७ माघ २०८२ बुधबार
image/svg+xml
शिक्षा

विद्यार्थीलाई उद्यमी बनाउन त्रिविमा ‘इन्क्युबेसन केन्द्र’

त्रिभुवन विश्वविद्यालयले युवा विद्यार्थीलाई नवप्रवर्तनमा आधारित उद्यमी बनाउन त्रिभुवन विश्वविद्यालय व्यवसाय इन्क्युबेसन केन्द्र (टियुबिआइसी) स्थापना गरेर विद्यार्थीको विचारलाई उत्पादनमा बदल्ने काम सुरु गरेको छ।  

केन्द्रले बिहीबार एक कार्यक्रम आयोजना गरेर नवप्रवर्तन प्रवर्द्धनका लागि एकदिने पहल गरेको छ। कार्यक्रममा नवप्रवर्तनका विषयमा अनुभव आदानप्रदान भएको थियो।  

केन्द्रले अनुसन्धानमा आधारित नवप्रवर्तन, उद्यमशीलता र उद्योगसँगको सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको इन्क्युबेसन केन्द्रले आयोजना गरेको कार्यशालामा त्रिविका विभिन्न केन्द्रीय विभाग र अध्ययन संस्थानसँग आबद्ध १५ जना संयोजक र फोकल पर्सनको सहभागिता थियो।  

कार्यक्रममा इन्क्युबेसनका निर्देशक प्रा.डा. तारा प्रसाद भूसालले केन्द्रको उद्देश्य, हाल सञ्चालित कार्यक्रम र आगामी नीतिगत तथा कार्यक्रमगत योजनाबारे जानकारी दिए। उनले त्रिविका वर्तमान कुलपति प्रा.डा. खड्ग केसीको नेतृत्वमा केन्द्रले ‘आइडिएसन’ (विचार विकास), इन्क्युबेसन (उद्यम विकास), प्रोटोटाइप निर्माण, बौद्धिक सम्पत्ति अधिकार, स्केलअप र उद्योगसँगको सहकार्यमा केन्द्रित भएर समग्र इन्क्युबेसन प्रणालीको विकास गरिरहेको बताए।  

कार्यक्रममा पूर्वशिक्षाध्यक्ष प्रा.डा. शिवलाल भूसालले विश्वविद्यालयले नवप्रवर्तन र अनुसन्धानलाई व्यवहारमा रूपान्तरण गर्न इन्क्युबेसनजस्ता संस्थाको आवश्यकतामा जोड दिए। सहभागीहरूले केन्द्रको वर्तमान अवस्था, गतिविधि, उपलब्धि र चुनौतीबारे सुझाव दिए। उनीहरूले हाल विभिन्न कलेजमा स्थापित टियुबिआइसीलाई त्रिवि अन्तर्गतका केन्द्रमा राखेर छाता संस्थाको रूपमा भूमिका निर्वाह गर्नुपर्ने सुझाए।  

त्रिवि, अनुदान आयोग र तीनै तहका सरकारबीच सहकार्य र समन्वय गरेर आइडिएसनदेखि स्टार्टअपसम्मको यात्रा सहज बनाउने वातावरण तयार गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको थियो।

प्रकाशित: २३ जेष्ठ २०८२ १४:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App