५ भाद्र २०८२ बिहीबार
image/svg+xml ६:३६ पूर्वाह्न
शिक्षा

एसइई नतिजामा छात्रा किन पछाडि?

राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) को यसपटकको नतिजा विश्लेषण गर्ने हो भने सामुदायिक विद्यालयमा गत वर्षभन्दा १० प्रतिशतले सुधार भएको छ। यसलाई सकारात्मक रुपमा हेर्न सकिन्छ। तर अर्कोतर्फ तथ्याँक हेर्दा छात्राहरु सबै ग्रेडमा पछाडि परेका छन्।

यति मात्र होइन, ननग्रेड अर्थात् फेल हुनेको हुलमा छात्रा नै बढी छन्। तथ्याँक हेर्दा यस पटकको एसइईमा ४ लाख ३८ हजार ८ सय ९६ परीक्षार्थीले सहभागिता जनाएका थिए। त्यसमध्ये सामुदाकिय विद्यालयतर्फ ३ लाख ५ हजार १ सय २७ परीक्षार्थीको सहभागिता रहेको थियो भने संस्थागततर्फ १ लाख ३३ हजार ७ सय ६९ परीक्षार्थी सहभागी थिए। नतिजा हेर्दा सामुदायिकतर्फ ५१.५१ प्रतिशत अर्थात् करिब ५२ प्रतिशत नतिजा छ।

गत वर्ष सामुदायिकतर्फको नतिजा ४२ प्रतिशत मात्र रहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए। संस्थागततर्फको हेर्दा गत वर्ष ८० प्रतिशत नतिजा रहेकोमा यस वर्ष ८५ प्रतिशत रह्यो । एकातिर सामुदायिक विद्यालयको नतिजा सुधार हुँदै छ भने अर्कोतर्फ परीक्षामा सहभागिता जनाएका छात्राहरुको फेल हुने संख्या बढी देखिएको छ। यति मात्र होइन, छात्राहरु हरेक ग्रेडमा पछाडि हुनुले राज्यले अब यसबारे गहिरो अध्ययन अनुसन्धान गर्नुपर्ने अध्यक्ष शर्माको सुझाव छ।

राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको एसइईको नतिजा गत वर्षको भन्दा सुधारोन्मुख छ। विद्यार्थीले पढे र शिक्षकले पनि परिश्रम गरेर पढाएकै कारण यस पटकको नतिजा सुधार भएको देखिन्छ। किनभने गत वर्षको परीक्षामा पास प्रतिशत ३५ अंक कायम गरिएपछि विद्यार्थीमा पढ्नुपर्ने र शिक्षकमा पढाउनैपर्ने, सिकाउनै पर्ने भावना बढ्यो। यसकारण एसइई २०८१ को नतिजामा कुल विद्यार्थी ६१.८१ प्रतिशत पास भाए। अर्थात् कुल सहाभागी परीक्षार्थी ४ लाख ३८ हजार ८ सय ९६ मध्ये २ लाख ७१ हजार २ सय ९९ विद्यार्थी ग्रेडेड भएका छन्।

 गत वर्षको तुलनामा करिब १४ प्रतिशतले समग्र नतिजामा सुधार हुनु राज्यका लागि पनि सकारात्मक पक्ष हो। यसपटकको एसइई नतिजा राम्रो हुनुमा विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समितिको अथक प्रयास कार रह्यो । पालिकाहरुको पनि सकारात्मक प्रयासले नतिजा राम्रो भयो। तर छात्राहरु हरेक ग्रेडमा पछाडि पर्नु र फेल हुनेमा पनि छात्रा नै बढी हुनुले गम्भीर प्रश्न खडा गरेको छ।

छात्रा किन पछाडि?

नतिजा हेर्दा परीक्षामा कुल सहभागीमध्ये छात्राहरु २ लाख १६ हजार ९ सय ७७ र छात्रहरु २ लाख २१ हजार ८ सय ९५ जना थिए। जसमध्ये ननग्रेड हुने छात्राहरु ८७ हजार ८ सय १२ अर्थात् ४०.४७ प्रतिशत छन् भने छात्रहरु ३५.९५ प्रतिशत छन्। संख्यामा हेर्दा ७९ हजार ७ सय ७२ छात्र ननग्रेड छन्।

ग्रेडेड भएको समूहमा पनि सबै समूहमा छात्रा पछाडि नै छन्। यसपटक सबैभन्दा माथिलो जिपिए ३.६० देखि ४ ल्याउनेहरु ४८ हजार १ सय ७७ छन्। जसमध्ये छात्राको संख्या १०.२३ प्रतिशत छ भने छात्रको संख्या ११.७१ प्रतिशत छ।

यसैगरी जिपिए ३.२० देखि ३.६० ल्याउनेहरु ८१ हजार ३ सय ८५ रहेकोमा छात्राहरु १७.६१ प्रतिशत छात्रहरु १९.४६ प्रतिशत छन्। यसैगरी जिपिए २.८० देखि ३.२० ल्याउनेहरु ८९ हजार १ सय २४ छन्। जसमध्ये छात्राहरुको संख्या १९.८८ प्रतिशत र छात्रको संख्या २०.७२ प्रतिशत छ। ‘यसपटक माथिलो जिपिए ३.६८ देखि ४ ल्याउनेहरु ४८ हजार १ सय ७७ जना छन्। यो राज्यका लागि पनि सकारात्मक पक्ष हो। यसले विद्यार्थीमा पढ्नैपर्ने र शिक्षकमा अब नपढाइ नहुने सोच आयो। पालिकाहरुले पनि विद्यार्थीको अपनत्व लिएर एसइईको तयारीमा जुटे,’ बोर्डका अध्यक्ष शर्माले भने, ‘बोर्डले पनि प्रश्नपत्र निर्माण तथा उत्तरपुस्तिका परीक्षणसम्बन्धी तालिम सञ्चालन गरेकाले सार्थकता पायो।’

