१६ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

स्नातकोत्तरको समकक्षता स्नातक तह!

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अफिस अफ रेक्टर पाठ्यक्रम विकास केन्द्र कीर्तिपुरले इन्जिनियरिङ अध्ययनका लागि दक्षिण एसियामा चर्चा कमाएको इन्डियन इन्टिट्युट अफ टेक्नोलोजी (आइआइटी) कानपुरबाट एरोस्पेस इन्जिनियरिङमा स्नाकोत्तर सिध्याएका सजग पौडेलको एम टेक (मास्टर इन टेक्नोलोजी) सर्टिफिकेटलाई स्नातक तहको मान्यता तथा समकक्षता निर्धारण गरेको प्रमाणपत्र यतिखेर सामाजिक सञ्जालमा भाइरल भएको छ।

नाम सजग भए पनि अफिस अफ रेक्टर पाठ्यक्रम विकास केन्द्र कीर्तिपुरले उनको मान्यता तथा समकक्षता निर्धारण प्रमाणपत्रमा सजगता अपनाउन नसक्दा त्रिवि विवादमा परेको छ।

एरोस्पेस इन्जिनियर पौडेल एक प्रतिनिधि पात्र मात्र हुन्। त्रिविको चरम लापरबाही र कर्मचारीको दादागिरीका कारण ‘मान्यता तथा समकक्षता निर्धारण प्रमाणपत्र’ लिन पुगेका विद्यार्थीहरू अनावश्यक दुःख बेहोर्न बाध्य छन्।

त्रिविले अनलाइनबाट ‘मान्यता तथा समकक्षता निर्धारण प्रमाणपत्र’ दिने व्यवस्था गरिएको भने पनि दिनहुँजस्तो सयौं विद्यार्थी तथा उनीहरूका आफन्त ‘मान्यता तथा समकक्षता निर्धारण प्रमाणपत्र’ सम्बन्धी कागजात दर्ता गर्न अफिस अफ रेक्टर पाठ्यक्रम विकास केन्द्र कीर्तिपुर पुग्ने गरेका छन्।

‘मान्यता तथा समकक्षता निर्धारण प्रमाणपत्र’सम्बन्धी सम्पूर्ण कागजात बुझाए पनि त्रिविले त्यसलाई व्यवस्थित गर्न नसक्दा विद्यार्थीहरूले दुःख पाउने गरेका छन्।

अफिस अफ रेक्टर पाठ्यक्रम विकास केन्द्र कीर्तिपुरले एरोस्पेस इन्जिनियर पौडेललाई दिएको मान्यता तथा समकक्षता निर्धारण प्रमाणपत्र सामाजिक सञ्जालमा भाइरल भइरहेका बेला उनी अमेरिकाको फेडेरल डिपार्टमेन्टअन्तर्गत अर्गोन नेसनल ल्याबमा अनुसन्धान वैज्ञानिकको रूप कार्यरत छन्।

सन् २०१८ मा अमेरिकाको न्युयोर्कस्थित सिराक्युज विश्वविद्यालयमा पिएचडी अध्ययनका लागि पुगेका उनी त्रिविको लापरबाहीका कारण नेपाल फर्कने बाटो बन्द भएको तर्क गर्छन्।

‘नेपालमा जागिर खाने भनेर मान्यता तथा समकक्षता निर्धारणपत्र निकाल्न लागिपरेको थिएँ,’ उनले भने, ‘भविष्यमा काम लाग्ला भनेर अमेरिकाबाट पिएचडी गरेको मान्यता तथा समकक्षता निर्धारणपत्र निकाल्ने सोच बनाएको थिएँ। त्रिविले मेरो समय र पैसा बर्बाद गर्‍यो। यो प्रक्रियामा एक वर्ष अनावश्यक दुःख पाएँ। नेपाल फर्केर केही गरौंला भन्ने बाटो त्रिविले बन्द गरिदियो।’

गत वर्ष कात्तिक २४ गते त्रिविको अफिस अफ रेक्टर पाठ्यक्रम विकास केन्द्रले प्रदान गरेको सो मान्यता तथा समकक्षता निर्धारण पत्रमा आइआइटी कानपुरबाट अध्ययन सिध्याएका उनको अध्ययन संस्थानको नाम आइआइटी खरगपुर लेखिएको छ।

