१९ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

त्रिविमा फेरि ‘राम्रो होइन हाम्रो’ कै नियुक्ति

त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले मेरिटलिस्टमा उत्कृष्ट स्थान हासिल गरेका प्राध्यापक चित्रबहादुर बुढाथोकीलाई फालेर दोस्रो स्थानमा रहेका आफ्ना ‘प्रिय पात्र’ केशरजंग बराललाई बिहीबार उपकुलपति नियुक्त गरेका छन्।

यसले प्रधानमन्त्रीको अभिव्यक्तिलाई नै गिज्याएको छ। उनले उपकुलपति राजनीतिक निकटताका आधारमा नभई योग्यताबमोजिम नियुक्त गर्ने र विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने कुरा पटकपटक बताउँदै आएका थिए।

उपकुलपति छनोट तथा सिफारिस समितिले विभिन्न मामदण्ड बनाएर मूल्यांकन गरी मेरिटका आधारमा नियुक्तिका लागि तीनजनाको नाम आइतबार कुलपतिसमक्ष सिफारिस गरेको थियो। मेरिटलिस्टमा ७८ अंकसहित पहिलो नम्बरमा बुढाथोकी थिए।

त्यस्तै ७६ अंकसहित दोस्रो स्थानमा प्राध्यापक बराल र ७५ अंकसहित तेस्रो स्थानमा प्राध्यापक टंकनाथ धमला थिए। तर कुलपति एवं प्रधानमन्त्री दाहालले योग्यताक्रममा पहिलो नम्बरमा रहेका बुढाथोकीलाई नियुक्त गर्नुको साटो राजनीतिक रूपमा आफूसँग निकट बराललाई उपकुलपति बनाएका हुन्। बराल पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति हुन्। पोखरा विश्वविद्यालयको उपकुलपति हुँदा भ्रष्टाचार गरेको आरोप उनीमाथि लागेको थियो। पछि उनले सफाइ पाएका थिए।

उपकुलपति नियुक्तिमा कुलपतिको भनाइ र गराइ फरक देखिएको शिक्षाविद् विद्यानाथ कोइराला बताउँछन्। ‘प्रधानमन्त्रीलाई सिफारिस तीनजनामध्येबाट एकलाई उपकुलपति नियुक्त गर्ने अधिकार छ। तर उहाँले राजनीतिक प्रभाव पर्न नदिई मेरिटका आधारमा उपकुलपति नियुक्त गर्ने कुरा पटकपटक दोहो¥याउनुभएको थियो,’ उनले भने।

आफ्नो प्रतिबद्धताविपरीत उहाँले मेरिटलिस्टमा पहिलो स्थानमा रहेका चित्रबहादुर बुढाथोकीलाई फालेर दोस्रो नम्बरमा रहेका केशरजंग बराललाई नियुक्त गर्नुभयो। यो राजनीतिक खेल हो,’ कोइरालाले भने, ‘खल्तीकै मान्छे त्रिविको उपकुलपति बनाउनु थियो भने खुला प्रतिस्पर्धाको बखेडा किन गरियो।’ स्रोतका अनुसार बुढाथोकी र बरालद दुवै माओवादी केन्द्र निकट प्राध्यापक हुन्।

कुलपतिले आफ्नो पार्टीभित्रको गुटलाई आधार बनाएर बराललाई उपकुलपति बनाएका स्रोतको दाबी छ। यसबाट त्रिविलाई राजनीतिमुक्त बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता हात्तीको देखाउने दाँत पुष्टि भएको छ। माओवादीका प्राध्यापक उपकुलपति भएपछि अन्य पदमा पनि राजनीतिक भागबन्डामै नियुक्ति हुने कोइरालाले बताए।

उपकुलपति नियुक्तका विषयमा माओवादीभित्र पनि दुई समूह देखिएको थियो। मेरिटलिस्टकै आधारमा पहिलो नम्बरमा परेका बुढाथोकीलाई उपकुलपति नियुक्त गर्नुपर्ने पक्षमा माओवादी नेता देवेन्द्र पौडेलर वर्षमान पुन थिए।

‘मेरिटलिस्टमा प्रथम स्थानमा रहेकालाई उपकुलपति बनाउनुपर्छ भनेर हामी छलफलमा थियौं,’ नेता पौडेलले नागरिकसँग भने ‘कानुनअनुसार उपकुलपतिका लागि सिफारिस तीनजनामध्येबाट एउटालाई रोज्ने अधिकार प्रधानमन्त्री एवं कुलपतिलाई हुन्छ। तर उत्कृष्टलाई फालेर कमजोरलाई स्थान दिनु भनेको नकारात्मक पक्ष हो। हामीले पटकपटक मेरिटकै आधारमा नियुक्त गर्न सुझाएकै हो।’

मेरिटलिस्टमा पहिलो स्थानमा रहेका बुढाथोकीले कुलपति एवं प्रधानमन्त्री दाहालले ‘प्रिय पात्र’लाई काखी च्याँप्दा आफुमाथि अन्याय भएको गुनासो गरे। उनले भने, ‘हेर्नुस् त, मेरो उत्कृष्टता र योग्ता कहाँ गयो ? आखिरमा कुलपतिले आफ्नो प्रिय व्यक्तिलाई नै उपकुलपति नियुक्त गर्नुभयो।

यस्तै गर्नु थियो त खुला प्रतिस्पर्धाको यत्रो खेल किन गरियो ?’ उपकुलपतिका लागि दुइै महिलासहित ४३ जनाको आवेदन परेको थियो। समितिले त्यसमध्येबाट १४ जनालाई अल्पसूचीमा राखेको थियो। अल्पसूचीमध्येबाट मेरिटका आधारमा पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्तलाई उपकुलपति नियुक्तिका लागि सिफारिस गरिएको थियो।

प्रकाशित: ११ फाल्गुन २०८० ०९:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App