उनले थपे, ‘सामुदायिकको नतिजा सुधार हँुदै गएको भए पनि अझै थप सुधार गर्न विद्यालय तहको तल्लो कक्षादेखि नै सुधार गर्नुपर्छ। छात्राहरु अझै पनि सबै ग्रेडमा पछाडि देखिएका छन्। फेल हुने पनि छात्राको संख्या बढी छ। अब राज्यले यसतर्फ संवेदनशील भई किन छात्रा कमजोर भए भन्नेबारे गहन अध्ययन अनुसन्धान गरी सुधार गर्नेतर्फ जोड दिनुपर्छ।’ परीक्षामा सहभागी छात्राहरुको संख्या छात्रको तुलनामा ४ हजार ९ सय १८ ले कमी थियो।

सामुदायिकतर्फ माथिलो जिपिए ल्याउने ३६ प्रतिशत

यस पटक नतिजामा सुधार आएसँगै माथिलो जिपिए ल्याउनेहरु सामुदायिक विद्यालयका ३६.३१ प्रतिशत छन्। सामुदायिक विद्यालयबाट जिपिए २.४० देखि ४ जिपिए ल्याउने विद्यार्थीको संख्या १ लाख १० हजार ८ सय १० छ । गत वर्ष तल्लो जिपिए ल्याउनेहरु सामुदायिकमा बढी थिए।

सुदूरपश्चिम प्रदेश सबैभन्दा कमजोर

यसपटक सुदूरपश्चिम प्रदेशको नतिजा सबैभन्दा कमजोर रहेको छ। सबैभन्दा राम्रो नतिजा बागमती प्रदेशले हात पारेको छ। मधेस प्रदेशको नतिजा भने मध्यमस्तरमा रहेको छ।

सुदूरपश्चिम प्रदेशको नतिजा निकै कमजोर रह्यो। अर्थात् ५८.३७ प्रतिशत विद्यार्थी एनजी (फेल) भए । उक्त प्रदेशमा ४१.६३ प्रतिशत मात्र ग्रेडेड छन् । जबकी मधेस प्रदेशको नतिजा सुदूरपश्चिमभन्दा केही हदसम्म राम्रो छ। मधेस प्रदेशमा ४५.७८ प्रतिशत विद्यार्थी पास अर्थात ग्रेडेड छन् भने ननग्रेडेडको संख्या ५४.२२ प्रतिशत छ । यसकारण मधेश प्रदेश मध्यमस्तरको नतिजामा परेको छ।

सबैभन्दा राम्रो नतिजा बागमती प्रदेशको छ । यस प्रदेशमा ७८.५६ प्रतिशत विद्यार्थी पास अर्थात ग्रेडेड भएका छन् भने २१.४४ प्रतिशत विद्यार्थी ननग्रेड छन्। गण्डकी प्रदेशको एसइई नतिजा ७०.७३ प्रतिशत छ। गण्डकीमा ननग्रेड संख्या २९.६३ प्रतिशत छ। यसैगरी कोसी प्रदेशमा ६६.८३ प्रतिशत ग्रेडेड र ३३.०७ ननग्रेड छन्। लुम्बिनी प्रदेशमा एसइई नतिजा पनि स्तरीय नै छ। यस प्रदेशमा ६२.१२ प्रतिशत विद्यार्थी ग्रेडेड र ३७.८८ ननग्रेड छन्। कर्णाली प्रदेशको नतिजा ५६.९१ प्रतिशत छ भने ननग्रेड विद्यार्थी ४३.०९ प्रतिशत छन्।

बोर्डका अध्यक्ष शर्माले सहरी क्षेत्र र सेवासुविधा सम्पन्न भएको प्रदेशको नतिजा तुलनात्मक रुपमा स्तरीय रहेको बताए। ‘सहरी क्षेत्र र निजी विद्यालय धेरै भएका प्रदेशहरुको नतिजा राम्रो छ,’ अध्यक्ष शर्मा भन्छन्, ‘सुदूरपश्चिम र मधेस प्रदेशमा विद्यार्थी संख्या पनि धेरै छन्। यसकारण पनि नतिजा मध्यम स्तरको हुन सक्छ। तर यसतर्फ पनि अनुसन्धान गरी नतिजा सुधारमा जोड दिनुपर्छ।’

उनले थपे, ‘कोसी, बागमती, लुम्बिनी, गण्डकी प्रदेशमा बढी सहरी क्षेत्र छ। सेवासुविधाको हिसाबले पनि राम्रो र निजी विद्यालय पनि धेरै भएका प्रदेश हुन् यी प्रदेश। यसकारण पठनपाठन, शिक्षक उपलब्धता र शिक्षण सिकाइ सुविधा पनि बढी सहरी क्षेत्रमा भएकाले यस्ता प्रदेशको नतिजा राम्रो छ। अब राज्यले कमजोर नतिजा भएका सुदूरपश्चिम, मधेस र कर्णाली प्रदेशको शैक्षिक स्तर उकास्न जोड दिनुपर्ने आवश्यक देखियो।’

प्रकाशित: २ श्रावण २०८२ ०८:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App