७ वैशाख २०८१ शुक्रबार
शिक्षा

विद्यालय बन्द गर्न सिफारिस

बढ्दो संक्रमणलाई ध्यानमा राख्दै कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को बैठकले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन नदिन सरकारलाई सिफारिस गरेको छ। 

आइतबार बसेको सिसिएमसीको बैठकले २५ जनाभन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सव आयोजना नगर्न नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालयमार्फत लेखी पठाउन सिफारिस गरेको हो।

बैठकले देशभरका सबै आधारभूत तथा माध्यमिक विद्यालयले वार्षिक बिदामा मिलान हुने गरी आगामी माघ १५ सम्म बिदा दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत सूचना जारी गर्न सिफारिस गर्ने निर्णयसमेत गरेको छ।

बिदाकै अवधिमा १२ देखि १७ वर्षसम्मका विद्यार्थीलाई र १८ वर्षमाथिका सबै उमेर समूहका खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकलाई खोप उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले आवश्यक खोप आपूर्ति गर्ने र जिल्ला खोप समन्वय समितिले प्राथमिकताका साथ अभियान सञ्चालन गर्न सहजीकरण गर्ने निर्णय गरेको छ।

सिसिएमसी बैठकले सार्वजनिक स्थानहरू (कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमाहल, रंगशाला, हवाई यात्रा, पार्क) मा प्रवेश गर्दा अनिवार्य रूपमा कोभिडविरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा भए पनि) साथमा राख्नुपर्ने निर्णय गरेको छ। माघ ७ गतेदेखि ती निकायमा खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउन बैठकले सिफारिस गरेको छ।

बैठकले नेपाल प्रवेश विन्दुमा एन्टिजेन परीक्षण थप प्रभावकारी बनाउने र त्यस्तो परीक्षणबाट पोजेटिभ देखिएकालाई तत्काल संस्थागत आइसोलेसन (होल्डिङ सेन्टर, होटल) मा राख्न डिसिएमसीले समन्वय गर्ने र विगतमा भएका अभ्यासअनुसार भुक्तानी गर्ने, स्रोत सुनिश्चितताका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक व्यवस्था मिलाउनुपर्ने निर्णय गरेको छ।

त्यस्तै सार्वजनिक स्थानमा निःशुल्क एन्टिजेन टेस्ट बुथ स्थापना गर्ने र नियमित खोप केन्द्रमा खोप अभियान अघि बढाउने सिफारिस पनि बैठकले गरेको छ।  

त्यस्तै विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित सेमेस्टर र वार्षिक परीक्षा जनस्वास्थ्य र सुरक्षा मापदण्ड पालना हुने गरी जेड आकारमा बसाइ व्यवस्था गरी सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको छ। पर्यटन मन्त्रालयले आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको भिडभाड कम हुने गरी उडान तालिका मिलाउने र माघ ७ गतेपछि आन्तरिक उडानमा खोप कार्ड हुने यात्रुलाई मात्र बोर्डिङ पास उपलध गराउने व्यवस्था मिलाउन बैठकले सिफारिस गरेको छ।

बैठकले कोभिड १९ संक्रमणको स्थानीय अवस्था हेरी जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि २०७८ र एकीकृत कोभिड १९ रोकथाम नियन्त्रण र उपचार कार्ययोजना, २०७८ कार्यान्वयनलाई थप प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीहरूलाई गृह मन्त्रालयमार्फत निर्देशन दिन सिफारिस गरेको छ।

शीर्ष नेता आइसोलेसनमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठलगायतका नेतामा कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेसका शीर्ष नेता आइसोलेसनमा बसेका छन्।

अध्यक्ष दाहाल हालै पाँचदलीय गठबन्धनको बैठकमा सहभागी भएकाले उनीसँग सम्पर्कमा आएका कांग्रेस नेताहरू आइसोलेसनमा बसेका हुन्। दाहालसँग सम्पर्कमा आएका कांग्रेस नेता रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि आइसोलेसनमा बसेका छन्। सञ्चारमन्त्री कार्कीले कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आए पनि अझै केही दिन उनी आइसोलेसनमा बस्ने भएका छन्। सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरू बैठकमा सहभागी थिए।

दाहालसँग भेट गरेका प्रधानमन्त्री देउवाले शनिबार मात्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेका थिए। देउवाले ओलीलाई उनकै निवास बालकोट पुगेर भेट गरेका थिए। ओली भने हाल गृहजिल्ला भ्रमणमा छन्।

प्रकाशित: २६ पुस २०७८ ००:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App