३ चैत्र २०८२ मंगलबार
image/svg+xml
शिक्षा

सात प्रदेशका आठ उत्कृष्ट सामुदायिक विद्यालय ललितपुरमा सम्मानित

शिक्षामन्त्रीको आग्रह : अझै राम्रो गर्नुहोस्

पछिल्लो समय अध्ययन अध्यापनमा उत्कृष्ट नतिजा ल्याएका सात प्रदेशका सात सामुदायिक विद्यालयलाई ललितपुरमा सम्मान गरिएको छ । केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि.ले आयोजना गरेको ‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ अन्तर्गत उनीहरुलाई सम्मान गरिएको हो ।  

शिक्षा क्षेत्रमा देखिएको कार्यदक्षता, शैक्षिक गुणस्तर, पूर्वाधार, पठनपाठन शैली र सामाजिक उत्तरदायित्वका आधारमा उनीहरुलाई सम्मान गरिएको केन्द्रबिन्दुका प्रवन्ध निर्देशक विदुर खतिवडाले जानकारी दिए ।  

बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयलाई सर्वोत्कृष्ट विद्यालय घोषित गरिएको थियो । यस्तै कोशी प्रदेशको ओखलढुंगामा रहेको गोल्मादेवी मावि, मधेश प्रदेशको रौतहटमा रहेको बिपी कोइराला आदर्श मावि, बागमती प्रदेशको काठमाडौंमा रहेको विश्व निकेतन मावि, गण्डकी प्रदेशको पोखरामा रहेको अमरसिंह मावि, लुम्बिनी प्रदेशको दाङमा रहेको श्री मावि, कर्णाली प्रदेशमा रहेको सारदा जनकल्याण मावि र सुदूरपश्चिमको बैतडीमा रहेको ज्ञानेश्वर माविलाई सो अवसरमा सम्मान गरिएको थियो । 

उनीहरुलाई सम्मान गर्दै शिक्षा मन्त्री रघुजी पन्तले यो सम्मानले विद्यालयहरुलाई थप उर्जा मिल्ने विश्वास गर्दै आगामी दिनमा अझै राम्रो गर्न आग्रह गरेका थिए ।  

कार्यक्रममा शिक्षासेवी एवं पूर्वराज्यमन्त्री उमेश श्रेष्ठलाई ‘शिक्षा क्षेत्रका प्रोज्ज्वल नक्षत्र’ तथा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा, चौधरी ग्रुपका प्रबन्ध निर्देशक अरुण चौधरी र नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बराललाई ‘शिक्षा विशेष सम्मान’ प्रदान गरिएको थियो। शिक्षाविद्हरू प्रा.डा. प्रकाशमान श्रेष्ठ, प्रा.डा. गणेशबहादुर सिंह र खेम आर लकाईलाई ‘शिक्षा सम्मान’ प्रदान गरिएको थियो ।  

उत्कृष्ट नतिजा ल्याउने देशभरका झण्डै दुई दर्जन संस्थागत विद्यालयलाई सोही कार्यक्रममा सम्मान गरिएको प्रवन्ध निर्देशक खतिवडाले जानकारी दिए ।  

कार्यक्रममा  ‘के नेपाल शैक्षिक हब बन्न सक्छ ?’ शीर्षकमा पूर्वशिक्षामन्त्री विद्या भट्टराई, प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिका सभापति अम्मरबहादुर थापा, शिक्षासेवी सीईओ खेमराज लकाई र इक्यानका अध्यक्ष शेषराज भट्टराईले आआफ्नो धारणा राखेका थिए । 

प्रकाशित: ३१ असार २०८२ १६:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App