वैज्ञानिक यो प्रजातिलाई लिएर सतर्क र चिन्तित बनेका हुन्।

सन् २०१९ को अन्त्यदेखि सुरु भएको कोभिड–१९ महामारीका विभिन्न लहर आइसकेको, अधिकांश मानिसले खोप तथा बुस्टर खोप लगाएका कारण प्रतिरक्षा प्रणाली यसअघिको भन्दा अत्यधिक रहेकाले नयाँ भेरियन्टले ओमिक्रोनले जस्तो प्रभाव नपार्ने अनुमान वैज्ञानिकको छ। तर यो भेरियन्ट सुरुवाती चरणमा भएकाले केही भन्न नसकिने वैज्ञानिक बताउँछन्।  

कोरोना भाइरसको नयाँ भेरियन्टले हाल विभिन्न मुलुकमा फैलिरहेका इजी ५ लगायतका प्रजातिसँग प्रतिस्पर्धा गर्नेछ। स्पाइक प्रोटिनमा यसले गर्ने हस्तक्षेपका कारण हाल प्रयोगमा आइरहेका खोपलाई अद्यावधिक गर्नुपर्ने अवस्था आउन सक्ने वैज्ञानिकले बताएका छन्।

वैज्ञानिकका अनुसार यो भेरियन्ट ओमिक्रोनको उप–प्रजाति बिए २ बाट विकसित भएको हो। सन् २०२२ को सुरुमा बिए २ बाट संक्रमितको संख्या ह्वात्तै बढेको थियो। बिए २ भन्दा नयाँ भेरियन्ट बिए २.८६ मा ३४ थरिका परिवर्तन भएको पाइएको छ।

विशेषगरी स्पाइक प्रोटिनमा देखिएका यी परिवर्तन कोभिड–१९ का दीर्घ बिरामीमा पाइएकाले यो भेरियन्ट यिनै दीर्घ बिरामीबाटै विकास भएको हुन सक्ने वासिङ्टनस्थित फ्रेड क्यान्सर सेन्टरका भाइरस उद्विकास जीवशास्त्री जेसे ब्लोमलाई उद्धेत गर्दैै नेचर जर्नलले लेखेको छ।  

यसरी थपियो चिन्ता  

बिए २.८६ कोरोना भाइरसका अन्य भेरियन्ट भन्दा धेरै हिसाबले फरक पाइएको छ। यही कारणले वैज्ञानिकले कोरोना महामारीको सुरुवाती र ओमिक्रोन चरणमा देखिएका अल्फा र डेल्टा भेरियन्टसँग यसको तुलना गरेका छन्। विशेषगरी नयाँ भेरियन्ट आएका परिवर्तन शरीरमा हुन सक्ने संक्रमण रोक्ने तथा भाइरसलाई निष्क्रिय पार्ने स्पाइक प्रोटिनका अवयवहरूमा देखिएकाले यसले यसअघिका संक्रमणका कारण विकास भएको प्रतिरक्षा प्रणाली र बुस्टर खोपले विकास गरेको प्रतिरक्षालाई छल्न सक्ने देखिएको छ। ‘यिनै कारणले यो भाइरसप्रति हाम्रो चासो बढेको हो,’ अमेरिकाको ब्राउन विश्वविद्यालयका जनस्वास्थ्य अनुसन्धानकर्ता आशीष झाले नेचर जर्नलसँग भनेका छन्।  

नयाँ भेरियन्टको भौगोलिक वितरणले पनि चिन्ता थपेको छ। फरकफरक महादेशमा देखिएका नयाँ भेरियन्टका बिरामीहरूमा एकआपसमा कुनै अन्तक्र्रिया देखिएको छैन। यो भेरियन्टको संक्रमण देखिएका डेनमार्कका ३ संक्रमित पनि फरक–फरक क्षेत्रका हुन। यस हिसाबले यो भेरियन्ट प्रसारण भैसकेको मानिएको छ। बेलायतमा यो भेरियन्टबाट संक्रमित एकजनाले पछिल्ला दिनमा कतै यात्रा नगरेको पाइएकाले यो भाइरस समुदायस्तरमा फैलिएको हुन सक्ने वैज्ञानिक आशंका छ।  

अनुसन्धानकर्ताको चासो

जनस्वास्थ प्रयोगशालाहरूले नयाँ भेरियन्टको प्रसारण कुन तहसम्म पुगेको छ भन्ने यकिन गर्न संक्रमितबाट नमुना संकलन गरेका छन्। यो भेरियन्टको प्रसारण व्यापक भएको अवस्थामा यसले हाल फैलिरहेका इजी ५ लगायतका भेरियन्टसँग प्रतिस्पर्धा गर्नेछ। स्पाइक प्रोटिनमा यसले गर्ने हस्तक्षेपका कारण हाल प्रयोगमा आइरहेका खोपलाई अद्यावधिक गर्नुपर्ने हुन सक्छ।  

यसअघि विकसित भएको प्रतिरक्षा प्रणालीका कारण यो भेरियन्टका कारण मानिस गम्भीर हिसाबले बिरामी नहुने जीवशास्त्री ब्लोमको तर्क छ। ब्राउन विश्वविद्यालयका जनस्वास्थ्य अनुसन्धानकर्ता झा भने यो भेरियन्टलाई अत्यन्त नजिकबाट निगरानी गर्नुपर्ने बताउँछन्।  

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुन नयाँ भेरियन्टले नसोचेको चरित्र देखाएका कारण विश्वभरि चासो र चिन्ता बढेको बताउँछन्। उनले गत मे महिनामा विश्व स्वास्थ्य संगठनले कोरोना महामारीलाई विश्वव्यापी स्वास्थ्य आपत्कालको सूचीबाट हटाएको उल्लेख गर्दै डा. पुनले नयाँ भेरियन्टले तत्काल ठूलो महामारी सिर्जना गर्ने सम्भावना भने कम रहेको बताए। ‘तर भाइरसमा देखिएका उत्परिवर्तन र भौगोलिक वितरणको अवस्थाले नेपाल पनि सतर्क र सावधान रहनुपर्छ,’ पुनले भने।

प्रकाशित: ६ भाद्र २०८० ०१:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App