‘त्रिविको अफिस अफ रेक्टर पाठ्यक्रम विकास केन्द्रबाट मान्यता तथा समकक्षता निर्धारणपत्र निकाल्न १ वर्षभन्दा बढी समय लाग्यो,’ नागरिकसँग कुरा गर्दै उनले भने, ‘आइआइटी कानपुरबाट एरोस्पेस इन्जिनियरिङमा स्नाकोत्तर सिध्याएर नेपालको मान्यता तथा समकक्षता निर्धारणपत्र धेरै दुःखका साथ निकालेको थिएँ। घर पुगेर सो पत्र हेर्दा आइआइटी कानपुरको सट्टा आइआइटी खरगपुर लेखिएको थियो भने मास्टर डिग्रीको बराबरी ब्याचलरसरह लेखिएको थियो। के भनेर प्रश्न गर्दा कुनै उत्तर पाइएन न मेरो मान्यता तथा समकक्षता निर्धारणपत्र संशोधन नै भयो।’

करिब दुई वर्षको अवधिमा त्रिविले आफूलाई मात्र नभएर आफ्नो अभिभावकलाई समेत निराश बनाएको तर्क उनले गरे। ‘त्रिविका कर्मचारी अशिष्ट मात्र नभएर गैरजिम्मेवारसमेत रहेछन्,’ उनले भने, ‘मैले अध्ययन गरेका उपाधिको प्रमाणपत्र बुझाउँदा समेत उनीहरू चारित्रिक सर्टिफिकेट जस्ता कागजात मागेर अनावश्यक दुःख दिइरहेका थिए। जबकि केही भारतीय विश्वविद्यालयले चारित्रिक सर्टिफिकेट प्रदान गर्दैनन्। त्यसबारे त्रिविका कर्मचारीहरूलाई जानकारी नै रहेनछ। उनीहरूलाई यो कुरा बुझाउन खोज्दा कहिल्यै बुझेनन्।

त्यति मात्र नभएर उनीहरूले मास्टर डिग्रीको सिलेबस बुक नै मागे। वास्तवमा विश्वप्रसिद्ध आइआइटीले कोर्सवर्क र अनुसन्धानमा आधारित रहेर एम टेक डिग्री गराइरहेको छ। यसबारे उनीहरू बुझ्नसमेत चाहँदैनथे। मेरो डिग्रीलाई नक्कली भनेर उल्टो शंका गरेर अनावश्यक दुःख दिइरहे।

अन्तमा न उनीहरूले मेरो स्नाकोत्तरलाई स्नातकसरह मान्यता दिएको कारण दिए न मेरो स्नाकोत्तरसरहको मान्यता तथा समकक्षता निर्धारणपत्रको सही संस्करण प्राप्त भयो।’

अमेरिकाको फेडेरल डिपार्टमेन्टअन्तर्गतको अर्गोन नेसनल ल्याबमा अनुसन्धान वैज्ञानिकका रूपमा कार्यरत पौडेलको सही मान्यता तथा समकक्षता निर्धारण प्रमाणपत्र पाइने आशामा बागलुङदेखि कीर्तिपुर आएका उनका बुबा जगदीशचन्द्र उपाध्यायले त्रिविले ओरिजिनल कागजातहरू हराइदिएका कारण ४ हजार रूपैयाँको दस्तुर तिरेर स्नातक र स्नाकोत्तरसम्बन्धी कागजातहरू बुझाउन बाध्य भए।

‘त्रिविले हामीले बुझाएको डकुमेन्टहरू हराइदिएपछि थप ४ हजार रूपैयाँ दस्तुर तिरेर स्नातक र स्नाकोत्तरसम्बन्धी कागजातहरू फेरि बुझाएँ,’ उनका बुबा उपाध्यायले भने, ‘छोराले पिएचडी सिध्याएको हुँदा सोबमोजिम विगत डेढ महिनादेखि मान्यता तथा समकक्षता निर्धारण प्रमाणपत्र लिने प्रक्रिया गरिरहेका थियौं।

आज त्रिविले पुरानो फाइल फेला नपरेको भन्दै दस्तुर तिरेर नयाँ फाइल बुझाउन बाध्य बनायो। त्रिविको लापरबाही र कमजोर व्यवस्थापनका कारण छोटो बसाइका क्रममा राजधानी आएको हुँदा यसपटक पनि छोराको पिएचडीसम्बन्धी मान्यता तथा समकक्षता निर्धारण प्रमाणपत्र नपाइने भयो।’

