२२ पुस २०८२ मंगलबार
image/svg+xml
शिक्षा

छात्रवृत्तिमा पढेकी छात्रा जिल्लाकै उत्कृष्ट

एसइई परीक्षामा छात्रवृत्तिमा पढ्ने छात्राले नतिजामा जिल्लाको उत्कृष्ट अंक प्राप्त गर्न सफल भएकी छन्।

चार जिपिए ल्याएर बारबर्दिया ६ स्थित जयनगरकी आरती पौडेलले जिल्लामा उत्कृष्ट नतिजा ल्याउन सफल भइन्। उक्त विद्यालय ग्रामीण क्षेत्रको बारबर्दिया नगरपालिका अन्तर्गत पर्दछ। जिल्लाकै उत्कृष्ट छात्रा पौडेल स्थानीय द भ्वाइस एकेडेमी विद्यालयमा अध्ययनरत थिइन्।

नर्सरीदेखि स्थानीय विद्यालयमा अध्ययनरत उनी नेभर सेकेन्डको पहिचान बनाउन सफल भएको प्रअ भीमसेन गिरीले बताए। ‘नर्सरीदेखि आरती कहिल्यै सेकेन्ड भइनन्,’ उनले भने, ‘सधैं प्रथम हुने उनी एसइई परीक्षामा समेत उत्कृष्ट नतिजा निकाल्न सफल भइन्।’

उनको अनुसार मेधावी छात्रा भएको र आर्थिक हिसाबले मध्यम वर्गीय परिवारकी पौडेललाई पचास प्रतिशत छात्रवृत्ति दिएर विद्यालयले अध्यापन गराइरहेको थियो। उक्त विद्यालयबाट २२ जना एसईईमा सहभागी भएका थिए। ५ जना ए प्लस, १४ जना बी प्लस निकालेका छन्।

जिल्ला एसइई परीक्षामा पाँच हजार दुई सय ८९ जना विद्यार्थी सहभागी थिए। पास प्रतिशत ५६ दशमलव ४ प्रतिशत रहेको शिक्षा एकाइ तथा समन्वय कार्यालयका प्रमुख सूर्य खत्रीले जानकारी दिए।  

प्रकाशित: १५ असार २०८२ १४:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App