२३ फाल्गुन २०७७ आइतबार
शिक्षा

कोरोनाले थलियो शैक्षिक गतिविधि

सम्झना २०२०

सन् २०२० सुरुवाती समयदेखिनै कोरोना भाइरसको महामारीको त्रासमै बित्यो । अझै पनि यो त्रास कहिले सकिने भन्ने अन्योल छ । यो भाइरसको अर्को नाम कोभिड–१९ पनि हो । कोरोना भाइरसको महामारीले शिक्षालगायत मानव जीवनको हरेक पक्षलाई उल्लेखनीय रूपमा बाधा पुर्‍यायो । भाइरसका कारण शैक्षिक प्रणाली ठप्प रह्यो । जसका कारण शैक्षिक संस्थानहरू  आजसम्म पनि पूर्ण रूपमा सञ्चालन हुन सकेका छैनन् ।

युनेस्कोको एक रिपोर्ट अनुसार १७१ देशका १.६ अर्ब बालबालिकालाई शैक्षिक संस्थानहरू अस्थायी रूपमा बन्द भएपछि गम्भीर असर परेको छ । नेपालको सन्दर्भमा विद्यालयदेखि विश्वविद्यालयसम्म अध्ययनरत ९० लाख विद्यार्थीहरू कोभिड–१९ को त्रासका कारण घरमै बस्नुपर्ने बाध्यता बन्यो ।

कोरोना भाइरसका कारण १७१ देशका १.६ अर्ब बालबालिका र नेपालमा विद्यालयदेखि विश्वविद्यालयसम्म अध्ययनरत ९० लाख विद्यार्थीहरू शैक्षिक क्रियाकलापबाट बञ्चिन हुनुपर्यो ।

चीनको बुहानबाट फैलिएको कोरोना भाइरस नेपालमा गत माघ ७ गते चीनबाटै अध्ययन गरी नेपाल फर्केका एक विद्यार्थीमा पहिलो पटक देखिएको थियो । त्यसपछि, चैत ११ गतेदेखि सुरु भएको लकडाउन भदौसम्म रह्यो । बालबालिकाहरू घरमै बस्नुपर्दा उनीहरूको सिकाईमा नकरात्मक असर पर्नेदेखि मानसिक समस्या देखापर्न थल्यो । संकटमा विद्यालयहरूले विभिन्न वैकल्पिक माध्यमको प्रयोग गरी बालबालिकालाई केही हदसम्म घरबाटै शिक्षा उपलब्ध गराउने नयाँ अभ्यास प्रयोग समेत भयो ।  

चैतमा तय गरिएको एसइई ६ महिनापछि धकेलियो कक्षा ११ र १२ को परीक्षा ८ महिनापछि धकेलिएको थियो । यस्तै विश्वविद्यालयका परीक्षाहरू समेत ६ महिना पछि धकेलिए । यसका कारण नेपालका विद्यालयदेखि विश्वविद्यालयसम्मका सम्पूर्ण शैक्षिक गतिविधिमा ६ महिनासम्म ठप्प भए । यस प्रभावलाई कम गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बालबालिकाको सिकाइलाई निरन्तरता दिन असारदेखि विभिन्न निर्देशिका जारी गर्दै विद्यार्थीलाई शैक्षिक गतिविधिसँग जोड्न हरेक प्रयास गर्‍यो ।  

मन्त्रालयले असारदेखि भदौसम्म वैकल्पिक सिकाई सहजीकरण निर्देशिका २०७७, पाठ्यक्रम समायोजन कार्यढाँचा र विद्यालय पुनः संचालन कार्यढाँचानै जारी गरेर विद्यालयको शैक्षिक गतिविधिसँग बालबालिकालाई जोडेकाले शैक्षिक क्रियाकलाप अघि बढाउन केही  सहज बने पनि वैकल्पिक माध्यमको प्रयोग गरी अघि बढ्न सुरुमा कठिनाई भएको  त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले बताए ।  

निर्देशिकामै टेकेर विद्यालयहरुले आन्तरिक, परीक्षा, विद्यार्थी भर्ना अनलाइन समेत गरेका थिए । फरक फरक समयमा विद्यार्थीलाई स्कुलमा बोलाएर किताव वितरणको काम समेत विद्यालयहरूले गरे । तर, कक्षा अनलाइनबाट सञ्चालन गर्न भने कही समस्या आयो । मोबाइल, इन्टरनेट, कम्पयुटर, ल्याबटबलगायतका सामग्री सबैसँग पहुँच नभएकोले पनि विद्यार्थीलाई अनलाइनमा जोड्न समस्या भएको शिक्षकहरूको भनाइ छ । प्रअ कँडेलका अनुसार सन् २०२० शिक्षा क्षेत्र क्षतिको रूपमा बितेको छ । तर, विद्यालयहरूले बालबालिकाको पहुँचको आधारमा वैकल्पिक कक्षा भने सकेसम्म सञ्चालन गरे ।

‘सन् २०२० शिक्षा क्षेत्रका लागि निकै संकट पूर्ण रह्यो,’ प्रअ कँडेलले भने ‘अझै पनि शैक्षिक सत्र कहिले सुरु हुने निश्चित छैन । आगामी परीक्षा र शैक्षिक सत्र अझै अन्योलमा छ ।’ कोरोना महामारीबीच पनि सरकारले बालबालिकाको सिकाईलाई निरन्तरता दिन भने प्रयास गर्न छाडेन । मन्त्रालयले पछिल्लो समयमा विद्यालय पुनःसंचालन कार्यढाँचा र पाठ्यक्रम समायोजन कार्य ढाँचा जारी गरी विद्यालय सञ्चालन र खोल्ने अधिकार स्थानीय सरकारालाई प्रदान गरेको छ ।  