त्रिविले डिजिटल रूपमा काम गरिरहेको दाबी गरे पनि उनले पञ्चायत व्यवस्थाभन्दा कमजोर प्रक्रियाका कारण विद्यार्थी र उनीहरूका आफन्तहरू दुःख पाइरहेको अनुभव गरेको तर्क गरे।

‘त्रिविले अनलाइनबाट प्रक्रिया हुने भने पनि सम्पूर्ण कागजात बुझाउनेदेखि दस्तुर तिर्नसम्म एउटा कोठाबाट अर्को कोठा धाउनुपर्ने स्थिति छ,’ उनले गुनासो गरे, ‘सम्पूर्ण प्रक्रिया पूरा गरेर प्रमाणपत्र पाइएला भनेर घर फर्कियो, एक महिनापछि फेरि फाइल हरायो भनेर कर्मचारीले ताकेता लगाउँछन्। त्रिविको लापरबाही र कर्मचारीको मनपरीतन्त्रका कारण हामीले दुःख भोग्नुपरेको छ। त्रिविको गैरजिम्मेवार हर्कतका कारण अध्ययन गर्न विदेश पुगेका विद्यार्थीहरू नेपाल फर्कन चाहँदैनन्।’

त्रिवि कार्यकारी परिषद्ले मान्यता तथा समकक्षतासम्बन्धी कार्यविधि २०७८ लाई संशोधन गरी टाइम्स हायर एजुकेसन सूचीका आधारमा ५ सय अन्तर्राष्ट्रियस्तरका विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई तोकिएको कागजात पेस गरे सहज रूपमा मान्यता तथा समकक्षता प्रमाणपत्र प्रदान गर्ने जनाएको थियो।

त्रिविले प्रमाणपत्रका लागि सम्बन्धित डिन कार्यालयको राय नमाग्ने, प्लेजरिजम परीक्षण नगरी विश्वविद्यालयका उपाधिलाई प्रवेश योग्यता, अध्ययन अवधि वा क्रेडिट आवर र पाठ्यभारलाई आधार मानेर समकक्षता दिने निर्णय गरेको थियो। तर विदेशी विश्वविद्यालयबाट उच्च शिक्षा पूरा गरेका नेपाली विद्यार्थी त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट मान्यता तथा समकक्षता प्रमाणपत्र लिन हैरानी खेप्नुपरेकै कारण देश छोड्न बाध्य भएका छन्।

विदेशी विश्वविद्यालयबाट विभिन्न विषयमा स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि गरेका विद्यार्थीलाई मान्यता तथा समक्षकता प्रमाणपत्र दिन त्रिवि सकारात्मक नभएको गुनासो पीडितहरूले गर्ने गरेका छन्।

त्रिवि पाठ्यक्रम विकास केन्द्रले तोकेको मापदण्डबमोजिम सम्पूर्ण कागजात पुर्‍याउँदा पनि सही मान्यता तथा समकक्षता प्रमाणपत्र पाउन नसकेको गुनासो पीडित विद्यार्थीहरूको छ।

उक्त केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. पारसनाथ यादवले विद्यार्थीले आवश्यक सबै कागज कागजात बुझाएको र कार्यविधिमा तोकेको मापदण्ड गरेको अवस्थामा मात्र मान्यता र समकक्षता प्रमाणपत्र प्रदान गर्दै आएको बताए।

 ‘मान्यता तथा समकक्षता निर्धारण कार्यविधि २०७८ ले तोकेबमोजिम हामीले चारवटा कुरालाई आधार बनाएर प्रमाणपत्र दिन्छौं,’ उनले भने, ‘हामीले मुख्यता मान्यता तथा समकक्षता प्रमाणपत्र प्रदान गर्न सम्बन्धित विश्वविद्यालयमा प्रवेश आवश्यकता, कोर्सका विषयवस्तु, क्रेडिट आवर र अवधि पुग्ने कागजातसहित डिन कार्यालयबाट राय आएपछि मात्र उपलब्ध गराउने गर्छाैं।

सामाजिक सञ्जालमा हाल भाइरल भइरहेको डकुमेन्ट पोस्ट गर्ने व्यक्तिलाई कानुनको दायरामा ल्याउँदैछौं। उनले सच्याइएको डकुमेन्ट लिइसकेका छन्। सच्याइसकेको डकुमेन्ट लिएर त्रिविको छवि बिगार्न लागिपरेको हुँदा हामीले उनको सही डकुमेन्ट वेबसाइटबाट प्रकाशित गर्ने तयारी भइरहेको छ।’

प्रकाशित: १९ पुस २०८० ०२:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App