राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। सोमबार बसेको बोर्ड बैठकको निर्णयअनुसार नतिजा प्रकाशन गरिएको हो।
यसपटक परीक्षामा सहभागीमध्ये ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। जुन गत वर्षको तुलनामा उल्लेख्य सुधार हो। गत वर्ष ५२ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए।
गत वैशाखमा सञ्चालित परीक्षामा नियमिततर्फ ३ लाख ९५ हजार र आंशिकतर्फ १ लाख १५ हजार गरी कुल ५ लाख ११ हजार परीक्षार्थी सहभागी थिए।
देशभरका ५ हजार २०२ विद्यालयका विद्यार्थीका लागि १ हजार ५९१ परीक्षा केन्द्र तोकिएको थियो।
यस वर्ष नेपाल शिक्षक महासंघको आन्दोलनका कारण वैशाख ११ गतेदेखि तोकिएको परीक्षा १० दिन पछि सरेको थियो। जेठ २ गते परीक्षा सम्पन्न भएपछि बोर्डले उत्तरपुस्तिका परीक्षण लगायतको काम थालेको थियो।
बोर्डको लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार, प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अंक प्राप्त नगर्ने विद्यार्थीको नतिजामा नन-ग्रेडेड उल्लेख गरिन्छ।
प्रकाशित: १९ श्रावण २०८२ १८:३५ सोमबार