जसले गर्दा धेरै स्थानीय सरकारसँगको सवन्वयमा अनलाइन शिक्षा सुरु गर्नेदेखि विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिका आधारमा आलोपालो विद्यालय सञ्चालन गर्न सुरु भएको छ । यो महामारीले शिक्षक, विद्यार्थी र अभिभावकलाई प्रविधिसँग जोड्ने काममा भने विकास गरेको प्रअ कँडेलको भनाइ छ । मन्त्रालयले जारी गरेको निर्देशिका शैक्षिक संस्थाहरूले विद्यार्थी, शिक्षक, प्रबन्धकहरू र अभिभावकहरूको लागि विकल्पको दायराका साथ उनीहरूको लागि उपलब्ध स्रोत, सामग्रीका आधारमा विभिन्न शैक्षिक संस्थाले बन्दको विकल्प अपनाएर शैक्षिक गतिविधि अघि बढाएको बुद्धनगरमा रहेको केएमसीका प्रिन्सिपल द्धारिकानाथ अमगाईले बताए ।

धेरै जसो विकल्पहरूले कम्तिमा शैक्षिक निरन्तरताको केही फारम प्रदान गर्न नयाँ टेक्नोलोजीहरू (डिजिटल र मोबाइल टेक्नोलोजीहरू जस्तै रेडियो र टिभी जस्ता परम्परागत टेक्नोलोजीहरू) प्रयोग गरी बालबालिको शिक्षण सिकाई गराएको उनले बताए । ‘जुम, गुगलकक्षा, म्यासेन्जर, भाइवर, ह्वाट्स एप प्रयोग गरी शिक्षक र विद्यार्थीहरू प्रविधि मैत्री बने,’ प्रिन्सिपल अमगाईले भने ‘विद्यार्थीसाथै अभिभावकहरू पनि प्रविधिसँग जोडिए ।’

विकटमा रहेका सरकारी र निजी दुवै विद्यालयका विद्यार्थीको पहुँचमा अनलाइन शिक्षा अझै पुग्न सकेको छैन । सहरी क्षेत्रका बालबालिकाको कोर्ष भने पूरा हुन लागेको छ । कतिपय सहरी क्षेत्रका विद्यालयले कुनै पनि सुविधाको पहुँच नभएका बालबालिकालाई विद्यालयमै बोलाएर पठनपाठन गराउँदै आएका छन् । कतिपयले आलोपालो गरी भौतिक उपस्थितकै आधारमा स्थनीय सरकारसँग सहकार्य गरी विद्यार्थीकै उपस्थितिका आधारमा कक्षा चलाइरहेका छन् ।

‘सरकारले जारी गरेको निर्देशिका अनुसार बालबालिकालाई अनलाइन शिक्षाले शिक्षासँग जोडेर अलझाउन सक्यो तर सिकाइ उपलब्धी संकटमै रहेको प्रधानाध्यापक कँडेलको भनाइ छ । ‘अनलाइन शिक्षामा विद्यार्थीको सेवा सुविधामा पहुँच नभएकोले शैक्षिक विकास र सिकाइ उपलब्धीमा भने संकट परेको देखिन्छ,’ उनले भने । महामारीमा बालबालिकाहरू घरमै बस्नु पर्दा उनीहरूले केही सृजनात्मक काम पनि अभिभावकबाट सिकेको कालिमाटिमा रहेको निलबाराही विद्यालयकी प्रधानाध्यापक जानुका नेपालको भनाइ छ ।  

‘विगतमा बैठकमा नआउने अभिभावकहरू अनलाइन कक्षामा फोनबाटै जोडिनु भयो,’ उनले भनिन्, ‘बालबालिकाले कति सिके, के सिके, गृहकार्यबारे निकै रुचि राख्नुभएको छ ।’ यसका साथै बालबालिकाले अभिभावकसँग बसेर व्यवहारिक र नैतिक ज्ञान सिकेको उनले बताए ।  

अझै पनि दुई शैक्षिक सत्र कसरी मिलान गर्ने ? २०७८ को एसइई परीक्षा कसरी र कसले सञ्चालन गराउने तथा शैक्षिक सत्र कहिले सकिने र कहिले हुने कुनै टुंगो छैन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले मन्त्रालयमा शैक्षिक सत्र जेठ–असारमा सार्ने विषयमा छलफल भइरहेको बताए । उनले २०७७ र २०७८ दुवै शैक्षिक सत्र कसरी मिलान गर्ने भन्ने बारे पनि मन्त्रालयमा छलफल भइरहेको जनाए ।

विश्वविद्यालयहरू पनि अनलाइनबाटै पठनपाठन  गराएर परीक्षा संचालन गर्दै आएका छन् । कक्षा १२ को परीक्षाको सफतापछि  त्रिविले हालै स्नातक चौथो वर्षको परिक्षा विद्यार्थी उपस्थितकै आधारमा नजिकैको जुनसुकै केन्द्रमा प्रवेश पत्रको आधारमा परिक्षा सञ्चालन गरेको छ ।

अब २०७८ को एसइई विद्यालय, स्थानीय सरकार, प्रदेश वा राष्ट्रिय परीक्षा बोर्ड कसले संचालन गर्ने बारे अझै टुंगो लागेको छैन । यस्तै एसइईको शैक्षिक प्रमाणपत्र बोर्ड वा प्रदेश कसले जारी गर्ने बारे छलफल भइरहेको प्रवक्ता शर्माले बताए ।

प्रकाशित: १७ पुस २०७७ ०७:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App