नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी २०८४ सालको निर्वाचनमा पार्टीले एकल बहुमत ल्याएर सरकार बनाउनुपर्ने बताएका छन्।
पार्टीको शुभेच्छुक संस्था समन्वय विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन्।
उनले पार्टीका सबै भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई अझ बढी क्रियाशील र गतिशील बनाउन निर्देशन दिए। पार्टीभित्र बृहत् एकता कायम गर्दै आगामी चुनावमा कांग्रेसको बहुमतको स्थिर सरकार बनाउने दिशामा लाग्न उनले सबैलाई आग्रह गरे।
सभापति देउवाले समाजलाई विभाजित गर्ने प्रयासहरू भइरहेको उल्लेख गर्दै त्यस्ता प्रवृत्तिहरूलाई चिर्दै अझ बढी सशक्त र क्रियाशील हुनुपर्नेमा जोड दिए ।
‘आगामी निर्वाचनमा बहुमत ल्याई नेपाली कांग्रेसको सरकार, स्थिर सरकार बनाउने तर्फ तपाईंहरू लाग्नुस्,’ उनले भने, ‘पार्टीलाई बलियो बनाउने जिम्मेवारी हामी सबैको काँधमा छ।’
उनले पार्टीका सिद्धान्त र विचारलाई जनतामाझ पुर्याउन सबैले समर्पणका साथ मेहनत गर्नुपर्ने आवश्यकता औंल्याए।
प्रकाशित: २ भाद्र २०८२ १७:०७ सोमबार





